जंक फुडको जगजगी

अभिभावकले घरमै खाजा बनाएर पठाउन झिँझो मान्दा बाल स्वास्थ्यमा दीर्घकालीन असर  

असार २३, २०८०

प्रशान्त माली

काठमाडौँ — पुल्चोकको मदन स्मारक स्कुलको कक्षा ७ मा अध्ययनरत बाजुराका १३ वर्षीय सुरज विक, हेटौंडाका सविन तामाङ, बुद्धलाल थिङलगायत प्रायः विद्यार्थीको दिवा खाजा चाउमिन, बिस्कुट, पकौडा, चाउचाउ हुने गरेको छ । विद्यार्थीले चाउचाउ बाहिर पसलबाट खरिद गरेर ल्याउने गरेका छन् भने चाउमिन, चप, पकौडा विद्यालयको चमेना गृहमा पाइन्छ ।

बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरेर विद्यार्थीहरूलाई दिवा खाजामा जंक फुड नदिने सरकारी नीति यहाँ लागू छैन । विद्यालयको चमेना गृहमा रोटी तरकारी, अन्डा, दही, चिउरा, भटमास, चना, आलुजस्ता स्वस्थ खाना नियमित पाइँदैन । विरलैले मात्र घरबाट खाजा ल्याउने गरेका छन् । कक्षा ६ सम्मका विद्यार्थीलाई भने खीर, हलुवा, चना, चिउरा, रोटी, तरकारी दिने गरेको छ ।

जहाँ विद्यालयले कडाइ गर्दैन, त्यहाँ सबैतिर प्याकेटका तयारी खानेकुरा छन् । प्रायः सामुदायिक विद्यालयका कक्षा ७ देखि १० सम्मका विद्यार्थीको दिउँसोको खाजा जंक फुड हुने गरेको छ । सरकारले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरेर विद्यालयमा जंक फुड निषेध गरेको छ । कक्षा ६ सम्मका विद्यार्थीलाई बजेट नै विनियोजन गरेर दिवा खाजाको व्यवस्थापन गर्दै आएको छ । अर्थ मन्त्रालयले दिवा खाजा खुवाउन आगामी आर्थिक वर्षका लागि ८ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विज्ञहरूका अनुसार जंक फुडले बालबालिकाको मात्र होइन, विद्यालयको वातावरणीय स्वास्थ्य नै बिगार्छ । तैपनि सरोकारवाला निकायले नियन्त्रणमा कडाइ गरेको देखिँदैन । स्वास्थ्य मन्त्रालयले भर्खरै सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार पोषण नपुगेकै कारण ५ वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन, १९ प्रतिशतमा उमेरअनुसार कम तौल र एक प्रतिशत बढी तौल भएको पाइएको छ । १५ देखि १९ वर्ष उमेर समूहका किरोशीहरूमध्ये २६ प्रतिशत दुब्लो र ६ प्रतिशतमा मोटोपना पाइएको छ । २० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूमा १० प्रतिशत दुब्लो र ३५ प्रतिशत मोटोपना छ । १५ देखि ४९ वर्ष उमेर समूहको किशोरहरूमध्ये ४१ प्रतिशत दुब्लो र ७ प्रतिशत मोटोपन पाइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले २०७७ जारी गरेको ‘विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई प्राथमिकतामा राखेर ६० प्रकारका ‘मेनु’ बनाई जंक फुडलाई निरुसाहित गरेको थियो । सरकारले २०८० को बजेट, नीति तथा कार्यक्रममै समावेश गरी जंक फुड निषेध गर्ने घोषणा गरेको छ । तर, कार्यान्वयन भने छैन ।

‘आजभन्दा ४०–४५ वर्षअघि पत्रु खानाको चलन थिएन । आमाले पकाएको रोटी, आलु, चना, भुटेको भात, मकै वा च्याख्ला खाने चलन थियो । त्यो खाजाले पेट भरिने मात्र होइन, आनन्दको अनुभूति पनि गराउँथ्यो,’ जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले भनिन्, ‘अहिले बालबालिका बेलाबेलामा बिरामी पर्नुको विभिन्न कारणमध्ये मुख्य पत्रु खानाले हो । यसले रोगसँग लड्ने क्षमता कम गर्छ ।’ 

विश्वविद्यालयका शोधकर्ताले विभिन्न समयमा गरेका अध्ययनअनुसार अत्यधिक मात्रामा जंक फुड सेवन गर्ने बालबालिकामा स्वास्थ्य समस्या दीर्घकालीन हुन्छ । सानैदेखि जंक फुड सेवन गरिरहेकाहरूलाई २५ वर्षको उमेरमै मधुमेह भएका धेरै छन् । 

जनस्वास्थ्यविद्हरूका अनुसार जंक फुडमा सोडियमको मात्रा उच्च हुन्छ । अधिक सोडियम मुटुको लागि घातक छ । आवश्यकभन्दा बढी सोडियमले उच्च रक्तचाप र स्ट्रोकको खतरा पनि निम्त्याउँछ । पछिल्लो समय मधुमेहका बिरामीको संख्या पनि बढ्दो छ । धेरैजसो ५० वर्ष नाघेकाहरूलाई देखिने मधुमेहको समस्या किशोरावस्थामै देखापरेका छन् । जनस्वास्थ्यविद् उप्रेतीले यो मुद्दामा शिक्षा र स्वास्थ्यमन्त्री, योजना आयोगका सदस्य र मुख्यसचिवसमेतले ध्यान दिनुपर्ने बताइन् । ‘नत्र राज्यको अर्बौं लगानी प्रत्येक वर्ष खेर गइरहन्छ,’ उनले भनिन्, ‘कतिपय अभिभावकले छोराछोरीलाई खाजा खान २० देखि ५० रुपैयाँसम्म दिने गरेका छन् । यसरी पैसा दिनुको सट्टा चिउरा, तरकारी, रोटी, भुटेको भात दिएमा सस्तोसँगै स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।’ 

जंक फुड अत्यधिक मात्रामा खराब पोषणयुक्त चीज, ट्रान्सफ्याट, चिनी, सोडियम र अनेक किसिमको रसायन मिसाएको खानेकुरा हो । चाउचाउ, आलु चिप्स, बिस्कुट, कोल्ड ड्रिंक, पिज्जा, बर्गर, मःम, डोनट, पपकर्न, फ्रेन्च फ्राइज, पाउरोटी सबै जंक फुड हुन् । अहिले विद्यालयको चमेना गृहमा खुलेआम जंक फुड बिक्री भइरहँदा पनि न विद्यालयले रोक्न सकेका छन्, न त शिक्षा मन्त्रालयले नै । पेटभरि दाल, भात, तरकारी, मोही, लिटो, कोदो, केरा, रोटी, फापर, क्वाँटीजस्ता खाद्य तत्त्वले शारीरिक र मानसिक दुवै स्वस्थ राख्छ भन्नेबारेमा सबैलाई थाहा छ । तर, विद्यार्थीलाई यस्ता खानेकुरा खान प्रोत्साहन खासै कसैले गरेको देखिएन । स्वास्थ्य मन्त्रालयले पनि स्वस्थकर वस्तुको प्रोत्सान गर्न सकेको छैन । योजना आयोगको स्वास्थ्य र सामाजिक समितिले पनि पोषणका बारेमा योजना बनाउँदैनन् ।

काठमाडौं महानगरपालिकाले भने सामुदायिक विद्यालयका कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्न प्रतिविद्यार्थी दैनिक २५ रुपैयाँको दरले बजेट छुट्याउँदै आएको छ । केन्द्रीय सरकारले भने कक्षा ६ सम्मका प्रत्येक विद्यार्थीलाई १५ रुपैयाँका दरले बजेट विनियोजित गर्दै आएको छ । पोषणविद् डा. उमा कोइराला भन्छिन्, ‘हामीकहाँ खाद्य पदार्थको गुणस्तर परीक्षण गर्ने प्रणाली कमजोर छ । चाउचाउ र बिस्कुटका प्याकेटमा लेखिएको पोषणको मात्रा तोकिएबमोजिम छ कि छैन भन्ने अध्ययन हुँदैन ।’ उनका अनुसार व्यापारीहरूले बेलाबेलामा ‘५० वर्षको उमेरपछि घरको खानाले मात्र शरीरमा प्रोटिन पुग्दैन’ भनेर गलत विज्ञापन गरेर जनतालाई भ्रमित पार्ने गरेका छन् । ‘अनि अनेक प्रकारका बट्टाका प्रोटिन बेचिन्छ । तर, यसले फाइदा गर्दैन,’ उनले भनिन्, ‘यसप्रति राज्य र जनता दुवै सचेत हुन जरुरी छ ।’

सरकारले पनि जनउपयोगी वस्तुहरूको प्रचारप्रसारको प्रभावकारी काम गरेको छ । कृषि मन्त्रालयले लट्टे, कोदो, फापर, तरुलजस्ता पोषण तत्त्वका बारेमा लेखिएको पुस्तिका प्रत्येक वर्ष प्रकाशन गर्छ । तर, किताब समुदायसम्म पुर्‍याउन सकेको छैन । बालस्वास्थ्यको वास्ता कुनै पनि मन्त्रालयले गर्दैन, त्यसैले अभिभावकहरू नै सजक हुनुपर्ने अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् । महासंघका अध्यक्ष भण्डारीले बेलाबेलामा अभिभावक भेला गरेर पोषणका बारेमा जानकारीमूलक कार्यक्रम गर्दै आइरहेको बताए । ‘घरको अन्डा र कोदो बेचेर गाउँघरमा कमप्लान किन्छन् । सहरमा बच्चालाई माया गरेको देखाएर बिस्कुट र चाउचाउ किन्छन्, स्कुलमा पनि बाँडिन्छन् । बच्चालाई स्वस्थ खानेकुरा दिन परिवार र समुदाय नै सचेत हुन जरुरी छ,’ उनले भने ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालयमा अनुगमन गर्ने दायित्व स्थानीय तहको भएको बताए । ‘विद्यालयले अटेर गरेमा कारबाहीको दायरामा ल्याउन सकिन्छ,’ उनले भने, ‘बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरेर कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्थापन गर्ने योजनामा छौं ।’ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर अधिकारीले मन्त्रालयले पनि पोषणयुक्त खानाबारेमा जनचेतना जगाउने काम गरिरहेको बताए । ‘पोषणको अवस्था सुधार गर्न दिवा खाजाको अवधारणा ल्याइएको हो,’ उनले भने, ‘यसमा विद्यालय र स्थानीय तहले पनि ध्यान दिनुपर्छ ।’

ललितपुर पुल्चोकको मदन स्मारक माविका प्रधानाध्यापक गोविन्द पौडेल स्वस्थ खाजाका लागि विद्यार्थीलाई कडाइ गर्ने बताउँछन् । ‘विद्यालयनजिकै पसलमा चाउचाउ पाइन्छ । कम्पाउन्डबाटै खरिद गरेर खान्छन्,’ उनले भने, ‘पसले यसबारेमा ध्यानाकर्षण गराइसकेका छौं ।’ 

स्वस्थ भोजन नै औषधि

जनस्वास्थ्यविद् डा. उप्रेतीको नेतृत्वको टोलीले केही वर्षअघि मानव शरीरमा कति मात्रामा क्याल्सियम र भिटामिन बी१२ छ भनेर ४० देखि ६० वर्ष नाघेका केही महिलाको रगतको जाँच गरेका थिए । त्यसमा धेरैजसो माछामासु नखानेहरू थिए । मासु खानेहरू पनि सातामा एकचोटि मात्र खाने थिए । त्यतिबेला माछा, मासु, अन्डा, आइरन चक्की, क्याल्सियम र भिटामिन नखानेहरूको क्याल्सियम, भिटामिन बी१२ को मात्रा धेरै राम्रो पाइएको थियो । रगतको जाँचमा हेमोग्लोबिनको पनि कमी थिएन । 

अध्ययनले उनीहरू स्वस्थ रहनुमा पत्रु खाना नखाने, मिठाई प्रसादका रूपमा कहिलेकाहीँ नगण्य मात्रामा खाने र दैनिक योग गर्ने गरेको पाइएको थियो । डा. उप्रेती भन्छिन्, ‘नेपालमा ४० वर्षभन्दा माथिकाले क्याल्सियम, भिटामिन डीको चक्की र रगत बढाउन केही औषधि खानैपर्छ भन्ने मान्यता चिकित्सा जगत्मा स्थापित हुँदै गएको छ । तर, स्वस्थकर खाना खाइयो भने त्यसले नै शरीरको सबै आवश्यकता पूर्ति गर्छ ।’ स्वस्थकर भोजनको नियमितताले मानिसलाई औषधिको केही आवश्यकता नपर्ने उनको भनाइ छ । ‘स्वस्थ भोजन नै औषधि हो,’ उनले भनिन् ।

कस्तो खाजा खाने ?

जनस्वास्थ्यविद् डा. उप्रेतीका अनुसार बच्चाको हड्डी मजबुत गर्न दूध र दूधबाट बनेको परिकार दही, चीज, पनिर, लस्सी खान सकिन्छ । यसमा प्रोटिन साथै क्याल्सियम हुन्छ । गेडागुडीमा क्याल्सियम, प्रोटिन र अन्य पोषक तत्त्व हुन्छ । चामल, दाल, गेडागुडीको मिश्रण गरेर खाँदा बालबालिकाको स्वास्थ्य राम्रो हुन्छ । यसले कब्जियतबाट बचाउनुका साथै पेटको स्वास्थ्य राम्रो गर्ने डा. उप्रेतीको भनाइ छ । 

पहिला गाउँमा बिहान दूध, दही खाने चलन थियो । खाजामा राजमा, चना, भटमास उसिनेर वा भुटेर दिने गरिन्थ्यो । विभिन्न थरीका अन्न मिसाएको पिठोले बनेको हलुवा, रोटी खाने चलन थियो । अहिले यो चलन हराएको छ । यसलाई निरन्तरता दिन जरुरी रहेको उनी सुनाउँछन्, ‘प्रत्येक दिन थोरै सक्खर र बदाम खाँदा पनि क्याल्सियम पाइन्छ । सुन्तलासँग बदाम खाँदा शरीरमा क्याल्सियम र भिटामिन पुग्छ ।’ उनका अनुसार कोदोमा क्याल्सियम, पोटासियम, खनिज पाइन्छ । ‘रेशादार तत्त्व र केही मात्रामा प्रोटिन पनि हुन्छ । ढिँडो मात्र बनाएर खाँदा कोदोको सदुपयोग हुँदैन । यसलाई गहुँको चामलको वा भटमासको पिठोसँग मिसाएर जेरी बनाएर खान सकिन्छ,’ उनले भनिन् ।

प्रशान्त

Link copied successfully