कटारी बजार नजिकैको तीनकुनेचोकस्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको घरमा नजिकैको सुकेको सालको रुख ढलेको हो ।
उदयपुर — उदयपुरको कटरी नगरपालिका-५ मा सोमबार राति हुरीले ढालेको रुखले पसलसहितको एउटा घर किच्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
कटारी बजार नजिकैको तीनकुनेचोकस्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको घरमा नजिकैको सुकेको सालको रुख ढलेको हो ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार घरधनी ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो । घाइते हुनेहरूमा उनकी नातिनी अन्दाजी ५ वर्षीया विनिशा चौधरी, कटारी नगरपालिका-३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की, वडा-५ बलाहाका ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही ठेगानाका ४६ वर्षीय प्रेमचन्द्र दनुवार र कटारी नगरपालिका- १२ बसेरीका १६ वर्षीया अस्मिता परियार रहेका छन् ।
घरभित्र थिचिएकी बालिका विनिशाको करिब एक घन्टामा उद्धार भएको थियो ।
हावाहुरीसँगै वर्षात् पनि भएको थियो । पसलसहितको घर रुखले किच्दा पसल र घरमा रहेका मानिसहरू घाइते भएका हुन् । घाइतेमध्ये घरधनी चौधरी उपचारका लागि कटारी अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायब उपरीक्षक दोङसहित प्रहरी टोली खटिएर घाइतेहरूको उद्धार गरेका थिए । घटनामा सशस्त्र प्रहरीसमेत उद्धारमा खटिएको थियो ।
उदयपुरको कटारी क्षेत्रमा सोमबार अस्वाभाविक रुपले वर्षातसँगै ठूलो हावा हुरी आएर ठाउँ ठाउँमा क्षति गरेको हो ।
