समयमै ध्यान नदिए बालबालिकाको भविष्य नै जोखिममा पर्न सक्छ
काठमाडौँ — बाल्यावस्था र किशोरावस्था तीव्र विकासको चरण हो, जहाँ शारीरिक र मानसिक परिवर्तन आउँछन् । केही परिवर्तन प्राकृतिक हुन्छन् भने केही वातावरण, परिवार र समाजको प्रभावले देखिन्छन् ।
यो उमेरमा बालबालिका हाँसीखुसी रहने, रमाउने, खेल्ने, दौडने हुन्छन् । कुनै पनि नयाँ कुरा सिक्न आतुर हुन्छन् । तर मानसिक समस्याबाट गुज्रिएकाहरू घरबाट बाहिर निस्कन नमान्ने, पढ्न अल्छी गर्ने, असामाजिक हुने, आत्महत्याको प्रयास गर्ने खालका हुन्छन् ।
यी समस्यालाई समयमै समाधान गर्न सकिएन भने उनीहरू आफै मात्र होइन परिवारको भविष्य नै डामाडोल बन्न पुग्छ । बालबालिकाको मानसिक स्वास्थ्यलाई समयमै ध्यान नदिए उनीहरूको भविष्य नै जोखिममा पर्न सक्छ । अभिभावकले उनीहरूसँग समय बिताउने, हौसला दिने, दबाब कम गर्ने, पोषणयुक्त खाना खुवाउने र आवश्यक परेमा मनोवैज्ञानिक परामर्श लिने वातावरण बनाउनुपर्छ ।
मानसिक समस्या बढ्नुका कारण
मानसिक स्वास्थ्यविज्ञ डा. विश्वबन्धु शर्माका अनुसार अहिलेका बालबालिका विद्यालय र पढाइको तनावमा छन् । वरिपरिको माहोल, पारिवारिक सम्बन्ध, हिंसा, प्रविधिको अत्यधिक प्रयोग, यौनहिंसा जस्ता कारण मानसिक समस्या बढ्न सक्छ ।
खराब जीवनशैलीका कारण पनि मानसिक समस्या देखापर्ने गरेका छन् । तनावपूर्ण वातावरण, व्यस्त दिनचर्या, डिप्रेसन, एन्जाइटी जस्ता समस्या सामान्य बन्दै गएका छन् । अभिभावकले बालबालिकाको मानसिक अवस्था बुझेर सहयोग गर्नुपर्छ । केही बालबालिका अरूको तुलनामा मानसिक रूपमा कमजोर हुने हुँदा उनीहरू एक्लोपन महसुस गर्छन् ।
किन बढिरहेको छ ?
डा. शर्माका अनुसार अहिलेका बालबालिका सानै उमेरदेखि विद्यालय र पढाइका कारण तनावमा हुन्छन् । वरिपरिको माहोल, परिवारको उदासीनता, लडाइँ–झगडा, हिंसा देखिरहेकाले पछि गएर उनीहरूमा मानसिक रोग देखिन सक्ने उनी बताउँछन् ।
बालबालिकामा मानसिक समस्या बढ्नुमा परिवार, आमाबुवाको सम्बन्ध, साथीसंगीको सम्बन्ध, परिवारको अधिक दबाब, प्रविधिको बढी प्रयोग, यौनहिंसा आदि कारक हुन सक्छन् ।
खराब जीवनशैलीका कारण पनि बालबालिकामा मानसिक समस्या देखिन थालेको छ । व्यस्त जीवनशैली, तनावयुक्त माहोलको प्रभावले हरेक उमेरका व्यक्ति डिप्रेसन, एन्जाइटीको सिकार भइरहेका छन् ।बालबालिकामा मानसिक बिराम बढ्दै गएर गम्भीर समस्या बन्न सक्छ । त्यसैले अभिभावकले आफ्ना बालबालिकाको मानसिक स्तरलाई बुझ्ने प्रयास गर्नुपर्छ र सम्भव भएसम्म साथ दिनुपर्छ । केही बालबालिका अरुको तुलनामा मानसिक रूपमा अधिक कमजोर हुन्छन् । यस्तो अवस्थामा उनीहरू एक्लो महसुस गर्छन् ।
कुन समस्या बढी देखिन्छ ?
डा. शर्माका अनुसार बालबालिकामा अटिजम, एडीएचडी, एन्जाइटी डिसअर्डर, चाइल्डहुड डिप्रेसन, इटिङ डिसअर्डर जस्ता समस्या साझा बन्दै गएका छन् । एन्जाइटी डिसअर्डरमा डर, तनाव, घबराहट, मुटुको धड्कन बढ्ने, पसिना आउने लक्षण देखिन सक्छ ।
त्यसैगरी, एडीएचडी भएका बालबालिका कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न सक्दैनन् । अरुले भनेका कुरा पालना गर्न नसक्ने वा चाँडै बोर मान्ने खालका हुन्छन् । डा. शर्मा भन्छन्, ‘एडीएचडी भएका बालबालिका अधिक इम्पल्सिभ वा हाइपर एक्टिभ हुन्छन् । केही काम गर्नुअघि सोच्दैनन् ।’
कसरी थाहा पाउने ?
शारीरिक र मानसिक विकास पूर्ण नभएकाले बालबालिका कुनै पनि समस्याबाट धेरै प्रभावित हुन्छन् । स्वास्थ्य समस्या शारीरिक मात्र हुनुपर्छ भन्ने छैन, अहिलेका बालबालिका धेरै प्रकारका मानसिक समस्याबाट गुज्रिरहेका छन् ।
मनोचिकित्सक डा. ऋषभ कोइरालाका अनुसार बालबालिकामा एन्जाइटी, डिप्रेसन बढी देखिन्छ । त्यसका साथै बानी व्यवहारसम्बन्धी समस्या पनि देखिएका छन् । जसलाई टेम्परामेन्ट भनिन्छ । समयमै पहिचान गरेर उपचार गरिएन भने बच्चा ठूलो भइसकेपछि ‘डिसअर्डर’ हुने उनी बताउँछन् । ‘आफ्ना नानीबाबुको व्यवहारमा परिवर्तन देखिएमा बेवास्ता गर्नुहुँदैन,’ उनी भन्छन्, ‘पढाइमा मन नलाग्ने, अनिन्द्रा, चिडचिडापन, रिसाउने, नरमाउने, केन्द्रित नहुने, घुलमिल हुन नखोज्ने, आफैलाई हानिनोक्सानी पुर्याउने जस्ता लक्षण देखिएमा तुरुन्तै विशेषज्ञकहाँ लैजानुपर्छ ।'
आफ्ना बालबालिकालाई मानसिक समस्याबाट बचाउनका लागि अभिभावककै अहम् भूमिका हुन्छ । डा. कोइराला बालबालिकालाई नजिकबाट बुझ्ने प्रयास गर्नुपर्ने बताउँछन् । ‘उनीहरूसँग कुरा गर्ने, बढीभन्दा बढी समय बिताउने प्रयास गर्नुपर्छ,’ उनको सुझाव छ, ‘घरमा राम्रो वातावरण दिने, कलह–झगडा नगर्ने, शारीरिक दण्डसजाय नदिने, नहोच्याउने, नराम्रो व्यवहार नगर्ने, उनीहरूलाई पनि सम्मान गर्ने, आत्मसम्मान बढाइदिने, शारीरिक गतिविधिमा संलग्न गराइदिने, मेडिटेसनको बानीको विकास गरिदिनुपर्छ ।’
बालबालिकालाई हौसला र प्रेरणा दिइराख्दा उनीहरू सहज बन्दै जाने डा. कोइराला बताउँछन् । उनका अनुसार धेरैजसो अभिभावक आफ्नो सपना पूरा गराउन बढी दबाब दिने गर्छन् । यसो गर्दा बालबालिका मानसिक रूपमा थकित हुन्छन् र व्यक्तित्वमै त्यसको असर पर्छ ।
पोषणविद् डा. अरुणा उप्रेतीका अनुसार पोषणले पनि मानसिक स्वास्थ्यमा प्रभाव पार्छ । ‘विभिन्न अध्ययन–अनुसन्धानले पनि यो पुष्टि गरिसकेका छन् । धेरैलाई गलत खानपिनले शारीरिक स्वास्थ्यमा मात्र प्रभाव पार्छ भन्ने बुझाइ छ,’ उनी भन्छिन्, ‘मस्तिष्कले पेटलाई नियन्त्रण गर्छ । पेटमा गडबडी भयो भने मस्तिष्कमा असर पार्छ । बालबालिकालाई जंकफुड होइन घरमै बनाएको पोषणयुक्त खानेकुरा नै खुवाउनुपर्छ ।’
