व्यस्त जीवनशैली, तनावयुक्त माहोलको प्रभावले हरेक उमेरका व्यक्ति डिप्रेसन, एन्जाइटीको सिकार भइरहेका छन् ।
What you should know
काठमाडौँ — अहिलेका बालबालिका सानै उमेरदेखि विद्यालय र पढाइका कारण तनावमा हुन्छन् । वरिपरिको माहोल, परिवारको उदासीनता, लडाइँ–झगडा, हिंसा देखिरहेकाले पछि गएर उनीहरूमा मानसिक रोग देखिन सक्छ ।मानसिक स्वास्थ्यविज्ञ डा. विश्वबन्धु शर्मा भन्छन्, 'बालबालिकामा मानसिक समस्या बढ्नुमा परिवार, आमाबुवाको सम्बन्ध, साथीसंगीको सम्बन्ध, परिवारको अधिक दबाब, प्रविधिको बढी प्रयोग, यौनहिंसा आदि कारक हुन सक्छन् ।'
बालबालिका हाँसीखुसी रहने, रमाउने, खेल्ने, दौडने हुन्छन् । कुनै पनि नयाँ कुरा सिक्न आतुर हुन्छन् । तर मानसिक समस्याबाट गुज्रिएकाहरू घरबाट बाहिर निस्कन नमान्ने, पढ्न अल्छी गर्ने, असामाजिक हुने, आत्महत्याको प्रयास गर्ने खालका हुन्छन् । यी समस्यालाई समयमै समाधान गर्न सकिएन भने उनीहरू आफै मात्र होइन परिवारको भविष्य नै डामाडोल बन्न पुग्छ ।
खराब जीवनशैलीका कारण पनि बालबालिकामा मानसिक समस्या देखिन थालेको छ । व्यस्त जीवनशैली, तनावयुक्त माहोलको प्रभावले हरेक उमेरका व्यक्ति डिप्रेसन, एन्जाइटीको सिकार भइरहेका छन् ।
कुन समस्या बढी ?
बालबालिकामा अटिजम, एडीएचडी, एन्जाइटी डिसअर्डर, चाइल्डहुड डिप्रेसन, इटिङ डिसअर्डर साझा समस्या बनिसकेको बताउँछन्, डा. शर्मा । ‘खराब जीवनशैली र वातावरणमा हुर्केका बालबालिकाएकाग्र हुन नसक्ने, रिस कन्ट्रोल गर्न नसक्ने खालका हुन्छन् । उनीहरूको व्यवहारमै परिवर्तन देखिन्छ,’ उनी भन्छन् । उनका अनुसार एन्जाइटी भएका बालबालिकाले कुनै पनि वस्तु वा परिस्थितिसँग डर, चिन्ता, तनावजस्ता प्रतिक्रिया दिन्छन् । त्यसका अतिरिक्त केही शारीरिक लक्षण पनि देखिन्छ । जस्तो कि नर्भस हुने, घबराहट, मुटुको धड्कन बढ्ने, पसिना आउने हुन सक्छ । यस्ता समस्या भएका बालबालिका दैनिक कामकाज राम्रोसँग गर्न सक्दैनन् ।
त्यसैगरी, एडीएचडी भएका बालबालिका कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न सक्दैनन् । अरुले भनेका कुरा पालना गर्न नसक्ने वा चाँडै बोर मान्ने खालका हुन्छन् । डा. शर्मा भन्छन्, ‘एडीएचडी भएका बालबालिका अधिक इम्पल्सिभ वा हाइपर एक्टिभ हुन्छन् । केही काम गर्नुअघि सोच्दैनन् ।’
कसरी थाहा पाउने ?
मनोचिकित्सक डा. रिसब कोइरालाका अनुसार बालबालिकामा एन्जाइटी, डिप्रेसन बढी देखिन्छ । त्यसका साथै बानी–व्यवहारसम्बन्धी समस्या पनि देखिएका छन् । जसलाई फेज वा टेम्परामेन्ट भनिन्छ । समयमै पहिचान गरेर उपचार गरिएन भने बच्चा ठूलो भइसकेपछि ‘डिसअर्डर’ हुने उनी बताउँछन् । ‘आफ्ना नानीबाबुको व्यवहारमा परिवर्तन देखिएमा बेवास्ता गर्नुहुँदैन,’ उनी भन्छन्, ‘पढाइमा मन नलाग्ने, अनिद्रा, चिडचिडापन, रिसाउने, नरमाउने, केन्द्रित नहुने, घुलमिल हुन नखोज्ने, आफैलाई हानिनोक्सानी पुर्याउने जस्ता लक्षण देखिएमा तुरुन्तै विज्ञकहाँ लैजानुपर्छ ।
आफ्ना बालबालिकालाई मानसिक समस्याबाट बचाउन उनीहरूसँग कुरा गर्ने, बढीभन्दा बढी समय बिताउने प्रयास गर्नुपर्छ । घरमा राम्रो वातावरण दिने, कलह–झगडा नगर्ने, शारीरिक दण्डसजाय नदिने, नहोच्याउने, नराम्रो व्यवहार नगर्ने, उनीहरूलाई पनि सम्मान गर्ने, आत्मसम्मान बढाइदिने, शारीरिक गतिविधिमा संलग्न गराइदिने, मेडिटेसनको बानीको विकास गरिदिनुपर्ने उनी बताउँछन् ।
त्यसो त पोषणले पनि मानसिक स्वास्थ्यमा प्रभाव पार्छ । ‘विभिन्न अध्ययन–अनुसन्धानले पनि यो पुष्टि गरिसकेका छन् । धेरैलाई गलत खानपिनले शारीरिक स्वास्थ्यमा मात्र प्रभाव पार्छ भन्ने बुझाइ छ,’ पोषणविद् डा. अरुणा उप्रेती भन्छिन्, 'मस्तिष्कले पेटलाई नियन्त्रण गर्छ । पेटमा गडबडी भयो भने मस्तिष्कमा असर पार्छ । बालबालिकालाई जंकफुड होइन घरमै बनाएको पोषणयुक्त खानेकुरा नै खुवाउनुपर्छ ।’
