काठमाडौँ — सामान्यत: एक जना मानिसले आफ्नो जीवनकालमा कतिपटकसम्म रक्तदान गर्न सक्छ ? चिकित्सकहरुका अनुसार तीन महिनामा एकपटक रगत दिन सकिन्छ । तर, इमर्जेन्सीबाहेक अन्य अवस्थामा कमै मानिसले मात्रै वर्षमा दुईपटक रक्तदान गर्छन् ।
तर विश्वमा एक यस्ता व्यक्ति पनि थिए, जसले आफ्नो जीवनकालमा १ हजार १ सय ७३ पटक रक्तदान गरेका छन् ।
'म्यान अफ द गोल्डेन आर्म'का रुपमा परिचित अस्ट्रेलियाका जेम्स ह्यारिसनले पूरै जीवनकालमा सबैभन्दा धेरैपटक रक्तदान मात्र गरेनन्, २४ लाखभन्दा बढी बालबालिकाको ज्यानसमेत जोगाएका छन् ।
सबैभन्दा धेरैपटक रक्तदान गरेर सन् २००५ मै विश्व रेकर्ड बनाइसकेका ह्यारिसन अब यस दुनियाँमा छैनन् । गत फेब्रुअरी १७ मा ८८ वर्षको उमेरमा उनको निधन भयो । निधनपछि अस्ट्रेलियाको रेडक्रस ब्लड सर्भिसले श्रद्धाञ्चलि दिँदै ह्यारिसन लाखौं बालबालिकाका लागि ईश्वरको रुप भएको उल्लेख गरेको छ ।
यति धेरैपटक रक्तदान गर्नुका पछाडि कारण थियो, उनको शरीरमा रहेको एक दुर्लभ रोग एन्टीबडी ‘एन्टी डी’ । यसै एन्टीबडीको सहयोगमा उनले गर्भमा रहेका २४ लाखभन्दा बढी बालबालिकाको जीवन जोगाएका हुन् ।
के हो दुर्लभ एन्टीबडी ‘एन्टी डी’ ?
ह्यारिसनको रगतमा एउटा विशेष प्रकारको एन्टीबडी थियो । जसबाट जीवन बचाउने औषधि एन्टी डी तयार गरिन्छ । ब्लड सर्भिसका अनुसार एन्टी डी ती गर्भवती महिलालाई दिइन्छ, जसको रगतले गर्भमा रहेको शिशुलाई हानि गरिरहेको हुन्छ । यो रोगले रक्तअल्पत्ता, कलेजो सुन्निने र गर्भमा रहेको शिशुको मस्तिष्क घात अथवा मृत्यु नै निम्त्याउने गर्छ ।
हेमोलिटिक डिजिज अफ न्युबर्न (एचडीएन) भनिने यो रोग गर्भवतीलाई त्यतिबेला लाग्छ, जब महिलाको रगत रिसस–नेगेटिभ हुन्छ र गर्भमा रहेको शिशुको रगत रिसस पोजिटिभ हुन्छ ।
आफ्नो रगतमा भएको समस्याबारे जानकारी पाएपछि ह्यारिसनले १४ वर्षको उमेरमै रक्तदान गर्ने निर्णय गरेका थिए । तर उनले १८ वर्षको उमेरदेखि रक्तदान गर्न थाले ।
