यी खराब बानी, जसले कलेजोलाई हानि पुर्‍याउँछन्

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

These bad habits, which damage the liver

काठमाडौँ — कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो र महत्वपूर्ण अंग हो । यो लगभग डेढ केजीको हुन्छ । हाम्रो शरीरमा कलेजोको ५ सयभन्दा बढी काम हुन्छ । कलेजोको सबैभन्दा महत्वपूर्ण काम भनेको मेटाबोलिजम अर्थात् शरीरले खानेकुरालाई ऊर्जा र आवश्यक तत्वमा रुपान्तरण गर्ने प्रक्रियामा सहयोग गर्नु हो । 

शरीरमा ग्लुकोज, प्रोटिन, कार्बोहाइड्रेट मेटाबोलिजम हुनुपर्छ । हामीले खाएका सबै कुरालाई स्टोर गर्ने र ऊर्जामा परिवर्तन गर्ने काम कलेजोले गर्छ । त्यस्तै कलेजोले शरीरमा भएको ‘टक्सिन’ अर्थात विषाक्त पदार्थलाई हटाउने काम गर्छ । कलेजोले सही तरिकाले काम गरेन भने शरीरमा मेटाबोलिजम हुँदैन । 

विज्ञहरुका अनुसार नेपालमा अहिले कलेजो रोग बढ्दै गएको छ । कुल जनसंख्याको ५० प्रतिशतमा कलेजो सम्बन्धि केही न केही समस्या देखिएको छ । 

कलेजो रोग विशेषज्ञ डा  पुकार थापाका अनुसार सबैभन्दा धेरै कलेजोको रोग मादक पदार्थ सेवनले गर्दा भएको छ । त्यस्तै अहिले ‘नन–एल्कोहोलिक फ्याटी लिभर’ भनेर कलेजोमा बोसो जम्ने समस्या पनि बढेको छ । त्यस्तै भाइरल हेपाटाइटिसहरु पनि छन् । 

हाम्रा केही बानीकै कारण कलेजोमा खराबी आउँछ । के हुन् त्यस्ता खराब बानी । चर्चा गरौं :

नियमित रक्सी सेवन 

रक्सी कलेजोको लागि निकै नराम्रो टक्सिन हो । कलेजोले रक्सीलाई मेटाबोलाइज गर्न नसकेको परिस्थितिमा अझ नराम्रा केमिकल उत्पादन हुन्छन् । त्यसले कलेजो बिगार्छ । पहिलो केही वर्ष त्यसको प्रत्यक्ष असर नदेखिए पनि पछिपछिको स्टेजमा त्यसको असर देखिन्छ । त्यो चाहिँ भयानक हुन सक्छ । त्यही भएर पहिलो स्टेजमै रक्सी धेरै खान नहुने चिकित्सक सल्लाह दिन्छन् ।

चिल्लो र ‘जंकफुड’

ननअल्कोहोलिक फ्याटी लिभर हुनुको कारण नै चिल्लो र जंक खानेकुरा खानु हो । यो समस्या धेरै बढिरहेको छ । हामीले पश्चिमी समाजतिर हेर्ने हो भने सबैभन्दा बढी कलेजो रोग जंकफुड, चिल्ला खानेकुरा, मोटोपनले गर्दा पाइएको छ । नेपालमा पनि जंकफुड खाने ट्रेन्ड बढ्दै गएकाले कलेजोमा धेरै समस्या देखापरेको छ ।

पर्याप्त व्यायाम नगर्नु 

कलेजो स्वास्थ्यका लागि दैनिक व्यायाम राम्रो कुरा हो । दैनिक व्यायामले कलेजोमा बोसो जम्ने समस्या कम हुन्छ । दौडिने खालका व्यायाम मात्र नभई अन्य खालका व्यायाम गर्नुपर्छ । कम्तीमा पसिना आउन्जेल ४५ मिनेट व्यायाम गर्नुपर्छ । 

व्यायाम सही भए/नभएको थाहा पाउन ‘टक टेस्ट’ गर्नुपर्छ । टक टेस्ट भनेको व्यायाम गरेको समयमा पूरा एक वाक्य बोल्न सकिएन भने त्यो सही व्यायाम भइरहेको छ भन्ने बुझ्नुपर्छ ।

ढिला सुताइ र तनाव

तनाव र अनिद्राले कलेजो मात्रै होइन शरीरलाई नै असर गर्छ । कलेजो आफै पलाउँछ तर कलेजोलाई फेरिफेरि पलाउन भने समय दिनुपर्छ । त्यो आरामको समयमा हुन्छ । त्यही भएर कम्तीमा आठ घण्टाको निद्रा शरीरलाई अत्यन्तै जरुरी पर्छ । ढिला सुत्ने, तनाव लिने गर्दा त्यसले पनि अप्रत्यक्ष रुपमा कलेजोलाई असर पुर्‍याउन सक्छ । 

नियमित जाँच नगर्नु

कलेजोसम्बन्धी रोगको धेरै संकेत/लक्षण हुँदैन । पहिलो स्टेजमा केही पनि लक्षण नदेखिने सम्भावना धेरै हुन्छ । जब लक्षण देखिन्छ, त्यतिबेला धेरै ढिलो भइसकेको हुन सक्ने सम्भावना धेरै हुन्छ । माथिल्लो चरणमा पुगेपछि मात्र कलेजो बिग्रिएको थाहा हुन्छ । त्यसैले कलेजोको नियमित जाँच गर्न आवश्यक छ । स्क्रिनिङ टेस्ट नियमित गर्‍यो भने कलेजोको रोग हुन पत्ता लाग्न सक्छ । 

कोही व्यक्तिले अत्यधिक रुपमा मदिरा सेवन गर्छ, परिवारमा कलेजो क्यान्सरको हिस्ट्री छ, परिवारमा वा आफैलाई पनि डाइबिटिज, हाइपरटेन्सन छ भने समय-समयमा कलेजो जाँच गर्नुपर्छ । वर्षमा एकपटक कलेजो जाँच गर्न अत्यन्तै जरुरी हुन्छ । त्यस्तै पहिल्यै कलेजोको समस्या भएका व्यक्तिले डाक्टरको परामर्शअनुसार जाँच गर्नैपर्छ ।

कान्तिपुर

Link copied successfully