काठमाडौँ — हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा आइतबार विद्यार्थीहरूमाझ लेखक/पत्रकार बसन्त बस्नेतले लामो संवाद गरेका छन् । कलेजले गरेको संवादमा विद्याथीसँग बस्नेतले आफ्नो लेखन–यात्रा, पत्रकारिता र उपन्यास ‘सिमसारा’ माथिको अनुभव/अनुभूति साटेका छन् ।
कलेजले महिनाको एकपटक आयोजना गर्ने किताब–विमर्श कार्यक्रममा यसपटक बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’ माथि चर्चा गरिएको हो ।
‘किताब पढेर कहिल्यै घाटा हुँदैन, सायद जीवनको सबैभन्दा सुन्दर ध्यान नै पढाइ हो,’ प्लस–टु पढिरहेका विद्यार्थीहरूलाई बस्नेतको सुझाव थियो, ‘कोर्सका किताबबाहेकको पढाइले विद्यार्थीको ज्ञानको संसार फराकिलो बनाउँछ, समाज र मान्छेका जटिल सम्बन्धहरू पनि बुझाउँछ । किताब पढ्नु तत् समय बाँचिरहेको मान्छे र समाजको कथा पनि सँगै पढ्नु हो ।’
‘अर्हत’ उपन्यासका लेखक शैलेन्द्र अधिकारीले सञ्चालन गरेको ‘विद्यार्थीसँग बसन्त बस्नेत’ सत्रमा लेखक बस्नेतले उपन्यास ‘सिमसारा’ को भावभूमि र रचनागर्भ पनि सुनाए । यसअघिका आफ्ना उपन्यास ‘महाभारा’ र गैरआख्यान ‘७२ को विस्मय’ बारे विद्यार्थीका जिज्ञासाको पनि उत्तर दिए । ‘सिमसाराले घरपरिवारबीचको पारिवारिक विखण्डन, तनावको कथा भन्छ भने महाभाराले राजनीति, धर्म र प्रेमको कथा,’ बस्नेतले भने, ‘मेरो पहिलो किताबले मधेशको राजनीतिमाथि विमर्श गरेको थियो ।’
इलाम, पाँचथरका पात्रहरूको जीवन नै आफ्ना दुवै उपन्यासको पनि जीवन भएको बस्नेतले सुनाए । लेखकहरूले मान्छेको जीवन र ऊ बाँचिरहेको समयमाथि गर्ने विश्लेषणबारे एक विद्यार्थीको जिज्ञासामा बस्नेतले भने, ‘जीवन वास्तवमा एक लामो यात्रा हो । मान्छेले जीवनलाई लङ ट्राभलका रूपमा स्वीकार गर्नुपर्छ– सफलता, उत्साह, असफलता र स्वीकारोक्तिलाई सामान्य घटनाका रूपमा सम्झिनुपर्छ ।’
‘कलेजले प्रत्येक महिना किताबमाथि यस्तो विमर्श कार्यक्रम गरिरहेको छ,’ कलेजका निर्देशक मिलन पाण्डेले भने, ‘यस्तो कार्यक्रमले विद्यार्थीको ज्ञानको क्षितिज उघार्न सघाउँछ ।’
