दाँतका मुख्य तीन तह हुन्छन् माथिल्लो भाग इनामेल, त्यसको तल डेन्टिन र सबैभन्दा भित्र नरम मासु (पल्प) । डेन्टिनको तल्लो तहसम्म भएको इन्फेक्सनमा सामान्य फिलिङ पर्याप्त हुन्छ ।
What you should know
काठमाडौँ — दाँतको संक्रमण सामान्य उपचारबाट निको पार्न नसकिने अवस्था आएमा जराभित्र रहेका नसाको उपचार गर्नुपर्ने हुन्छ, जसलाई आरसीटी (रुट क्यानल ट्रिटमेन्ट) भनिन्छ ।
दाँतको नसासम्म संक्रमण पुगेपछि आरसीटी गर्ने प्रविधि अहिले बढ्दै गइरहेको छ । यसै सर्न्दभमा आरसीटी के हो ? कसरी गरिन्छ ? लगायतका विषयमा चाबहिलस्थित ऊँ समाज डेन्टल हस्पिटलका चिकित्सक सुवास घिमिरेसँग कान्तिपुर संवाददाता प्रकृति दाहालले गरिएको कुराकानी :
आरसीटी (रुट क्यानल ट्रिटमेन्ट) के हो ?
आरसीटीको पूरा नाम रुट क्यानल ट्रिटमेन्ट हो । सामान्य भाषामा हामी यसलाई ‘दाँत भर्ने’ पनि भन्छौं । तर दाँत भर्नु र आरसीटी फरक–फरक प्रक्रिया हुन् । दाँतका मुख्य तीन तह हुन्छन् माथिल्लो भाग इनामेल, त्यसको तल डेन्टिन र सबैभन्दा भित्र नरम मासु (पल्प) । डेन्टिनको तल्लो तहसम्म भएको इन्फेक्सनमा सामान्य फिलिङ पर्याप्त हुन्छ । तर जब दाँतको नरम मासु संक्रमण भएर भित्रसम्म पुग्छ, तब त्यो मासु निकालेर संक्रमण फैलिन नदिने प्रक्रिया नै आरसीटी हो ।
कस्तो अवस्थामा आरसीटी गर्ने ?
दाँत सिरिङ–सिरिङ दुख्न थालेपछि वा लगातार पीडा भएपछि प्रायः आरसीटी गर्नुपर्छ । यसमा दाँतको जराको टुप्पोसम्म सफा गरेर भराइ गरिन्छ, त्यसैले यसलाई ‘दाँतको जरासम्मको भराइ’ पनि भनिन्छ ।
आरसीटी कसरी गरिन्छ ?
पहिला दाँतको जरासम्म पुग्ने क्यानललाई पूर्ण रूपमा सफा गरिन्छ, ताकि ब्याक्टेरिया फेरि बढ्न नपाओस् । त्यसपछि ‘गटापर्चा’ भन्ने विशेष सामग्री प्रयोग गरेर जराको प्वाल बन्द गरिन्छ । बाहिर देखिने भागमा भने दाँतको रङ मिल्ने, टोक्दा नफुट्ने किसिमको फिलिङ सामग्री प्रयोग गरिन्छ । यसले दाँतलाई प्राकृतिक जस्तै देखिने बनाउँछ ।
कति समय लाग्छ ?
अहिले प्रविधिको विकाससँगै आरसीटी दुई तरिकाले गरिन्छ । सिंगल सिटिङ आरसीटीः एउटै दिनमा प्रक्रिया पूरा गरिन्छ । मल्टिपल सिटिङ आरसीटीः केही दिन लगाएर विस्तारै गरिन्छ । टेक्नोलोजी र दाँतको अवस्थाअनुसार १५ मिनेटमै पनि सकिन सक्छ, वा आवश्यक परे समय लिएर गर्नुपर्छ ।
आरसीटी पछि फेरि उपचार गर्नुपर्छ ?
सामान्यतया एकपटक राम्रोसँग गरिएको आरसीटी दोहोर्याउनुपर्दैन । तर आरसीटी गर्दा दाँतको जरासम्म प्वाल बनाइने भएकाले दाँत कमजोर हुन्छ । त्यसैले दाँत फुट्न नदिन माथि क्राउन (टोपी) लगाउन सिफारिस गरिन्छ ।
खर्च कति लाग्छ ?
दाँतको अवस्था हेरेर खर्च फरक पर्छ । साधारण अवस्थामा ३ हजारदेखि ४ हजार ५ सय रुपैयाँसम्म लाग्न सक्छ । यदि सिंगल सिटिङमा छिटो गर्नुपरेमा खर्च दोब्बरसम्म हुन सक्छ, जसमा ८ हजार रुपैयाँसम्म पर्न सक्छ ।
आरसीटी गर्दा जोखिम हुन्छ ?
राम्रो र प्रोफेशनल दन्त चिकित्सकबाट गरिएको आरसीटीमा खासै जोखिम हुँदैन । तर आरसीटीपछि दाँत कमजोर हुने भएकाले क्राउन नलगाएमा फुट्ने सम्भावना रहन्छ । क्राउन लगाउँदा दाात सुरक्षित हुन्छ ।
आरसीटीपश्चात के–कसरी केयर गर्ने ?
आरसीटीपछि खानपानमा ध्यान दिनुपर्छ । ध्यान नदिई हतार–हतार खाने, मोबाइल चलाउँदै खाने बानीले दाँतमा समस्या आउन सक्छ । हामी यसलाई ‘मेडिटेटिभ इटिङ हृयाबिट’ भन्छौं अर्थात् ध्यान दिएर, आरामसँग खाने बानी । यसले दाँत मात्र होइन, समग्र स्वास्थ्यका लागि पनि फाइदा गर्छ ।
