बालबालिकालाई के कारण ग्यास्ट्राइटिस हुन्छ ?

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

What causes gastritis in children?

काठमाडौँ — खाना र पानी दुवैका माध्यमबाट सर्ने अन्य ब्याक्टेरिया र भाइरसले पनि बालबालिकालाई ग्यास्ट्राइटिस हुन्छ । त्यसबाहेक मोटोपना (ओबिसिटी) का कारण पनि पेटको एसिड खाना नलीमा जाने हुँदा एसिडिटी बढ्न सक्छ ।

बालबालिकालाई के कारण ग्यास्ट्राइटिस हुन्छ ?

दूषित खाना र पानीको माध्यमबाट हेलिकोब्याक्टेरिया पाइलरी (अर्थात् एच पाइलरी) भन्ने ब्याक्टेरिया सर्छ, यसैको कारण बालबालिकामा ग्यास्ट्राइटिस हुन्छ । धेरै चिल्लो, पिरो, अमिलो, बोसो र चिनीलगायतका एडिक्टिभ तत्व भएकाले जंकफुडका कारण पनि यो समस्या आउन सक्छ ।

यसमा खानाको मात्रै भूमिका हुन्छ वा अन्य कारणले पनि समस्या निम्त्याउँछ ?

खाना र पानी दुवैका माध्यमबाट सर्ने अन्य ब्याक्टेरिया र भाइरसले पनि बालबालिकालाई ग्यास्ट्राइटिस हुन्छ । त्यसबाहेक मोटोपना (ओबिसिटी) का कारण पनि पेटको एसिड खाना नलीमा जाने हुँदा एसिडिटी बढ्न सक्छ । दुखाइ कम गर्ने औषधिको बढी प्रयोग, खानाको एलर्जीका साथै शारीरिक स्ट्रेस तथा तारन्तार बिरामी भइरहँदा पनि पेटमा एसिड फरमेसन हुन्छ ।

यसका लागि के–कस्ता सावधानी अपनाउनुपर्छ ?

कार्बोहाइड्रेड, प्रोटिन, फ्याट, भिटामिन र मिनरल्सयुक्त सन्तुलित आहारमा ध्यान दिनुपर्छ । मिसाएका गेडागुडी, तरकारी, हरियो सागपात, फलफूल, अण्डा, दूध, माछा–मासु सबै ठिक्क मात्रामा खानुपर्छ । खानामा रुचि छैन भन्दैमा बालबालिकालाई दूध मात्रै धेरै खान दिनुहुँदैन । अमिलो–पिरो, भुटेको–तारेको, नपाकेका खाना तथा जंकफुड, धेरै गुलिया पदार्थ, रङ मिसाइएका, खुल्ला ठाउँमा राखिएका र क्याफिनयुक्त खानेकुरा खाना बालबालिकालाई दिनु हुँदैन ।

क्रोनिक ग्यास भइसकेको छ भने उपचारविधि के हुनसक्छ ?

यदि एच पाइलरी ब्याक्टेरियाका कारण ग्यास्ट्राइटिस भएको हो भने एन्टिब्याक्टेरिया तथा एसिड कम गर्ने औषधि नै चलाउनुपर्छ । अन्य कारणले हो भने एकैपटकमा धेरै खाना नखुवाउने, दिनभरिमा थोरै–थोरै स्वच्छ खाना दिने, मोटोपन हुन नदिन व्यायाम गराउने, पिरो–अमिलो, तैलीय खानाबाट टाढा रहने, स्क्रिन (मोबाइल, टिभी, ल्यापटप, आइप्याड) टाइम घटाउने, बालबालिकालाई मोबाइल देखाएर खाना नखुवाउने तथा विज्ञसँगको परामर्श पनि निरन्तर फलोअपमा बस्ने गर्नुपर्छ ।

एसिडिटी हुनै नदिन कस्तो रुटिन फलो गर्नुपर्ला ?

खाना खानुअघि राम्ररी साबुन वा डिटोल पानीले हात धुन लगाउनुपर्छ । फिल्टर गरेको वा उमालेको सफा पानी मात्रै पिउन दिनुपर्छ । अमिलो–पिरो, चिल्लो कम भएकोख्वाउनुपर्छ भने स्वस्थ र पोषणयुक्त खानाको डाइट चार्ट पनि तयार पार्न सकिन्छ । यसमा हप्ताभरि कुन समयमा कुन खाना कति बेला खाने भनेर राख्न सकिन्छ । बालबालिकाहरू पानी पिउन त्यति रुचाउँदैनन्, उनीहरूको शरीरलाई हाइड्रेड बनाइराख्न प्रशस्त पानीको मात्रा आवश्यक हुने भएकाले समय–समयमा पानी पिलाइरहनुपर्छ ।नारीबाट

(बालबालिकाको पेट, कलेजो र पोषणविज्ञ डा. विनीता गुरुवाचार्यसँग गरिएको कुराकानीमा आधरित)

कान्तिपुर

Link copied successfully