शुक्रबार र शनिबार ‘चित्तौन कचेहेरी’

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

Friday and Saturday 'Chittaun Kacheheri'

काठमाडौँ — देश दुनियाँका विविध आयामहरूमाथि हुने बहस कार्यक्रम ‘चित्तौन कचेहेरी’ नारायणगढ नारायणी कला मन्दिरमा शुक्रबार र शनिबार हुँदैछ । ‘चित्तौन कचेहेरी’को यो दोस्रो संस्करण हो । 

यसअघि २०८० सालको वैशाख २९ र ३० मा कला मन्दिरमै ‘चित्तौन कचेहेरी’ भएको थियो । यो पटक कचेहेरीमा बहस गर्न स्वदेशी विज्ञ, अभियन्तासँगै भारत र पाकिस्तानबाट पनि अतिथिहरू आउने आयोजकले बताएका छन् ।

‘चित्तौन कचेहेरी’को उद्घाटनमा पाकिस्तानका वैज्ञानिक, लेखक, बौद्धिक अगुवा डा.परवेज हुडबो प्रमुख वक्ता रहने आयोजक समितिका निर्देशक सरिता तिवारीले जानकारी दिइन् । त्यसैगरी भारतबाट लेखक हर्ष मन्दर पनि ‘चित्तौन कचेहेरी’को बहसमा भाग दिन आउने उनले बताइन् । ‘पहिलो चित्तौन कचेहेरी चितवनको बस्ती विकास र विकासक्रममा किनारा लगाइएका आदिवासीको मुद्दामा केन्द्रित थियो,’ तिवारीले भनिन् ।

यो पटक दक्षिण एसियाको राजनीतिमा देखा परेको साम्प्रदायिक उभार, घृणा, ध्रुवीकरण र हिंसामाथि मूल रूपमा चर्चा हुने तिवारीको भनाइ छ । आयोजकले कार्यक्रमलाई ‘विचारहरूको उत्सव’ भनेका छन् । उत्सव संयोजक सागर कार्कीले प्रस्तावित उच्च शिक्षा विधेयकलगायत देशको समग्र शैक्षिक समस्यालार्ई केलाएर प्रध्यापक चैतन्य मिश्रले तयार गरेको सोध पनि कार्यक्रममा पेस हुने जानकारी दिए ।

दुई दिनसम्म युवा, बालबालिका केन्द्रित सत्रहरूदेखि बसाइँसराइ, नाबालिगमाथि हुने यौन हिंसा, जातीय छुवाछूतको समस्या, वातावरण, फोहोर व्यवस्थापन जस्ता विषयमा एक दर्जन सत्रहरू सञ्चालन हुने आयोजकहरूले जानकारी दिएका छन् । साहित्यको सत्रमा कविता केन्द्रित विषय उठान हुने छ । चितवनका विभिन्न संघ संस्थाहरूले संयुक्त रूपमा गर्ने ‘चित्तौन कचेहेरी’को संयोजन ‘बेटर चितवन’ले गरेको छ । 

कान्तिपुर

Link copied successfully