फिल्टरले सौन्दर्यको मापदण्ड तय गर्ने गरेको छ, वास्तवमा कसैको छाला ‘पर्फेक्ट’ हुँदैन
काठमाडौँ — हामी अहिले यस्तो युगमा छौं, जहाँ सौन्दर्यलाई प्रायः फिल्टरहरूले निर्धारण गर्छन् । चम्किलो, सफा छाला केवल एक क्लिकमा पाइन्छ । छालाका सबै समस्या एकै क्लिकमा हराउँछन् । तर यस्तो ‘पर्फेक्ट’ फोटोको पछि कैयौं यथार्थ लुकेका हुन्छन्, जुन धेरैजसोले बेवास्ता गर्छन् ।
एडिट गरिएका फोटो हेर्ने बानीले हामीलाई हाम्रो छाला ‘पर्फेक्ट’ हुँदैन, छालामा दाग हुन्छ, सबैको अनुहारको बनोट एउटै हुँदैन भन्ने कुरा बिर्साउँछ । फिल्टर प्रयोग गरिएका अनुहारसाग बारम्बार आफूलाई तुलना गर्दा हामीले अरूलाई हेर्ने तरिका मात्र होइन, आफैंलाई हेर्ने तरिका पनि बदलिन्छ ।
‘पर्फेक्ट’ छाला खोज्ने क्रममा धेरैजना उपचारतर्फ लाग्छन् । तर आफ्नो छालाको वास्तविक ख्याल राख्न भने बिर्सन्छन् ।
‘एस्थेटिक औरा स्किन एन्ड हेयर क्लिनिक’की संस्थापक तथा छाला रोग विशेषज्ञ डा. ईशा पौडेल कोइरालाका अनुसार स्किनकेयर गर्नु र आफ्नो प्राकृतिक रुपलाई स्वीकार गर्नु उत्तिकै महत्वपूर्ण हुन्छ ।
स्किनकेयर भन्नाले छालाको स्वाभाविक बनावट र गुणस्तर जोगाउनु हो । यसमा सूर्यका हानिकारक किरणबाट बच्न सनस्क्रिनको प्रयोगजस्ता छालाको सुरक्षा गर्ने उपाय पर्छन् । त्यस्तै डन्डिफोर, दागधब्बा वा छालाका रेसासँग सम्बन्धित समस्यालाई वैज्ञानिक आधारमा समाधान गर्नु पनि यसैमा पर्छ ।
सामाजिक सञ्जालले दिएको सौन्दर्य प्रभाव र स्वस्थ छालाको हेरचाहबीच केही फरक भएको कोइराला बताउँछिन् । डिजिटल संसारको बनावटी सौन्दर्यबीच छालासम्बन्धी असुरक्षाहरू कसरी सामना गर्ने भन्ने बारे पनि उनी सुझाव दिन्छिन् । भन्छिन्, ‘सामाजिक सञ्जालका फिल्टरले बनाएको ‘पर्फेक्ट’ छालाको खोजीले मानिसलाई अत्यधिक उपचार र धेरै प्रकारका उत्पादनको प्रयोगतर्फ उक्साउँछ । यस्तो सोचले छालाको दीर्घकालीन स्वास्थ्यमा नोक्सान पुर्याउन सक्छ ।’
फिल्टरले सौन्दर्यको मापदण्ड तय गर्ने गरेको छ । वास्तवमा कसैको छाला ‘पर्फेक्ट’ हुँदैन ।
फिल्टरको अत्यधिक प्रयोगले विशेषगरी युवामाथि मनोवैज्ञानिक असर पार्न सक्छ । फिल्टर हेर्दा सामान्य लागे पनि यसको अत्यधिक प्रयोगले सौन्दर्यप्रति हाम्रो सोचलाई गहिरो रूपमा प्रभावित पार्न सक्ने कोइरालाको तर्क छ । युवाहरू यस्तो कुरामा अझै बढी संवेदनशील हुनुपर्ने उनी बताउँछिन् । फिल्टरले निर्माण गर्ने छालाका विशेषता विशेषगरी युवा लाई सामान्य लाग्न सक्छ ।
कतिपयले त आफैलाई नचिनिने खालका फिल्टर प्रयोग गर्ने गरेका कारण फिल्टरबिना आफूलाई ऐनामा हेर्न असहज महसुस गरेको समेत बताउने गरेका छन् ।
कतिपय अवस्थामा यस्तो सोचले ‘सेल्फी डिस्मोर्फिया’ वा ‘बडी डिस्मोर्फिक डिसर्डर (बीडीडी)’ को रुप लिन सक्ने विज्ञहरु बताउँछन् । यस्तो स्थितिमा मानिसहरु आफ्नो कमजोरीप्रति अत्यधिक चिन्तित हुन्छन् ।
‘छाला चिल्लो देखाउने, अनुहारको बनावट परिवर्तन गर्नेजस्ता कुराले मानिसको आत्ममूल्यांकन र सौन्दर्यप्रतिको दृष्टिकोण नै बिगार्न सक्छ,’ कोइराला भन्छिन्, ‘युवाहरू अझै आफ्नो पहिचान बनाउने चरणमा हुन्छन्, त्यसैले उनीहरूले यस्तो कृत्रिम सौन्दर्यलाई नै सत्य मानेर आत्मसात गर्न सक्छन्, जुन दीर्घकालीन रूपमा खतरनाक हुन्छ ।’
धेरैजसो मानिस ‘पर्फेक्ट स्किन’का लागि भारी उपचार वा अस्वाभाविक रुटिनमा लाग्ने गरेको छाला रोग विशेषज्ञहरुको निचोड छ ।
पर्फेक्ट स्किन खोज्ने क्रममा अत्यधिक उपचार वा अव्यावहारिक रुटिन अपनाउँदा दीर्घकालीन रूपमा असर पर्छ । जस्तै: मानिसहरु सफा छालाका लागि ‘स्ट्रोङ एसिड’को प्रयोग गर्छन् । कतिले ‘लेजर’, ‘माइक्रोनिडलिङ’ र बारम्बार इन्जेक्सन प्रयोग गर्छन्, जसले दीर्घकालीन रूपमा छालामा गम्भीर समस्या निम्त्याउने चिकित्सकहरुको भनाइ छ । समयसँगै यस्तो व्यवहारले छाला सुन्निने, छाला धेरै संवेदनशील हुने, एलर्जी/जलन हुने, दाग बस्ने, छाला पातलो हुने जस्ता समस्या निम्त्याउँछ । यस्ता उपचारले छालाको प्राकृतिक प्रतिरोध क्षमता नै घट्न सक्छ । स्वस्थ छालामा आफ्नो सुरक्षात्मक प्रणाली हुन्छ । तर बारम्बार गरिएको ‘ट्रिटमेन्ट’ले यसलाई कमजोर बनाउँछ ।
त्यसैकारण छाला, सूर्यको किरण, धूलो, प्रदूषण वा अन्य एलर्जी गराउने तत्वसँग सजिलै प्रभावित हुन थाल्छ ।
त्यसैले विज्ञहरु सुझाउँछन्–
– सजिलो र नियमित गर्न सकिने स्किनकेयर रुटिन अपनाउनुहोस् । रुटिनमा छालाको सुरक्षा गर्ने कुराहरु जस्तै: सनस्क्रिनको प्रयोग अनिवार्य राख्नुहोस् ।
– स्वस्थ, उज्यालो छाला पाउने लक्ष्य पूरा हुन सक्छ, तर ‘पर्फेक्ट स्किन’ एक भ्रम मात्र हो ।
– सामाजिक सञ्जालका ट्रेन्डमा भर नपर्नुहोस् । विशेषज्ञको सल्लाह लिनुहोस् । छालासम्बन्धी चिन्ता सुरक्षित र प्रभावकारी तरिकाले समाधान गर्न छाला विशेषज्ञले सहयोग गर्न सक्छन् ।
– यदि एडिट गरिएका फोटो र भिडियोले तपाईंको आत्मसम्मानमा असर गरिरहेको छ भने त्यसमा समय बिताउन कम गर्नुहोस् ।
– आफूलाई माया गर्न सिक्नुहोस् । आत्मविश्वास आफूलाई माया गर्ने अभ्यासबाट पलाउँछ ।
