साहित्यकार लाकोजुको ‘पनौतीका केही जात्राहरु’ लोकार्पण 

पुस ६, २०८१

ज्योती श्रेष्ठ

The launch of 'some journeys of Panauti' by the writer Lakoju

काभ्रे — साहित्यकार सूर्यप्रसाद लाकोजुको ‘पनौतीका केही जात्राहरु’ नामक पुस्तक लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त पुस्तक शनिबार लोकार्पण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कार, संस्कृति सम्बन्धी पनौतीको जात्रा–पर्वहरुको बारेमा पुस्तक प्रकाशन गरेकोमा लेखक लाकोजुलाई धन्यवाद दिए । कृतिमा उल्लेख भएका जात्रा–पर्व र संस्कृतिका वर्णनले पनौतीको संस्कृति एवं सम्पदाको संरक्षण हुनेमा मन्त्री पाण्डेले विश्वास व्यक्त गरे । 

पनौतीको संस्कृति तथा सम्पदाको संरक्षण गर्न ३ तहकै सरकारको सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ छ । 

युवा लेखक लाकोजुले लेखेको कृतिमा पनौती नगरपालिकाको मुख्य वस्ती र बजार क्षेत्र, अनेक विशेषता र महत्व रहेकाले पनौतीको स्थानको चर्चा गरिएको छ । धार्मिक, सांस्कृतिक, पुरातात्विक, भौगोलिक आदिका कारणले पनौतीको महत्व प्राचीनकालदेखि रहँदै आएका कुराहरुलाई कृतिमा वर्णन गरिएको छ । कृतिमा पनौतीमा हरेक महिना मनाइने विभिन्न जात्रा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव तथा भद्रकाली र ब्रहृमायणीको जात्रा, मानेश्वरीको जात्रा, संकटा जात्रा, भीमसेन जात्रा, गणेश जात्रा, नारायणको जात्रा, बुद्ध जात्रा, नमोबुद्ध जात्रा, नवदुर्गा जात्रा, हरसिद्धि जात्रालगायतको वर्णन गरिएको छ । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully