उदयपुरको कटारीमा हावाहुरीपछि दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ ।
उदयपुर — उदयपुरको कटारीमा हावाहुरीपछि रुखले च्याप्दा दुई जनाको मृत्यु भएको छ ।
कटारी नगरपालिका-८ थलियाटारमा हावाहुरीपछि रुखले च्यापिएर ४९ वर्षीया मिनामाया तामाङको मृत्यु भएको छ । घरनजिकै रहेको गोठबाट खसीबाख्रा सार्ने क्रममा वर्षासँगै आएको हावाहुरीले घर नजिकैको कुटमिरो रुख लड्दा हाँगाले लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोडले जानकारी दिए ।
घटनालगत्तै उनलाई प्रादेशिक अस्पताल कटारी उदयपुरमा ल्याई जाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
तामाङसहित कटारीमा हुरीपछिको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । सोमबार साँझै कटरी नगरपालिका-५ का ६४ वर्षीय वीरेन्द्र चौधरीको पनि हावाहुरी पछि रुखले च्याप्दा मृत्यु भएको थियो । उनीसँगै पाँच जना घाइते भएका छन् ।
