विराटनगर भन्सार जाँचपास र राजस्वको अनुसन्धानप्रति सशस्त्र हेडक्वार्टरको ध्यानाकर्षण

सीमा सुरक्षा र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रभावकारी काम गरे पनि यी दुई निकायको काम सन्तोषजनक नरहेको भन्दै माथिल्लो निकायमा उजुरी गरेपछि प्रधान कार्यालयले चासो राख्दै समन्वयकारी भूमिका खेल्न आग्रह गरेको हो ।

मंसिर १५, २०८२

अर्जुन सुवेदी

Armed Forces Headquarters' attention drawn to Biratnagar customs inspection and revenue investigation

What you should know

सुनसरी — विराटनगर भन्सारबाट हुने जाँचपास प्रक्रिया र राजस्व अनुसन्धान कार्यालय इटहरीबाट हुने काम–कारबाहीबारे सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले चासो राख्दै समन्वय गर्न आग्रह गरेको छ।

सीमा सुरक्षा र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रभावकारी काम गरे पनि यी दुई निकायको काम–कारबाही सन्तोषजनक नरहेको भन्दै माथिल्लो निकायमा उजुरी गरेपछि प्रधान कार्यालयले चासो राख्दै समन्वयकारी भूमिका खेल्न आग्रह गरेको हो।

पछिल्लो समय भन्सार छलीका घटनामा आफ्नो पुरै जनशक्ति परिचालन गरेर सामान बरामद गर्न खोज्दा र बरामद सामान अनुसन्धानका लागि राजस्वमा पठाउँदा निकै न्यून धरौटीमा छाड्ने गरिएको प्रति बराह बाहिनी पकलीले असन्तुष्टि जनाउँदै प्रधान कार्यालयलाई पत्र पठाएको थियो। यी दुई निकायको काम–कारबाही प्रभावकारी नरहेको उल्लेख गर्दै बराह बाहिनीले पूर्वक्षेत्रबाट हुने चोरी–तस्करी र राजस्व चुहावट नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको थियो।

राजस्व छलेर सामान भित्राउने गिरोह पटक–पटक पक्राउ पर्दा समेत उनीहरूमाथिको अनुसन्धान फितलो हुने गरेको र अत्यन्त न्यून धरौटीमा छाड्ने गरिएकोप्रति असन्तुष्टि जनाउँदै सशस्त्रले यी दुई निकायका केही कर्मचारीले तस्करसँग मिलेमतोमा काम गर्ने गरेको दाबी गरेको छ। सशस्त्रले भन्सार छलीको सामान भित्र्याउने कार्यमा भन्सार एजेन्ट नै संलग्न हुने गरेको पुष्टि हुँदासमेत उनीहरूमाथि चित्तबुझ्दो कारबाही हुन नसकेको प्रस्ट पार्दै यस्तै गतिविधि कायम रहने हो भने आफूहरू उच्च मनोबलका साथ काम गर्न नसकिने बताएको थियो।

यस विषयमा गत सोमबार कान्तिपुरमा समाचार प्रकाशित भएको थियो । त्यसलगत्तै राजस्व चुहावट नियन्त्रणका लागि भन्दै प्रधान कार्यालयले सीमा नाकामा खटाइएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिगबिजय सुबेदीलाई भन्सार र राजस्व अनुसन्धान कार्यालयका प्रमुखलाई भेटेर समन्वयकारी भूमिका खेल्न आग्रह गरेको हो। सुबेदीले विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ र राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अर्जुन राईलाई भेटेर भन्सार र राजस्व अनुसन्धानसँग एपीएफ असन्तुष्ट रहेको विषयमा प्रधान कार्यालयको समेत ध्यानाकर्षण भएको बताएको एक कर्मचारीले जानकारी दिए।

यस्तै, एसएसपी सुबेदीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई समेत भेटेर सीमा नाकाबाट हुने राजस्व चुहावट नियन्त्रणका लागि नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन्।

अर्जुन

Link copied successfully