पुरुषमा देखिने प्रोस्टेट क्यान्सर के हो? यी हुन् बच्ने उपाय

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

What is prostate cancer in men? These are the ways to avoid it

काठमाडौँ — प्रोस्टेट क्यान्सर पुरुषको प्रोस्टेट ग्रन्थीमा हुने क्यान्सर हो । जो मुत्राशयको तल र मलाशयको अगाडि हुन्छ । यो ग्रन्थीले वीर्यको निर्माण गर्छ । जब प्रोस्टेटमा असामान्य रुपमा कोशिकाहरु बढ्न थाल्छन् तब यो क्यान्सर सुरु हुन्छ ।

सुरुवातमा यो रोगका कुनै लक्षण देखिँदैनन् । तर विस्तारै बढ्दै जाँदा उपचारका लागि समस्या बन्दै जान्छ । बढ्दै जाँदा पिसाबमा रोकावट, रगत बग्ने, पीडा र यौन समस्याहरु देखा पर्न थाल्छन् । प्रोस्टेट क्यान्सर अमेरिकाका पुरुषमा सबैभन्दा धेरै देखिने क्यान्सरमध्ये एक हो । 

के ठीक हुन सक्छ प्रोस्टेट क्यान्सर ?

चिकित्सकका अनुसार प्रोस्टेट क्यान्सर छिट्टै पत्ता लगाउन निकै जरुरी हुन्छ । यदि समय हुँदै क्यान्सर डिटेक्ट भयो भने यसको पूर्ण उपचार सम्भव हुन्छ । 

जसको परिवारमा क्यान्सरको वंशाणुत इतिहास हुन्छ त्यस्ता परिवारका पुरुष र ५० वर्षको उमेर माथिका पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा बढी हुन्छ । डिजिटल रेक्टल जाँच र पीएसए रक्त परीक्षणबाट पनि प्रोस्टेट क्यान्सर पत्ता लगाउन सकिन्छ । 

कसरी हुन्छ उपचार ?

प्रोस्टेट क्यान्सरको उपचार कयौं तरिकाले गर्न सकिन्छ । यसमा बिरामीलाई नियमित निगरानी, सर्जरी, रेडियोथेरापी, हार्मोन थेरापी या किमोथेरापी पनि गरिन्छ । यसको उपचारको सम्भावना प्रोस्टेट क्यान्सरको स्टेजमा निर्भर हुन्छ । जति छिटो रोग पत्ता लाग्यो उति नै छिटो ठीक हुने सम्भावना बढ्छ । 

बच्ने उपाय

यो क्यान्सरबाट बच्नका लागि फलफूल, सागसब्जी, फाइबरयुक्त भोजन सेवन गर्नुपर्छ । टमाटर, हरियो साग, ब्रोकाउली यो समस्याबाट बच्नका लागि उपयोगी हुनसक्छन् । यसका साथै रातो मासु र हाई फ्याट डेरी प्रोडक्ट्सको सेवन कम गर्नुपर्छ । 

तौल नियन्त्रण

आफ्नो वजनलाई नियन्त्रण गर्नुहोस् । दैनिक कम्तिमा २० मिनेटसम्म पैदल हिँड्नुहोस् । पसिना बगाउनका लागि जीम जान पनि सकिन्छ । मैदानमा हुने कुनै पनि खेलकुदसँग जोडिनुहोस् । प्रतिदिन केही समय योग र ध्यान पनि गर्नुहोस् । मोटोपनले प्रोस्टेट क्यान्सरको जोखिम बढाउन सक्छ । यसकारण आफ्नो तोल नियन्त्रणमा राख्नुहोस् । 

यी भिटामिन कम हुन नदिनुहोस् 

चिकित्सकका अनुसार आफ्नो शरीरमा भिटामिन डी र ई को कमी हुन नदिनुहोस् । यदि यी भिटामिनको कमी देखियो भने चिकित्सकसँग सम्पर्क गरी आहारमा परिवर्तन गर्नुहोस् । 

धुम्रपान र मद्यपानबाट टाढा रहनुहोस्

बिँडी, चुरोट, गुट्काको सेवन क्यान्सरको सबैभन्दा ठूलो स्रोत मानिन्छ । यसकारण तपाईं क्यान्सरबाट बच्न चाहनुहुन्छ भने धुम्रपान तत्काल छाडिदिनुहोस् । साथै मदिराबाट पनि तत्कालै दूरी बढाउनुहोस् ।

मदिराले फोक्सोलाई गलाउँछ र मिर्गौला र कलेजोलाई पनि खराब गर्छ । जसकारण मानिसको छिटो मृत्यु हुने सम्भावना बढेर आउँछ । 

नियमित स्वास्थ्य जाँच

जो पुरुषको उमेर ५० भन्दा माथि भइसकेको छ, उनीहरुका लागि नियमित रुपमा आफ्नो प्रोस्टेट स्क्रिनिङ गर्न आवश्यक छ । यसका साथै जसको परिवारमा क्यान्सको इतिहास हुन्छ उनीहरुका लागि पनि ४० देखि ५० वर्षको उमेरमा नियमित स्वास्थ्य जाँच गराउन आवश्यक हुन्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully