सुनसरी ३ बाट एकल नाम सिफारिस गर्ने पूर्वमन्त्री गच्छदारको प्रयास असफल

१८ पटक मन्त्री भइसकेका गच्छदार २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भगवती चौधरीसँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए।

मंसिर २४, २०८२

अर्जुन सुवेदी

Former Minister Gachhadar's attempt to recommend a single name from Sunsari 3 fails

What you should know

काठमाडौँ — फागुन २१ को निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ बाट आफ्नो एकल नाम सिफारिस गर्ने पूर्वमन्त्री विजय कुमार गच्छदारको प्रयास असफल भएको छ।

सुनसरीका अधिकांश क्षेत्रीय समितिले जिल्लामा नाम पठाइसके पनि क्षेत्र नम्बर ३ मा भने गच्छदारले एकल नाम सिफारिस गर्न दबाब दिएपछि बैठक लम्बिएको थियो।

२०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी संघमा आवद्द भएर राजनीतिक यात्रा सुरु गरेका र १८ पटक मन्त्री भइसकेका गच्छदार २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भगवती चौधरीसँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए।पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदार ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिए पनि उनले विशेष अदालतबाट सफाइ पाएका थिए।

गच्छदारले एकल नाम सिफारिस गर्न दबाब दिएपछि दुहबीस्थित एक पार्टी प्यालेसमा बसेको क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको बैठक लम्बिएको थियो । नाम सिफारिस गर्न बिहान ११ बजेपछि बसेको बैठक साँझ ५ बजेसम्म चलेको थियो । सुनसरी ३ नम्बर क्षेत्रीय समिति अध्यक्ष मेहदी हुसेनका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ गच्छदारसहित वेद नारायण गच्छदार र ओमकुमार थापाको नाम सिफारिस भएको छ। यसैगरी समानुपातिकतर्फ महेशप्रसाद बास्तोलाको नाम एक नम्बरमा सिफारिस हुँदा उनीसँगै दिलमाया डाँगी, प्रमिला गच्छदार, गोमा पराजुलीसहित १३ जनाको नाम सिफारिस भएको छ।

राष्ट्रियसभाका लागि मेदनीप्रसाद सिटौला, हरि सापकोटा, पन्छी वाइवा, दिपक राई, कल्पना चौधरी, गुलाबी मिया, ध्रुव घिमिरेलगायत १५ जनाको नाम सिफारिस भएको छ।

सुनसरी २ मा सिताराम मेहता, राजीव कोइराला र राजीव ढुंगानाको नाम मंगलबार नै सिफारिस भइसकेको छ । सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की, गफार मिया, अबुल हुसेन, डिल्लीराम कार्की र नविन श्रेष्ठको नाम सिफारिस भएको छ।

अर्जुन सुवेदी

Link copied successfully