कसरी छान्ने शरीरमैत्री 'नाइट ड्रेस' ?

सहज, हल्का र शरीरमैत्री ‘नाइट ड्रेस’ लगाएर सुत्दा शरीरलाई आराम मिल्ने र निद्रा गहिरो हुने जानकारहरू बताउँछन् ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

How to choose a body-friendly night dress?

What you should know

काठमाडौँ — स्वस्थ जीवनशैलीका लागि पर्याप्त र गुणस्तरीय निद्रा अनिवार्य मानिन्छ । राम्रो निद्राका लागि ओछ्यान जति महत्वपूर्ण हुन्छ, त्यति नै महत्व सुत्दा लगाइने पहिरनको पनि हुन्छ ।

सहज, हल्का र शरीरमैत्री ‘नाइट ड्रेस’ लगाएर सुत्दा शरीरलाई आराम मिल्ने र निद्रा गहिरो हुने जानकारहरू बताउँछन् । 

काठमाडौं भोटाहिटीमा कपडा पसल सञ्चालन गर्दै आएकी सीता न्यौपानेका अनुसार पछिल्लो समय ‘नाइट ड्रेस’को माग उल्लेख्य रूपमा बढेको छ । पहिला बालबालिकाका लागि मात्रै सीमित यो ड्रेस अहिले त सबै उमेर समूहका ग्राहक खोज्दै आइपुग्ने उनले बताइन् । उनले भनिन्, ‘यो पहिरन बाह्रै महिना बिक्री हुने भए पनि मौसमअनुसार फेब्रिक फरक–फरक हुन्छ गर्मीमा कटन र लेनिन बढी चल्छ भने जाडोमा बाक्ला फेब्रिक रुचाइन्छन्  धेरै ग्राहकले भने सिल्क फेब्रिक मन पराउने गरेका छन् । ’

जमलमा एक दशकदेखि ‘इनर वेयर’को व्यापार गर्दै आएकी विन्दु श्रेष्ठले पनि ‘नाइट ड्रेस’ फेसनको हिस्सा बन्दै गएको बताइन् ।  ‘ब्याचलर्स पार्टी वा गेट–टुगेदरका लागि युवतीहरू एउटै डिजाइन र रंगको नाइट ड्रेस खोज्दै आउँछन्,’ उनले भनिन् ।

किन आवश्यक छ नाइट ड्रेस?

धेरैले राति सुत्दा दिउँसो लगाएको कपडामै सुत्ने गर्छन्। तर दिनभरिको थकानपछि शरीरलाई पूर्ण आराम चाहिन्छ । कसिलो, बाक्लो वा असहज पहिरनले शरीरलाई सहज महसुस गराउँदैन् ।

‘नाइट ड्रेस’ लगाउँदा शरीरमा हावा सजिलै सञ्चार हुन्छ, पसिना कम आउँछ र निन्द्रा राम्रो लाग्छ। विशेषज्ञहरूका अनुसार पर्याप्त निन्द्रा अर्को दिनको शारीरिक र मानसिक अवस्था निर्धारण गर्छ । 

गर्मीका लागि उपयुक्त नाइट ड्रेस

गर्मीमा बाक्लो र भारी फेब्रिक असहज हुन्छ । यही कारण यो मौसमका लागि कटन र लेनिन फेब्रिकका नाइट ड्रेस उपयुक्त मानिन्छन् । अहिले बजारमा फुल पाइन्ट मात्र होइन, हाफ पाइन्टसहितका सेट पनि सजिलै पाइन्छन्। यस्तो पहिरनले शरीरलाई शीतल राख्न मद्दत गर्छ । लुज फिटिङका कारण यी पहिरन झनै आरामदायक हुन्छन् । 

प्रिन्टेड नाइट ड्रेस गर्मीमा आकर्षक देखिन्छन्। चेक डिजाइन, फूलबुट्टा वा साधारण प्रिन्ट लोकप्रिय छन् । बालबालिकाका लागि जनावर, फलफूल वा कार्टुन प्रिन्ट उपयुक्त मानिन्छ । सिल्क फेब्रिकमा भने सादा र प्लेन डिजाइन नै बढी सुहाउँछ ।

सर्ट र हाफ पाइन्ट

धेरै पसिना आउने वा अत्यधिक गर्मी महसुस गर्नेहरूका लागि सर्ट र हाफ पाइन्टको सेट उपयुक्त विकल्प हो । लुज फिटिङमा पाइने यो पहिरन हल्का र सहज हुन्छ ।  बजारमा यसको मूल्य एक हजारदेखि १३ सय रुपैयाँसम्म पर्छ । 

साटन म्याक्सी ड्रेस

साटन फेब्रिकको म्याक्सी नाइट ड्रेस गर्मी महिनाका लागि उपयुक्त मानिन्छ । यो सदाबहार नाइट वेयर पनि हो । छोटो र लामो दुवै डिजाइनमा उपलब्ध हुने यो पहिरन सादा र प्रिन्टेड दुवैमा पाइन्छ । यसको मूल्य आठ सयदेखि एक हजार रुपैयाँसम्म पर्छ । 

फुल स्लिभ नाइट ड्रेस

फुल स्लिभ नाइट ड्रेस विशेषगरी जाडो मौसमका लागि उपयुक्त हुन्छ। तर कटन र सिल्क फेब्रिकमा बनेका फुल स्लिभ नाइट ड्रेस गर्मीमा पनि लगाउन सकिन्छ । पूरा शरीर ढाक्ने पहिरन मन पराउनेहरूका लागि यो राम्रो विकल्प हो। यसको मूल्य १२ सयदेखि १७ सय रुपैयाँसम्म पर्छ । 

सर्ट र पाइन्टको सेट

हाल सबैभन्दा लोकप्रिय नाइट ड्रेसमध्ये सर्ट र पाइन्टको सेट पर्छ। विशेषगरी युवतीहरूबीच यसको माग बढी छ। कटन फेब्रिकमा बनेका यी सेट झनै आरामदायक हुने भएकाले राम्रो निन्द्रा लाग्ने बताइन्छ । विभिन्न प्रिन्ट र रंगमा उपलब्ध यसको मूल्य १२ सयदेखि १५ सय रुपैयाँसम्म पर्छ । 

कान्तिपुर

Link copied successfully