ताप्लेजुङ — यसअघि वार्ता समन्वय समितिमात्रै बनाएको ‘नो केबलकार समूह’ले खगेन्द्र फेम्बु लिम्बूको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति गठन गरेको छ । पाँच सदस्यीय वार्ता समितिको सदस्यमा श्रीप्रसाद लिंखिम, सरस्वता (सरु) सिंगक, धनराज लिम्बू र सन्तोष मेहता रहेका छन् ।
फेम्बु केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक हुन् भने लिंखिम मुक्कुम्लुङ संघर्ष समितिका संयोजक हुन् । सरकारद्वारा गठित वार्ता समितिले यसअघि उनीहरुको नामै किटान गरेर वार्तामा बोलाउने तयारी पनि गरेको थियो । सिंगकले मुक्कुम्लुङ ताङसेप चुम्भो तथा धनराज र सन्तोष राजनीतिक दलबाट वार्ता समितिमा रहेको उल्लेख छ । सिंगक भने यसअघिको वार्तामा समन्वय समितिको संयोजक रहेकी थिइन् ।
मुक्कुम्लुङमा आएको विवादमा गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र मुक्कुम्लुङ ताङसेप र अन्तरदलीय राजनीतिक दलहरुको वार्ता सहजीकरण टोलीबीच चैत ४ गते भएको वार्ताले उच्चस्तरीय वार्ता समिति गठन गर्ने सहमतिअनुसार वार्ता समिति गठन गरिएको आन्दोलनरत समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा १३ वटा संघसंस्था र ११ राजनीतिक दलले हस्ताक्षर गरेका छन् ।
आन्दोलनरत समूहले केबलकार निर्माण खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । गृह मन्त्रालयद्वारा गठित प्रेमप्रसाद भट्टराई संयोजकत्वको सरकारी वार्ता समितिले यो माग आफ्नो तर्फबाट पूरा गर्न नसक्ने जनाएपछि उच्चस्तरीय वार्ता समिति गठनका लागि पहल गर्ने सहमति भएको यसअघिको वार्तामा सहभागीले बताएका छन् ।
