जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिक

चैत्र २५, २०८०

कान्तिपुर संवाददाता

JB Darlami's novel 'Marikholako Dhungo' released

काठमाडौँ — जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा–कालमा जन्मिएकी ईभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो । 

काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत ईभा काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र द्वन्द्वकालमा जन्मे–हुर्केको पुस्ताहरूको हो भन्ने प्रतीकात्मक संकेत पनि थियो । 

नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाएकी थिइन् । आफ्नो उपन्यासबारे नयाँ पुस्ताबाट मन्तव्य सुन्न पाउँदा दर्शकदीर्घामा बसेका लेखक दर्लामी आँसु पुछिरहेका थिए । 

‘समाजविज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौँ, घरघरमा कथा सुनाउने चलन पनि अब छैन,’ पठन अनुभव सुनाउँदै ईभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने ? हामी कहाँबाट आयौँ ? अहिले कहाँ छौँ ? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ ।’  

आमाबुवाको पढाइको सिलसिलामा बाल्यकाल देशबाहिर बिताएकी र स्वदेश फर्केपछि नेपाली बोल्दा शिक्षालयहरूमा कारबाही भोग्नुपर्ने समयमा हुर्केकी ईभाले विमोचन कार्यक्रममा भनिन्, ‘नेपाली किताब पढ्नै सक्दिनँ जस्तो लाग्थ्यो, तर मलाई यो उपन्यासको मीठो भाषाले बोलायो, हात समातेर सँगसँगै डोर्यायो, हाम्रो देशको वास्तविक धड्कन सुनायो ।’

पुस्तक विमोचनका लागि बुटवलबाट काठमाडौं आइपुगेका लेखक जेबी दर्लामीले पब्लिकेशन नेपालयको आरशालामा आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव बाँडे । 

‘घर नजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,’ लेखक जेबी दर्लामीले भने, ‘पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छ, मलाई शब्दसित गहिरो प्रेम छ ।’

अहिले पनि टेलिफोन, बाटोघाटो, विद्युत् नपुगेको अर्घाखाँचीको सिलिङखोलामा जन्मेका लेखक दर्लामीले ‘मारीखोलाको ढुङ्गो’ उपन्यास लेख्दाको अनुभव बाँडे । ‘म जस्तो विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँ, तर म गलत ठहरिएँ,’ लेखक जेबी दर्लामीले भने, ‘मैले केही भोगेको, केही देखेको र केही महसुस गरेको समयलाई इमानदारीपूर्वक अक्षरमा उतारेको हुँ ।’

लेखक जेबी दर्लामी साहित्य र गैरसाहित्य दुवै विधामा कलम चलाउँछन् । यसअघि उनका दुई उपन्यास तथा ‘नेपालको राजनीतिमा अर्घाखाँची’ शोधमूलक पुस्तक प्रकाशित छन् । १ सय ३४ पृष्ठको ‘मारीखोलाको ढुङ्गो’ पुस्तकको मूल्य ३ सय ४५ रुपैयाँ रहेको छ ।

कान्तिपुर

Link copied successfully