तपाईं केही काम पूरा नगरी बीचमै छोड्न सक्नुहुन्छ वा अन्तिम समयमा मात्र गर्न सक्नुहुन्छ भने यी ‘प्रोक्रास्टिनेसन’का लक्षण हुन् ।
What you should know
काठमाडौँ — महत्वपूर्ण कामलाई पछि सारेर कम महत्त्वको काम गर्नु ‘प्रोक्रास्टिनेसन’ अर्थात् काम टार्ने बानी हो । अधिकांश व्यक्तिलाई यो बानी देखिन सक्छ । कसैलाई यस्तो बानी अत्यधिक देखिएमा यसलाई ‘क्रोनिक प्रोक्रास्टिनेसन’ भनिन्छ ।
कहिलेकाहीँ काम टार्ने बानी सामान्य भए पनि कहिलेकाहीँ यसले झर्को लाग्ने, चिन्ता जस्ता भावना ल्याउन सक्छ । तपाईंले केही काम सुरु गर्न ढिला गर्न सक्नुहुन्छ, पूरा नगरी बीचमै छोड्न सक्नुहुन्छ वा अन्तिम समयमा मात्र गर्न सक्नुहुन्छ भने यी ‘प्रोक्रास्टिनेसन’का लक्षण हुन् ।
कहिलेकाहीँ आफूले काम टारिरहेको आफैलाई महसुस नहुन सक्छ । मोबाइल स्क्रोल गर्दागर्दै एक घण्टा बितेको थाहा नपाइन सक्छ ।
काम टार्ने बानी हुनुको अर्थ कुनै कमजोरी, अल्छी भएको वा समय व्यवस्थापन गर्न नसकेको होइन । विज्ञहरुका अनुसार यसरी सोच्दा मानिसहरुलाई अझ नराम्रो महसुस हुन सक्छ र वास्तविक कारणहरू बुझ्नबाट पन्छिइन्छ ।
भावना व्यवस्थापन : काम टार्नु कहिलेकाहीँ भावना व्यवस्थापन गर्ने तरिका हुन सक्छ । विभिन्न अनुसन्धानअनुसार मानिसहरुले त्यस्ता काम टार्छन्, जुन गर्न मन लाग्दैन वा अल्छी लाग्छ, झन्झटिलो लाग्छ या जसले हामीलाई पीडा दिन्छ । मानिसहरु त्यस्ता काम टार्छन्, जसले तनाव दिन्छ वा पीडादायक भावना ल्याउँछ ।
असफलताको डर : कोही व्यक्ति गल्ती गर्नै नचाहने स्वभावका हुन्छन् । त्यस्ता व्यक्तिका लागि सबै काममा पूर्णता प्राप्त गर्नुपर्ने बानी हुन्छ । कुनै व्यक्ति यही कारण काम टार्न सक्छन् । जब असफल हुने डर या गल्ती गर्ने डर धेरै हुन्छ, तब ‘सही हुनुपर्छ’ भन्ने दबाबले हामीलाई काम सुरु गर्नबाट रोक्छ ।
आत्मविश्वासको कमी : आफ्नो क्षमताप्रति कम आत्मविश्वास हुने मानिसमा काम टार्ने बानी हुन्छ । आफूप्रति नकारात्मक सोच र कम आत्मविश्वासले काम सुरु गर्न बाट रोक्छ ।
काममा पर्याप्त ध्यान नहुनु : कामबाट ध्यान भट्किनु पनि प्रोक्रास्टिनेसनको एउटा कारण हुन सक्छ । धेरैजसो मानिस मोबाइलले गर्दा ध्यान दिन सकिरहेका हुँदैनन् । मोबाइलका नोटिफिकेसनले हाम्रो ध्यान तान्ने गर्छन् । तर सजिलै ध्यान भट्किनु पनि काम टार्नुको कारण बनिरहेको हुन्छ ।
केही मानिसका लागि काम पूरा गर्न गाह्रो हुनु कुनै गहिरो समस्याको संकेत हुन सक्छ । जस्तै ‘एटेन्सन डिफिसिट हाइपर एक्टिभ डिसर्डर’ जस्ता समस्या जसमा ध्यान दिन नसक्ने र अस्थिर स्वभाव हुने जस्ता संकेत हुन्छन् ।
यदि कोही व्यक्तिलाई काम टार्ने बानीले दैनिक जीवनमा असर पारिरहेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।
काम टार्ने बानीको कारण बुझ्ने : यसको वास्तविक कारण थाहा पाएपछि मात्रै न्यूनीकरण गर्न सकिन्छ । यो बुझ्नु काम टार्ने बानीबाट मुक्त हुने पहिलो कदम हो । के तपाईं गल्ती गर्न डराउनुहुन्छ ? तपाईंको गर्ने कामको सूची असम्भव छ ? वा तपाईंलाई अन्तिम समयसम्म काम गर्न मन पर्छ ? यीनै कारण बुझेर यसको समाधान खोज्न सकिन्छ ।
प्राथमिकता छुट्याएर काम गर्ने : आफ्नो कामको सूचीअनुसार सबैभन्दा जरुरी वा महत्त्वपूर्ण काम छुट्याएर काम गनुपर्छ । काम पूरा गर्न पर्याप्त समय छ कि छैन ? त्यहीअनुसार कामलाई साना भागमा बाँड्नुहोस् र नियमित विश्राम लिँदै काम गर्नुहोस् जसले तपाईंलाई तनाव हुन दिँदैन ।
ध्यान भट्काउने कुराबाट बच्ने : आफ्नो फोनलाई ‘डु नट डिस्ट्रब’ मोडमा राख्नुहोस् । ध्यान भट्काउने अन्य कारण जस्तै: वरिपरिका मानिसलाई केही समयका लागि महत्वपूर्ण काम गरिरहेको जानकारी दिनुहोस् ।
आफूलाई ‘रिवार्ड’ दिँदै काम गर्ने : कुनै गाह्रो काम सम्पन्न गरेपछि आफूलाई मन पर्ने काम गर्नाले काममा सन्तुलन ल्याउन सकिन्छ । अल्छी लाग्ने काम र रमाइलो लाग्ने कामको सन्तुलन मिलाउनुपर्छ । यसरी काम पूरा गर्न सजिलो हुन्छ र मनोबल बढ्छ । (स्क्रोल डटइनमा प्रकाशित लेखका आधारमा)
