स्तन दुखाइ के हो ? कहिले चिन्ता गर्ने ?

अत्यधिक मानसिक तनाव, क्याफिनको बढी सेवन, अस्वस्थ आहार तथा अनियमित जीवनशैलीले पनि स्तन दुखाइ बढाउन सक्छ ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

What is breast pain? When should you worry?

What you should know

काठमाडौँ — धेरै महिलाको मनमा बारम्बार उठ्ने एउटा सामान्य तर चिन्ताजनक प्रश्न हो- स्तन दुख्न थाल्यो अब क्यान्सर हुने त होइन ? यस प्रश्नले धेरैलाई डर र तनावमा पार्ने गरेको देखिन्छ ।

तर सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने स्तन दुखाइ स्तन क्यान्सरको लक्षण हो भन्न सकिँदैन । सामान्य दुखाइ क्यान्सरको लक्षण नहुन सक्छ यदि स्तनको छालामा परिवर्तन, निप्पलबाट असामान्य पिप बग्नुजस्ता लक्षण देखिन थाले भने मात्र क्यान्सरको शंका गर्न सकिन्छ । 

स्तन दुखाइ विभिन्न कारणले हुन सक्छ । धेरैजसो अवस्थामा यो सामान्य र अस्थायी हुन्छ । महिनावारी हुनुअगााडि र गर्भवती भएको अवस्थाको स्तन दुखाइलाई सामान्य रुपमा लिन सकिन्छ । स्तन दुखाइका कारण यस्ता हुन सक्छन् :

हर्मोनको परिवर्तन : महिनावारी हुनुअघि, महिनावारीको समयमा वा गर्भावस्थामा हर्मोनको उतारचढावका कारण स्तन दुख्ने, भारी हुने वा संवेदनशील हुने समस्या देखिन सक्छ । 

स्तनपान गराइरहेका महिलामा संक्रमण : स्तनपान गराउने क्रममा संक्रमण भएमा स्तन रातो हुने, सुन्निने र दुख्ने समस्या देखिन सक्छ । यस अवस्थालाई ‘ल्याक्टेसनल म्यास्टाइटिस’ भनिन्छ ।

स्तनभित्र साना गाँठागुँठी वा परिवर्तन : स्तनको भित्री बनावटमा हुने परिवर्तन, जस्तै: साना सिस्ट वा फाइब्रोसिस्टिक परिवर्तनले पनि दुखाइ गराउन सक्छ ।

गलत साइजको ब्रा प्रयोग : सही साइजको ब्रा नलगाउँदा स्तनमा असहजता, तानिएको महसुस र दुखाइ हुन सक्छ ।

मानसिक तनाव र जीवनशैली : अत्यधिक मानसिक तनाव, क्याफिन (चिया, कफी) को बढी सेवन, अस्वस्थ आहार तथा अनियमित जीवनशैलीले पनि स्तन दुखाइ बढाउन सक्छ ।

धेरैजसो अवस्थामा स्तन दुखाइ सामान्य हुन्छ । यदि दुखाइ लामो समयसम्म लगातार रहिरह्यो भने स्तनमा असामान्य गाँठो देखिएमा  वा निप्पलबाट पिप वा रगत देखापरेमा स्तनको आकार, छालाको रङ वा निप्पलको बनावटमा परिवर्तन आयो भने चिकित्सकसँग परामर्श लिनुपर्छ ।

(त्रिवि शिक्षण अस्पतालमा कार्यरत ब्रेस्ट तथा थाइराइड क्यान्सर सर्जन डा. सुजिता हिराचनसँग प्रकृति दाहालले गरेको कुराकानीमा आधारित ) 

कान्तिपुर

Link copied successfully