जलवायु संकट र बसाइँसराइ तथा कविताको शक्तिसम्मको चर्चा
चितवन — शुक्रबारदेखि नारायणगढस्थित नारायणी कला मन्दिरमा ‘चित्तौन कचेहेरी’ सुरु भएको छ । कार्यक्रमको उद्घाटनमा पाकिस्तानका वैज्ञानिक,लेखक, बौद्धिक अगुवा डा.परवेज हुदभोयको विद्वत् प्रवचन दिए । उनले विज्ञानले सत्यको जागार गर्ने हुँदा सत्य जानेमा संसारमा लडाइ झगडा अशान्ति हुने छैन भन्ने विचार राखे ।
‘विज्ञानले सत्य बताउँछ । हामी कहाँबाट आयौं विज्ञानले बताउँछ । डार्बिनको खोजले भन्छ हामी मान्छेहरू एउटै परिवारका हौं । यो कुरा बुझेपछि संसारमा लडाइँ झगडा किन हुन्थ्यो,’ हुदभोयले भने । हुदभोय र भारतका लेखक हर्ष मन्दरबीच भोलि शनिबार पनि 'चित्तौन कचेहेरी'मा डा.जीवन क्षेत्रीले संवाद गर्ने छन् । त्यसलगत्तै पत्रकार कुन्द दीक्षित र रमेश भुषालसँग जलवायु संकटका विषयमा बहस भयो ।
अभिनेता सरोज खनाल, उद्योगी प्रतिभा श्रेष्ठ, अध्ययता सञ्जय चौधरी र विज्ञ दीर्घ घिमिरेले चितवनको बसाइ सराइको विगत र अहिलेसम्मको अवस्था र प्रभाव तथा प्रवृत्तिका बारेमा चर्चा गरे । नाटक मञ्चन, र गजल वाचनसहित पहिलो दिन छलफलका ६ वटा सत्र सम्पन्न भए । शनिबार कविता वाचनसहित नौवटा सत्र सञ्चालन हुने छन् । शनिबार नै कार्यक्रम सकिने छ ।
चितवनका विभिन्न संघ संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेको ‘चित्तौन कचेहेरी’को संयोजन ‘बेटर चितवन’ले गरेको छ । ‘चित्तौन कचेहेरी’को यो दोस्रो संस्कारण हो । यसअघि २०८० सालको वैशाख २९ र ३० मा कला मन्दिरमै पहिलो ‘चित्तौन कचेहेरी’ भएको थियो ।
