मधुमेहले बढाउँदै छ दृष्टि समस्या, कसरी जोगिने ?

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Diabetes is increasing vision problems, how to avoid?

काठमाडौँ — मधुमेह रोग विश्वभर तीव्र गतिमा फैलिरहेको छ । विश्वको कुल जनसंख्यामध्ये १०.५ प्रतिशत अर्थात् २० देखि ७९ वर्ष उमेर समूहका व्यक्ति मधुमेहबाट प्रभावित छन् । तर, तीमध्ये करिब आधालाई आफूमा मधुमेह भएको जानकारी नै हुँदैन ।

मधुमेहले शरीरमा चिनीको मात्रा असन्तुलित बनाउँछ, जसका कारण मुटु, मिर्गौला, मस्तिष्क तथा आँखामा समेत गम्भीर असर पुर्‍याउँछ ।

‘टाइप टु’ मधुमेहमा उच्च जोखिम
अध्ययनअनुसार ‘टाइप वान’ मधुमेह भएका बिरामीमा आँखासम्बन्धी समस्या १५ देखि २० वर्षपछि देखिन्छ भने ‘टाइप टु’ मधुमेह भएका बिरामीमा यो समस्या १० वर्षमै सुरु हुन सक्छ । विशेषगरी ५५ देखि ६० वर्ष उमेरपछि यो जोखिम उच्च हुने गर्छ ।

मधुमेह र आँखामा पर्ने असर
अनियन्त्रित रक्तचिनी, उच्च रक्तचाप तथा कोलेस्टेरोलले आँखाको दृष्टिपटल (रेटिना) मा असर पार्छ । यसलाई ‘डाइबेटिक रेटिनोपेथी’ भनिन्छ । आँखाको पछाडि रहेको दृष्टिपर्दामा रक्तसञ्चार प्रभावित हुँदा दृष्टि कमजोर हुन जान्छ । यदि समयमै उपचार नगरे पर्दा उप्किन वा खुम्चिन सक्छ, जसका कारण जलबिन्दु (ग्लुकोमा) समेत हुन सक्छ ।

डाइबेटिक रेटिनोपेथीका चरण
यसलाई पाँच चरणमा वर्गीकरण गरिएको छ । सुरुवाती दुई चरणमा रक्तस्रावको सम्भावना कम हुन्छ, जसलाई ‘नन–प्रोलिफेरेटिभ’ अवस्था भनिन्छ । यसमा रक्तनली बांगोटिंगो हुने, सूजन आउने तथा सूक्ष्म रक्तस्राव देखिने गर्छ । तेस्रो र चौथो चरणमा दृष्टि गुम्ने खतरा बढ्छ । पाँचौं तथा अन्तिम चरणमा पर्दा च्यातिन, तानिन सक्छ, जसलाई ‘एड्भान्स प्रोलिफेरेटिभ डाइबेटिक रेटिनोपेथी’ भनिन्छ । यो अवस्थामा आँखाको दृष्टि पूरै गुम्न सक्छ ।Diabetes is increasing vision problems, how to avoid?

उपचार विधि
मधुमेहका कारण आँखामा असर परेपछि यसले स्थायी प्रभाव पार्न सक्छ । उपचारमा रोगको अवस्थाअनुसार विभिन्न विधिहरू अपनाइन्छन् ।

लेजर उपचार : सुरुवाती अवस्थामा विशेष प्रकारको लेजर प्रविधिबाट रक्तस्राव तथा सूजन नियन्त्रण गरिन्छ ।

एन्टी भीइएफजी इन्जेक्सन : दृष्टि क्षमतामा असर परेमा आाखामा विशेष प्रकारको सुई लगाइन्छ ।

भिट्रियोरेटिनल शल्यक्रिया : आँखाभित्र रगत जमेको वा पर्दा उप्किएको अवस्थामा शल्यक्रिया गरिन्छ । आवश्यक परेमा आँखाभित्रको पानी हटाएर ग्यास वा तेल राखिन्छ ।

सावधानी र रोकथाम
मधुमेह भएका व्यक्तिले खानपानमा ध्यान दिई नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । रक्तचिनीको मात्रा नियन्त्रण गर्न उचित जीवनशैली अपनाउनु आवश्यक छ । मधुमेह भएका व्यक्तिले वर्षमा कम्तीमा एकपटक आँखा परीक्षण गराइरहनुपर्छ। समयमै सचेत नभए दृष्टिविहीनताको जोखिम बढ्न सक्छ ।

- डा. संयम बजियमसँग गरिएको कुराकानीमा आधरित ।
उनी नेत्रधामको प्रबन्ध निर्देशक एवं मोतीविन्दु रेटिना विशेषज्ञ हुन् ।

कान्तिपुर

Link copied successfully