काठमाडौँ — रंग र उल्लासको पर्व होली हिन्दू धर्मावलम्बीहरुका लागि महत्त्वपूर्ण छ । फागु पूर्णिमाका दिन यसलाई विभिन्न रंगहरुको मिश्रण गरी बालकदेखि वयस्क र वृद्धसम्मले एकअर्कालाई लगाएर खुशी साटासाट गरी मनाउँछन् ।
तर अहिले बजारमा पाइने अनेक प्रकारका रंगहरु हाम्रो छालाको लागि हानिकारक हुनसक्छन् । पर्व मनाउँदै गर्दा छालाको सुरक्षा गर्न पनि उत्तिकै महत्त्वपूर्ण छ । अहिले बजारमा पाइने रंगहरुमा विभिन्न रसायन प्रयोग गरिन्छ: रातो रंगमा लेक अक्साइड, हरियो रंगमा कपर सल्फेट, पहेलो रंगमा क्रोमियम यौगिक प्रयोग गरिन्छ ।
जसले हाम्रो छालामा, आँखा र श्वासप्रश्वासमा धेरै असरहरु गरेको हुन्छ । सेन्सेटिभ स्किन हुनेहरुमा अझ रंगको प्रयोगले अनुहारमा एलर्जी हुने, पिम्पल आउने, अनुहार पोल्ने र रातो हुने, मुख सुनिने, आँखा फुल्ने, शास फेर्न गाह्रो हुने तथा छालासम्बन्धी विभिन्न समस्याहरु देखिन सक्छन् ।
बजारमा पाइने कृत्रिम रगंहरुले छालामा असर मात्र गर्दैनन्, लामो समय शरीरमा राख्दा रगतले सोस्दा मिर्गौला, कलेजो लगायत अन्य अंगलाईसमेत असर गर्छ ।
हामीले होलीमा हाम्रो छालाको सुरक्षा गर्न बजारमा पाइने रंगहरु प्रयोग नगरी प्राकृतिक रंगहरुको प्रयोग गर्नुपर्दछ । प्राकृतिक रंग विभिन्न फूलको रस, चुकन्दरको रस, बेसार, नीमको पातबाट बनेको हुन्छ, जसको प्रयोगले हाम्रो शरीर र स्वास्थ्यलाई कुनै पनि असर गर्दैन । छालामा लागेको रंग पनि सजिलै पखाल्न सकिन्छ । होलीमा कपाल र छाला जोगाउनु अति आवश्यक हुन्छ ।
यस्ता छन् रसायन मिश्रित रंगबाट जोगिने उपायहरु
–नरिवल वा ओलिव तेल छाला र कपालमा लगाउनुपर्छ, यसले रगंको असर कम हुन्छ ।
–रंग लगाएर धेरै समय घाममा बस्नु हुँदैन ।
–रंग नगएमा छालालाई असर हुनेगरी रगड्नु हुँदैन ।
–छालामा लागेको रंग धुँदा सफा पानीको प्रयोग गर्ने, सफा र नरम कपडाले पुछ्ने ।
– अनुहार र शरीरमा मोस्चराइजर र सन्स्क्रिनको प्रयोग गर्नुपर्छ ।
–बालबालिका र गर्भवती महिलाले होली खेल्दा बजारमा पाइने कृत्रिम रङ्को प्रयोग नगर्ने ।
–छाला र शरीरमा कुनै असर देखियो भने तत्काल चिकित्सकसँग परामर्श लिने ।
प्राध्यापक डा. सविना भट्टराईसँगको कुराकानीमा आधारित । डा भट्टराई Dermatologist हुन्
