पछिल्लो समय सहरदेखि गाउँगाउँमा समेत सिसाका गिलास, जार, बोतल, प्लेट र डेकोरेटिभ कन्टेनरहरू भान्सामा प्रयोग हुन थालेका छन् । यस्तो अभ्यासले भान्साको परम्परागत चित्र बदलिदै गरेको संकेत गर्दछ ।
What you should know
काठमाडौँ — सहरदेखि गाउँगाउँमा समेत सिसाका गिलास, जार, बोतल, प्लेट र डेकोरेटिभ कन्टेनर भान्सामा प्रयोग हुन थालेका छन् । वातावरणमैत्री सिसाका भाँडाको माग बढ्दै गएको व्यापारी बताउँछन् ।
कुनै बेला होटल र पार्टी प्यालेसमा मात्र देखिने चम्किला सिसाका गिलास र भाँडाहरूले अहिले हरेक नेपालीका भान्सामा देख्न सकिन्छ । बजारबाट सजिलै किन्न सकिने पाइने विविध रङ, आकार र मूल्यका सिसाका भाँडाहरूले उपभोक्ताको ध्यान तानेका छन् । काठमाडौंको असन बजार होस् वा कुनै गाउँले बस्तीको भाँडा पसलम, जहाँ पनि सिसाका झलमल्ल भाँडाहरू देख्न सकिन्छ । सफा, टल्किने, विभिन्न डिजाइन र आकारका सिसाका भाडाहरुको बढदो प्रयोगले हाम्रो भान्साको पुरानो स्वरुप नै बदलीरहेझैं लाग्छ ।
पछिल्लो समय सहरदेखि गाउँगाउँमा समेत सिसाका गिलास, जार, बोतल, प्लेट र डेकोरेटिभ कन्टेनरहरू भान्सामा प्रयोग हुन थालेका छन् । वातावरणमैत्री हुने सिसाका भाँडाहरूको माग बढ्दै गएको व्यापारीहरू बताउँछन् । भान्साका लागि साना–ठूला जार, तेल राख्ने डिस्पेन्सर, मसला कन्टेनर, अचारका बोतलदेखि लिएर चिया कप र पानीका बोतलसम्म, हरेक सामग्रीमा सिसाको आकर्षण बढेको छ । सिसाका भाँडाको बजार नेपालमा केही वर्षयता तीव्र रूपमा बढ्दो छ ।
काठमाडौं बानेश्वरका विक्रेता मुकेश बजाचार्य सजावटका लागि ग्राहकहरूले सिसाका भाँडाहरू खोज्ने गरेको बताउँछन् । उनका अनुसार सिसाका ग्लास, प्लेटदेखि डाइनिङ सेटसम्म रोज्ने गरेका छन् । विशेषगरी ग्राहकहरूले उपभोक्ताहरूको सजावट र प्रयोग दुबै हिसाबले यस्ता भाँडाहरू खोज्ने गरेको उनी बताउँछन् । ‘हामीकहाँ ग्राहकहरू सजावटका लागि गिलास सेट, रंगीन जार, बोतल र सिसाका कन्टेनरहरू खोज्छन्,’ उनी भन्छन्, ‘अहिले सिसा हरेकको भान्सामा पुगेको छ, भनौं यो एउटा फेसनजस्तै भएको छ ।’
भारत, चीन, मलेसिया र थाइल्यान्डबाट सिसाका भाँडाहरू नेपाली बजारमा आउने विभिन्न मूल्य र ब्रान्डमा उपलब्ध छन् । यसको मूल्यमा पनि विविधता छ । भान्सामा प्रयोग हुने भाँडाहरूका बारेमा उपभोक्ताहरू सचेत हुनुपर्ने उनको भनाइ छ। दैनिक प्रयोगमा आउने सिसाहरू फुड ग्रेड सिसा हुनुपर्छ । जसले खाना वा पेयपदार्थ राख्दा सुरक्षित हुन्छ । प्लास्टिकभन्दा धेरै गुणा टिकाउ र वातावरणमैत्री विकल्पका रूपमा सिसाको उपयोग प्रभावकारी मानिएको छ ।
स्टिल, प्लास्टिक हुँदै बजारमा सिसाको चलन बढ्न थालेको हो । सिसाका भाँडाको मूल्य किसिमअनुसार फरक पर्छ । सामान्य पानी गिलास रु. ५० देखि १५० सम्ममा पाइन सक्छ भने डेकोरेटिभ सेट रु. ८०० देखि ३५०० सम्म पर्छ । सहरमा मात्र होइन, हाल अनलाइन खरिदको प्रवृत्तिले गर्दा सिसाका सामानहरू गाउँसम्म पनि पुग्न थालेका छन् ।
महिला उपभोक्ताहरूले आकर्षक डिजाइन देखेर सामाजिक सञ्जालमार्फत अर्डर गर्ने गरेका छन् । कोटेश्वरकी उर्मिला अर्यालले अनलाइनबाट सिसाका सेटहरू मगाउँछिन् । भान्सामा आकर्षण र पारदर्शी देखिने हुनाले पनि आफ्नो रोजाइ सिसा रहेको उनी बताउँछिन् । उनले छोराछोरीको रहरका लागि पनि भाँडा प्रयोग गर्छिन् । उनी भन्छिन्, ‘पहिला म स्टिलका भाँडाहरू चलाउँथें । अहिले छोराछोरीले पनि रहर गर्छन् । भान्सामा राख्दा राम्रो देखिने हुनाले यसको आकर्षण बढेको हो ।’
प्लास्टिकबाट सिसातर्फ
केही समयअगााडि बजारमा प्लास्टिक वा स्टिलका सामानको बिक्री बढ्दो थियो । व्यापारीहरूका अनुसार अघिल्लो दशकसम्म प्लास्टिक र स्टिलका भाँडा मात्रै लोकप्रिय थिए भने अहिले सिसा फेसन बनेको छ । विशेषगरी मध्यम वर्गका उपभोक्ताका बीचमा सिसा ‘सजावट’ र ‘रहर’ दुवै हिसाबले रोजाइमा परेको छ ।
भान्सामा बढी प्रयोग हुने सिसाका सामान
- सादा सिसाका ५०० मिलिका बोतल–७० देखि १५०
- डिजाइनर जार वा मसला कन्टेनर सेट–३०० देखि १,५००
- दालचिनी वा अचार राख्ने एयरटाइट सिसा जार–२०० देखि ५००
- सेटमा आउने डिनर सिसा भाँडा (६ सेट)–२००० देखि ६०००
- सिसाको जग (१–२ लिटर)–३५० देखि ८५०
- बेकिङ डिस (ओभन सेफ)– ५०० देखि १५००
