बेली फ्याट घटाउन के गर्ने ?

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

What to do to reduce belly fat?

काठमाडौँ — पेटको बोसो अर्थात् बेली फ्याटले धेरैलाई सताउने गरेको छ । यो केवल बाहिरी सौन्दर्यको समस्या मात्र नभई स्वास्थ्यका लागि पनि गम्भीर चुनौती हो ।

योग प्रशिक्षक निरु भट्टराईको अनुसार योगसँगै सन्तुलित आहार र नियमित शारीरिक गतिविधिबाट बेली फ्याट घटाउन सकिन्छ । तनाव व्यवस्थापन, पर्याप्त निन्द्रा र अस्वस्थ खानपानबाट टाढा रहनु पनि उत्तिकै महत्वपूर्ण हुने उनी जिकिर गर्छिन् ।

बेली फ्याटले उच्च रक्तचाप, मधुमेह, मुटु रोग, कलेजो, किड्नी र आन्द्रासम्बन्धी रोगको जोखिम बढाउँछ । तर, नियमित योगासन, स्वस्थ खानपान र जीवनशैलीमा सुधार ल्याएर यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ । बेली फ्याट घटाउन चाहनेहरूले आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर योग प्रशिक्षकको सल्लाहमा योग अभ्यास गर्नुपर्ने सुझाव दिन्छिन् । दीर्घकालीन रोग छ भने चिकित्सकको परामर्श लिनु उपयुक्त हुने उनी बताउँछिन् ।

बेली फ्याट कसरी बन्छ ? 
विशेषज्ञहरूका अनुसार अस्वस्थ खानपान, शारीरिक व्यायामको कमी, तनाव र स्वास्थ्य समस्याहरू बेली फ्याट बढ्ने मुख्य कारण हुन् । शरीरलाई आवश्यकभन्दा बढी क्यालोरी ग्रहण गर्दा यो बोसो पेट वरिपरि जम्न थाल्छ ।

स्वास्थ्य जोखिम
बेली फ्याटले पेट वरपरका अंगहरूलाई प्रभावित गर्छ । यसले दीर्घकालीन स्वास्थ्य समस्याहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मुटु रोग र क्यान्सरको जोखिम बढाउँछ । त्यसैले समयमै यो बोसो घटाउनु जरुरी छ ।

योगासनबाट बेली फ्याट घटाउन सकिन्छ ?
योग प्रशिक्षक भट्टराईको अनुसार नियमित योग र मुद्राले बेली फ्याट घटाउन प्रभावकारी भूमिका खेल्छ । कम्तीमा तीन महिना निरन्तर योग अभ्यासले देखिने परिणाम दिन्छ । डाइटिङ र जिमभन्दा योगलाई सुरक्षित र दीर्घकालीन उपाय मानिन्छ । तर, योगासन आफ्नो स्वास्थ्य अवस्थाअनुसार छनोट गर्नुपर्ने उनको भनाइ छ । उच्च रक्तचाप भएकाले अगाडि झुक्ने र कम रक्तचाप भएकाले पछाडि झुक्ने आसनबाट बच्नुपर्छ ।

बेली फ्याट घटाउने प्रभावकारी योगासन

उभिएर गरिने आसन : चारासन, कोणासन, ताडासन, त्रिकोणासन, पादहस्तासन । यी आसनहरूले शरीरको सम्पूर्ण भाग तन्किन्छ र बोसो घटाउन सहयोग गर्छ । चारासनमा दायााँ–बायाँ, अगाडि–पछाडि झुक्नुपर्छ । तर, ढाड वा कम्मरका बिरामीले यी आसन गर्नुहुँदैन ।

सुतेर गरिने आसन : यसमा मर्कटासन, तिर्यक भुजङासन, साइक्लिङ पर्छन् ।

अन्य उपयोगी आसनमा नौकासन, चतुरदण्डासन, वशिष्ठासन, पवनमुक्तासन, पार्श्वकोणासन, अष्टाङासन, पर्वतासन हुन् ।

योग गर्ने सही तरिका
योग गर्नुअघि जगिङ वा सूक्ष्म व्यायाम गरेर शरीर तताउनुपर्छ । प्रत्येक आसन १५ सेकेन्ड श्वास रोकेर र १५ सेकेन्ड श्वास छोडेर तीन–तीन पटक गर्नुपर्छ । बिस्तारै समय र दोहोर्‍याउने संख्या बढाउन सकिन्छ । शरीर तन्कााँदा श्वास लिने र खुम्च्याउँदा श्वास छोड्ने प्रक्रिया अपनाउनुपर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully