प्राकृतिक विपद्, आकस्मिक दुर्घटना, स्वास्थ्य उपचार, शिक्षा तथा सामाजिक उत्थानमा सहयोग पुर्याउँदै आएको इलामेली समाज हङकङले पीडितहरूलाई राहत रकम उपलब्ध गराएको हो ।
इलाम — गत असोज १७ देखि तीन दिनसम्म परेको अविरल वर्षापछिको बाढी-पहिरोले इलाममा ठूलो जनधनको क्षति भयो ।
सडक, पुल, खानेपानी, विद्युत् लगायतका भौतिक संरचनामा त क्षति पुग्यो नै, ३९ जनाले ज्यानसमेत गुमाउनुपर्यो । यहाँका पीडित अझै विपद्को कहरबाट तंग्रिइसकेका छैनन् ।
इलामेली समाज हङकङले बाढी-पहिरोका कारण ज्यान गुमाएका परिवार तथा घाइते पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
जिल्लाभरका बाढी–पहिरोपीडितका लागि संस्थाले कुल १० लाख ४९ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । उक्त सहयोग इलाम अरनिको संग्रहालयमा आयोजित कार्यक्रममा पीडितलाई हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष भीम चापागाईं लगायतको उपस्थितिमा पीडितले सहयोग रकम लिएका थिए ।
इलामेली समाज हङकङका पूर्वअध्यक्ष दलबहादुर गुरुङ, संस्थाका सदस्य शिशिर राई तथा इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले राहत रकम वितरणमा सहजीकरण गरेका थिए ।
सन् २००१ मा स्थापना भएको इलामेली समाज हङकङले प्राकृतिक विपद्, आकस्मिक दुर्घटना, स्वास्थ्य उपचार सहयोग, शिक्षा तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको अध्यक्ष वसन्त विपिनले बताए । 'संस्थाले बाढीपहिरो, आगलागी, महामारीलगायत विपद्का बेला पीडित परिवारलाई राहत तथा आर्थिक सहयोग गर्दै आएको छ,' उनले भने, 'विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग, उपचारको अभावमा रहेका बिरामीलाई आर्थिक सहायता तथा समाजसेवाका विविध मानवीय कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छौं ।'
