अल्ट्रा प्रोसेस्ड फुडले स्वास्थ जोखिमको खतरा निम्याएको विज्ञहरूको चेतावनी

अत्यधिक प्रशोधन गरिएका खाद्य पदार्थ वा अल्ट्रा-प्रोसेस्ड फुडले स्वास्थ्य जोखिमको अवस्था निम्त्याउन लागेको भन्दै यसलाई तत्काल सम्बोधन गर्न आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन् ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Experts warn that ultra-processed food poses health risks

What you should know

काठमाडौँ — लान्सेट मेडिकल जर्नलमा विश्वभरका ४३ जना खाद्यविज्ञहरूको संयुक्त लेखमा अल्ट्रा-प्रोसेस्ड फुडहरूको खपत तिब्र गतिमा बढिरहेको र यो पौष्टिक आहारको कमी एवं मोटोपनदेखि क्यान्सरसम्मका विभिन्न रोगसँग जोडिएको उल्लेख छ ।    

अल्ट्रा प्रोसेस्ड फुड भनेको औद्योगिक स्तरमा प्रशोधन गरिएको, रसायन, एडिटिभ र प्रोसेस्ड सामग्री प्रयोग गरिएको र आवश्यक खाद्य पदार्थ कम हुने खाना वा पेय पदार्थ हुन् । यसमा कार्बोनेटेड ड्रिंकदेखि  चाउचाउ, फ्रेन्च फ्राइज, कुकिज, आइसक्रिमलगायत पर्छन् ।

प्रविधिको प्रयोग गरेर विभिन्न चरणको प्रशोधन गरिने र रासायनिक पदार्थको प्रयोग गरेर बनाइने यस्ता खाद्य तथा पेय पदार्थमा पौष्टिक तत्व निकै काम हुने भन्दै यसको बढदो प्रयोग मानव स्वास्थ्यका निम्ती हानिकारक रहेको अध्ययनमा उल्लेख छ । 

‘हामीसँग अहिले अल्ट्रा-प्रोसेस्ड फुड र मानव स्वास्थ्यबारे जे-जति प्रमाण छ, त्यसले विश्वव्यापी स्तरमा हस्तक्षेप गर्नुपर्ने देखाएको छ,’ ब्राजिलको साओ पावलो विश्वविद्यालयका प्राध्यापक कार्लोस मोन्टेइरोले भनेका छन् । फाइबर, भिटामिन र मिनरलजस्ता पौष्टिक तत्व कम हुने यस्ता खाद्य पदार्थहरूमा चिनी, स्याचुरेटेड फ्याट र इनर्जि डेन्सिटि भने ज्यादा हुने भएकाले ‘ओभरइटिङ’ वा अधिक ज्यादा खाने समस्या हुने अध्ययनले औँल्याएको छ ।  

कतिपय देशमा अधिक प्रशोधित खाद्य पदार्थमाथिको निर्भरता बढदै गएको बताइएको छ । अमेरिकी, बेलायती र क्यानाडेलीहरूको दैनिक आहारमा अल्ट्रा-प्रोसेस्ड फुडको हिस्सा ५० प्रतिशतभन्दा धेरै रहेको भन्दै अनुशन्धानकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् । अस्ट्रेलियामा पनि यस्तो समस्या बढिरहेको उल्लेख छ । यस्तो आहारले मोटोपन, टाइप टु डायबेटिज (मधुमेह), उच्च रत्तचाप, उच्च कोलेस्ट्रोल, मुटुसम्बन्धी रोग, मृगौलासम्बन्धी दिर्घरोग, डिप्रेसनजस्ता स्वास्थ समस्या निम्त्याउनुका साथै यसले अकालको मृत्युसमेत बढाइरहेको अध्ययनले पुष्टि गरेको छ ।  

अधिक चिनी, नुन र बोसोजन्य खानालाई मात्र समस्याका रूपमा बुझ्न नहुने अध्ययनले भनेको छ । अल्ट्रा-प्रोसेस्ड खानेकुरा सेवन गर्ने व्यक्तीले अल्ट्रा-प्रोसेस्ड नगरिएको खानाको अनुपातमा दिनमा झन्डै ५०० देखि ८०० अतिरिक्त क्यालोरी खपत गर्नुका साथै तौल र बोसो दुवै छिटो बढ्ने उल्लेख छ । 

अत्यधिक प्रशोधित खाद्य पदार्थबारे राष्ट्रिय खाद्य नीतिमै स्पष्ट व्यवस्था गरिनुपर्ने अध्ययनले सुझाव दिएको छ । यस्ता खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरू नीतिगत परिवर्तनकै सबैभन्दा ठूला अवरोध बनेको समेत उल्लेख छ ।

‘अल्ट्रा-प्रोसेस्ड फुड खाद्य क्षेत्रको सबैभन्दा नाफामूलक व्यवसाय भएकाले यसमा ठूला बहुराष्ट्रिय कम्पनी, विश्वव्यापी आपूर्ति बजार र लबिइङ गर्नेहरूले बजार विस्तार, वैज्ञानिक अनुसन्धान एवं सार्वजनिक बहसलाई प्रभाव पार्नुका साथै निमयन रोक्ने प्रयास गर्छन्,’ अध्ययनमा भनिएको छ, ‘यस्ता खाना उत्पादन गर्ने कम्पनीहरूले आफ्नो नाफाबाट उल्लेख्य रकम मार्केटिङमा खर्च गर्छन् ।’       

सो अध्ययनमा अत्यधिक प्रशोधित खाद्य पदार्थले किन र कसरी स्वास्थ्यमा हानि पुर्‍याउँछन् भन्नेबारे गहिराइमा बुझ्न थप अनुसन्धान आवश्यक रहेको पनि औँल्याएको छ । साथै, यस्ता खानाकुरा उत्पादनमा उच्च कर लगाउनुपर्ने, कम्पनीहरूलाई प्लास्टिकको पुन:प्रयोगमा अनिवार्य गराउनुपर्ने र मानिसहरूलाई स्वस्थ खानेकुरा उत्पादन गर्ने किसानसँग जोड्नुपर्ने सुझाव दिइएको छ ।  

सम्बन्धित अन्य समाचार

पत्रु खानाको असर, कुपोषणदेखि मोटोपनको डर

जंक फुडको जगजगी

कान्तिपुर संवाददाता

Link copied successfully