फेरि ब्युँतियो पाथीभरा केबलकार निर्माणको विवाद

संघीय संसद राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आयाेजना गरेकाे छलफलमा केबलकार निर्माणको विषय ब्युँतिएको हो।

पुस १७, २०८२

आनन्द गौतम

Controversy over Pathibhara cable car construction revived again

What you should know

ताप्लेजुङ — केही समय मत्थर रहेको पाथीभरा केबलकारको विवाद फेरि सुरु भएको छ।

संघीय संसद राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आयाेजना गरेकाे  छलफलमा केबलकार निर्माणको विषय ब्युँतिएको हो। 

समितिले फुङलिङ नगरपालिकाको प्रांगमा बुधबार पक्ष र विपक्ष बीच छलफल गराएको थियो। छलफलको क्रममा ‘नो केबलकार’ समूहले आफूहरुको सास रहेसम्म आन्दोलन गर्ने चेतावनी दिँदै आक्रोश व्यक्त गरे। 

केबलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले आफुहरुले केबलकार निर्माणबिरुद्धको आन्दोलन जारी राखेको र यसलाई अब अझ सशक्त बनाउने दाबी गरे। 

उनले राष्ट्रिय सभाका सांसदहरुलाई आन्दोलनरत पक्षलाई राज्यले चरम दमन गरेकाले आफुहरुलाई सहयोग गर्न पनि आग्रह गरे। उनले आन्दोलनरत पक्षलार्ई बेवास्ता गरेर भइरहेको निर्माण अभिसाप हुने बताए। २५/३० जनाको सङ्ख्यामा गएका ‘नो केबलकार’ समूहका प्रतिनिधिलाई नगर प्रहरीले प्रतिनिधिमूलक ढंगले पाँच जना मात्रै जान भनेर पहिलो तलामै रोकेका थिए । 

‘राज्यले एउटा व्यापारीको पछि लागेर हाम्रो संस्कृतिको तहसनहस गरेको छ ।  हामीले आफ्नो अधिकार खोज्दा राज्यले दमन गरेको छ । छातीमा, तिघ्रामा गोली हानेको छ । घरघरमा गएर गोली हानेको छ । अदालतमा मुद्दा लगाएर दुख दियो,’ फेम्बुले सांसदहरु समक्ष भने,‘हामी मुकुमलुङ युमामाङ र पाथीभरा देवीको कसम खाएर भन्छौं, हाम्रो प्राकृतिक स्रोतसाधन जैविक विविधता संरक्षण गर्नको निम्ति सास रहेसम्म लोकतान्त्रिक विधि पद्धतिअनुसार आन्दोलन गछौं,  आवाज उठाउँछौं ।’

‘नो केबलकार’ समूहका अर्का अभियन्ता तथा किरात याक्थुम चुम्लुङका सचिव सरोज कङलिवा लिम्बूले समुदायलाई बेवास्ता गरेर बनाएको केबलकार पूर्ण नहुने दाबी गरे। उनले यसका लगानीकर्ता चन्द्र ढकाललाई लगानी फिर्ता लिनु उचित हुने र त्यो सुझावदिन सांसदहरुलाई आग्रह गरे। स्थानीय केदारजङ्ग ताप्मादेन, नबिन पोमूलगायतले सांसदहरु समक्ष कुनै पनि हालतमा केबलकार बन्न नदिने चेतावनी दिए। 

केबलकारको विषयमा छलफल गराउन राष्ट्रिय सभाका सांसद तथा समितिका सभापति माधवप्रसाद शर्माको नेतृत्वमा सदस्यहरु सांसद रेनु चन्द, मदन कुमारी शाह ‘गरिमा’, श्रीकृष्ण प्रसाद अधिकारी, गोमादेवी तिमल्सिना, सुमित्रा विसी, रुक्मिणी कोइराला र नरवहादुर बिष्ट उपस्थित थिए। 

समितिका सचिव सञ्जय दाहालले पुस ११ गते फुङलिङ नगरपालिकालाई पाथीभरा र केबलकारको विषयमा छलफल गर्न सरोकारवालालाई निमन्त्रणा गर्न पत्राचार गरेका थिए। 

पत्रमा राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २०८२ मंसिर १ गते बसेको बैठकले फुङलिङ नगरपालिकामा अवस्थित पाथीभरा देवीको स्थलगत अवलोकन गर्ने र पालिका प्रतिनिधिहरुसाग पाथीभरा क्षेत्रको संरक्षण र केबलकार निर्माणका सम्बन्धमा सरोकारवालासाग छलफल गर्नुपर्ने भएकाले सरोकारवालालाई निमन्त्रणा गराइदिन नगरपालिकालाई अनुरोध गरेको थियो । 

नगरपालिकाले पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा क्षेत्र विकास समिति, उद्योग वाणिज्य सङ्घ, स्थानीय प्रशासनलगायतका निकाय र ‘नो केबलकार’ समूहलाई निमन्त्रणा गरेको थियो। 

यी पनि पढ्नुहाेस् : 

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोलिदियो बाटो

पाथीभरा देवी दर्शन केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

नो केबलकार समूहले बनायो फेम्बुको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully