कहिलेकाहीँ रिस उठ्नु स्वाभाविक हो, तर ससाना कुरामा पनि रिस उठ्छ भने त्यो सामान्य होइन
काठमाडौँ — रिस मानव भावनाको स्वाभाविक हिस्सा हो, तर जब रिस अनियन्त्रित हुन्छ, यसले हाम्रो मानसिक शान्ति, सम्बन्ध र स्वास्थ्यमा नकारात्मक असर पार्छ । रिस उठ्ने मुख्य कारणमध्ये एक हो, अपेक्षा र वास्तविकताबीचको अन्तर । जब हामीले सोचेको कुरा पूरा हुँदैन, रिस स्वतः उठ्छ ।
मनोपरामर्शदाता डा. आरती रेग्मीका अनुसार मानिसको स्वाभावअनुसार रिस उठ्ने कारण पनि फरक-फरक हुन्छ । उनी भन्छिन्, ‘एउटै कुराले पनि कसैलाई रिस उठ्छ कसैलाई उठ्दैन । साइकोलोजीअनुसार ९० सेकेन्डसम्म त्यही इमोसन बसिरहन्छ ।’
तनाव, थकान, र आत्मविश्वासको कमीले पनि रिसको स्तर बढाउँछ । साथै, सामाजिक सञ्जाल र आधुनिक जीवनशैलीले हामीलाई धैर्यहीन बनाएको छ, जसले साना कुरामा पनि रिस उठ्ने उनी बताउँछिन् ।
कहिलेकाहीँ रिस उठ्नु स्वाभाविक हो, तर ससानो कुरामा पनि रिस उठ्छ भने त्यो सामान्य होइन । ‘रिस उठ्ने कारणमध्ये खानपान, निद्रा, शारीरिक अवस्था कस्तो छ, मेटाबोलिजमले कसरी काम गरिरहेको छ आदि कुरा हुन्,’ डा. रेग्मी भन्छिन्, ‘रिसलाई व्यवस्थापन गर्न काउन्सिलिङको आवश्यकता पर्छ । जसले गर्दा के कारणले रिस उठ्छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।’
उनका अनुसार रिस नियन्त्रण गर्न आफू कहाँ छु र के गर्दै छु भन्ने थाहा पाउनुपर्छ । किनभने कतिलाई रिस उठेको बेला अनियन्त्रित हुन्छन् । त्यसपछि गहिरो सास लिने र मनलाई शान्त पार्ने अभ्यास गर्नुपर्छ । रिस उठ्दा तुरुन्त प्रतिक्रिया दिनुको सट्टा १० सेकेन्ड गन्नुपर्छ । रिसलाई शान्त पार्नका लागि चिसो पानीले मुख धुनुपर्छ । योग, ध्यान र शारीरिक व्यायामले पनि मानसिक तनाव कम गर्छ । अर्को महत्त्वपूर्ण कुरा, आफ्नो अपेक्षालाई यथार्थपरक बनाउनुपर्छ । सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन भन्ने स्वीकार गर्न सिक्नुपर्छ ।
रिसलाई पूर्ण रूपमा हटाउन सम्भव नहोला, तर यसलाई व्यवस्थापन गर्न सकिन्छ। रिसले हामीलाई होइन, हामीले रिसलाई नियन्त्रण गर्नुपर्छ। सकारात्मक सोच, धैर्य, र आत्म–जागरूकताले रिसलाई कम गर्न सकिन्छ। यदि रिसले जीवनलाई कठिन बनाइरहेको छ भने, मनोविमर्श वा परामर्श लिनु पनि उत्तम विकल्प हुन सक्छ। आखिर, शान्त मनले नै सुखी जीवन बन्छ ।
