‘धेरै कस्मेटिक प्रयोगले छाला बिगार्छ’

धेरै मानिसहरू सामाजिक सञ्जालमा इन्फ्लुएन्सरहरुलाई पछ्याइरहेका छन् । उनीहरुले विभिन्न उत्पादन प्रचार गर्छन् रुटिन अनुसार फलो गर्न सुझाव दिन्छन् ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

'Using too many cosmetics damages the skin'

What you should know

काठमाडौँ — पछिल्लो १० वर्षमा छालाको हेरचाह (स्किनकेयर)मा निकै परिवर्तन भएको छ । टिकटक जस्ता सामाजिक सञ्जालले स्किनकेयरलाई जीवनशैलीकै रूपमा लोकप्रीय बनाएका छन् । धेरै मानिसहरू सामाजिक सञ्जालमा इन्फ्लुएन्सरहरुलाई पछ्याइरहेका छन् । उनीहरुले विभिन्न उत्पादन प्रचार गर्छन् रुटिन अनुसार फलो गर्न सुझाव दिन्छन् ।

कुनै उत्पादन ‘भाइरल’ हुने बित्तिकै धेरै प्रयोगकर्ताहरूले त्यो तुरुन्तै प्रयोग गर्न चाहन्छन् । १० स्टेप स्किन केयर अनुसार क्लिन्जर, एक्सफोलिएटर, टोनर, एस्सेन्स, सिरम, शीट मास्क, आई क्रीम, मोइस्चराइजर, सनस्क्रिन एकसाथ प्रयोगकर्ताहरुले प्रयोग गरिरहेका छन् ।

छाला विशेषज्ञहरू भने धेरै उत्पादन प्रयोग नगर्न सुझाव दिन्छन् । ‘एब्सोल्युट एस्थेटिक क्लिनिक’की कन्सल्टेन्ट डर्माटोलोजिस्ट तथा प्रबन्ध निर्देशक डा. श्रुजना श्रेष्ठसँग मानिसहरूले किन धेरै स्किन केयर उत्पादन प्रयोग गरिरहेका छन् र यसबाट छालामा प्रर्न सक्ने प्रभाव र असरको बारेमा ‘दी काठमाडौं पोस्टका’ स्कन्द स्वाँरले गरेको कुराकानी गरेका छन् । 

के मानिसहरूले १०–स्टेपको स्किनकेयर रुटिन अपनाउनुपर्छ ?

व्यक्तिलाई कुनै विशेष छालाको समस्या छैन मानिसहरूले १०–स्टेपको स्किनकेयर रुटिन पालन गर्नु आवश्यक छैन । धेरै उत्पादन प्रयोग गर्दा छाला राम्रो हुन्छ भन्ने सोच सामाजिक सञ्जाल र मार्केटिङको प्रभावले बनेको हो, मेडिकल कारणले होइन । 

स्वस्थ छालाका लागि न्यूनतम स्किनकेयर रुटिन के हुन सक्दछ ? 

छालाको हेरचाहका लागि तीन कुरा मात्र पर्याप्त हुन्छन्– क्लिन्जर, मोइस्चराइजर र सनस्क्रिन क्लिन्जरले छालामा जम्मा भएको धुलो, पसिना र तेल सफा गर्न मद्दत गर्छ मोइस्चराइजरले छालालाई आवश्यक चिस्यान दिन्छ र सुख्खा हुनबाट जोगाउँछ । सनस्क्रिनले घामको हानिकारक किरणबाट छालालाई बचाउँछ । त्यसैले, स्वस्थ छालाका लागि धेरै उत्पादन आवश्यक पर्दैन यी तीन आधारभूत चरण नै पर्याप्त हुन्छन् । 

धेरै स्किनकेयर गर्नाले छाला बिग्रन सक्छ ? 

छालाको हेरचाह गर्दा सबैभन्दा पहिले छालाको प्रकार र तपाईंले के समस्याको समाधान खोज्दै हुनुहुन्छ भनेर बुझ्नुपर्छ, र आवश्यक भन्दा धेरै उत्पादन, विशेषगरी एसिड या रेटिनोइडजस्ता तत्व भएको उत्पादन लगातार प्रयोग गर्दा छालाको प्राकृतिक सुरक्षा तह कमजोर हुनसक्छ ।

इन्फ्लुएन्सरहरुको सुझावले स्किनकेयर अत्यधिक प्रयोगमा कसरी योगदान पुर्‍याउँछ ? 

सामाजिक सञ्जालले हाम्रो सुन्दरताको सोच र स्किनकेयर बानीमा ठूलो भूमिका खेलेको छ । सामाजिक इन्फ्लुएन्सरको सुझावमा उत्पादन किन्ने र तुरुन्त प्रयोग गर्ने प्रवृत्ति बढाउँछ, जसले एकपटक हेरौन भनेर गलत छनोट गर्ने प्रवृत्ति बढेको छ । गलत प्रयोगले छालामा पिम्पल, एलर्जी र दाग धब्बा जस्ता नकारात्मक असरहरू ल्याउने गर्दछ ।

नयाँ उत्पादनको प्रयोगले कति समयमा असर गरेको थाहा हुन्छ ? 

नयाँ स्किनकेयर उत्पादनको प्रभाव थाहा पाउन लगातार प्रयोग गर्नुपर्छ, सामान्यतया धेरै उत्पादनले ४–६ हप्तामा परिणाम देखाउन सुरु गर्दछन् । बारम्बार परिवर्तन गर्दा प्रभाव मूल्यांकन गर्न कठिन हुन्छ र छालामा जलन वा पिम्पल आउन सक्छ, त्यसैले एकैचोटी एउटा मात्र नयाा उत्पादन सुरु गर्नु राम्रो हुन्छ, जसले कुनै नकारात्मक प्रतिक्रिया पनि सजिलै थाहा पाउन सकिन्छ । 

भाइरल ट्रेन्ड आधारित स्किनकेयर प्रयोगले छाला बिग्रिएको, समस्या बढेको छ ? 

हो, भाइरल स्किनकेयर ट्रेन्ड पछ्याउने मानिसमा छालासम्बन्धी समस्या बढेको छ, जस्तै अत्यधिक संवेदनशीलता, सुरक्षा तह बिग्रिनु, पिम्पल/एक्ने (एक्ने–अनुहारमा आउने साना–साना फोकाहरु) बढ्नु जस्ता समस्याहरु देखिएका छन् । गलत तरिकाको कस्मेटिक प्रयोगले उत्पादन छनोटमा त्रुटि हुनुका कारण हुन्छ । संगत सामग्री र सही उत्पादन प्रविधि नबुझेका मानिसले यस्ता समस्या सिर्जना गर्न सक्छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully