विराटनगर भन्सार जाँचपास र राजस्वको अनुसन्धानप्रति सशस्त्रको असन्तुष्टि, तस्करसँग मिलेमतोको आरोप

भन्सार छलीका सामान भित्र्याउने कार्यमा भन्सार एजेन्ट नै संलग्न भएको पुष्टि हुँदासमेत उनीहरुमाथि चित्तबुझ्दो कारबाही हुन नसकेको सशस्त्रले प्रस्ट पारेको छ ।

मंसिर ८, २०८२

अर्जुन सुवेदी

Armed Forces dissatisfied with Biratnagar customs checkpoint and revenue investigation, allegation of collusion with smugglers

What you should know

सुनसरी — विराटनगर भन्सारबाट हुने जाँचपास प्रक्रिया र राजस्व अनुसन्धान कार्यालय इटहरीबाट हुने कामकारबाही निक्कै कमजोर रहेको भन्दै सशस्त्र प्रहरी बलले असन्तुष्टि जनाएको छ ।

सीमा सुरक्षा र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रभावकारी काम गरे पनि यी दुई निकायको कामकारबाही सन्तोषजनक नरहेको भन्दै माथिल्लो निकायमा उजुरीसमेत गरेको छ । पछिल्लो समय भन्सार छलीका घटनामा आफ्नो पूरै जनशक्ति परिचालन गरेर सामान बरामद गर्न खोज्दा र बरामद समान अनुसन्धानका लागि राजस्वमा पठाउँदा निकै न्यून धरौटीमा छाड्ने गरिएको प्रति सशस्त्रले असन्तुष्टि जनाएको हो ।

विराटनगर भन्सार र राजस्व अनुसन्धानको कामकारबाही प्रभावकारी नरहेको उल्लेख गर्दै सशस्त्रले पूर्वक्षेत्रबाट हुने चोरी तस्करी र राजस्व चुहावट नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ । राजस्व छलेर सामान भित्र्याउने गिरोह पटकपटक पक्राउ पर्दासमेत उनीहरुमाथिको अनुसन्धान फितलो हुने गरेको र अत्यन्त न्यून धरौटीमा छाड्ने गरिएको भन्दै सशस्त्रले यी दुई निकायका केही कर्मचारीले तस्करसँग मिलेमतोमा काम गर्ने गरेको दाबीसमेत गरेको छ । 

सशस्त्रले भन्सार छलीका सामान भित्र्याउने कार्यमा भन्सार एजेन्ट नै संलग्न हुने गरेको पुष्टि हुँदासमेत उनीहरुमाथि चित्तबुझ्दो कारबाही हुन नसकेको प्रष्ट पारेको छ । यी दुई कार्यालयका प्रमुखप्रति असन्तुष्टि जनाउँदै सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका बाहिनीपति प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेले यस्तै गततिविधि कायम रहने हो भने आफूहरु उच्च मनोबलका साथ काम गर्न नसकिने बताए ।

यस्तो थियो घटनाक्रम

गत कात्तिक १७ गते विराटनगर भन्सार कार्यालय आईपीबीबाट प्रज्ञापनमा उल्लेख गरिएको भन्दा बढी मूल्यको लत्ताकपडा तस्करी भइरहेको विशेष सूचना बराह बाहिनीपति न्यौपानेले पाएपछी त्यस स्थानमा छापा मारिएको थियो । प्रहरी टोलीले तीन फरक–फरक स्थानबाट ठूलो परिमाणमा लत्ताकपडा नियन्त्रणमा लिएको थियो ।

यस क्रममा भन्सार एजेन्टसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको थियो । सोही दिन अर्को ट्याक्टर आईसीपी यार्डतर्फ फर्केको सूचना पाएपछि विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठसँग समन्वय गर्दा उनले अनभिज्ञता प्रकट गरेका थिए । तर बाहिनीपति न्यौपानेको निर्देशनमा खटिएको टोलीले यार्डमा खोजतलास गर्दा को १ त ९७१७ नम्बरको ट्याक्टर फेला परेको थियो । उक्त ट्याक्टरमा प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा १५ पोका बढी कपडा पार्किङ गरेको पुरानो सवारी साधनभित्र लुकाई राखेको अवस्थामा बरामद गरिएको थियो ।

यी घटनापश्चात् भन्सार प्रमुखले रुजु गर्दा १५ पोकाभन्दा बढी समान लुकाएको पुष्टि भएपछि भन्सार एजेन्टहरु विराटनगर-१५ का ३८ वर्षीय कुन्दन मण्डल, वर्ष २६ का छोटु  मण्डल र विराटनगर-१८ का ३१ वर्षीय ललन मण्डललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा पठाइएको थियो । कुन्दन पटकपटक यो प्रकरणमा पक्राउ पर्दै आएका पात्र हुन् । उनी यसअघि भन्सार जाँचपासमा ठगी गर्ने र अन्य नाकाबाट चोरी तस्करी गर्ने मुद्दामा दुईपटक पक्राउ परिसकेका थिए ।

यस्तै, प्रारम्भिक सूचनाका आधारमा तेस्रो ट्याक्टर फेला नपरे पनि कात्तिक १९ गते विशेष सूचनाका आधारमा खटिएको संयुक्त टोलीले विराटनगर–१५ स्थित बुद्ध पूजा ढुवानी सेवामा खोजतलास गर्दा शंकास्पद ३४ पोका लत्ताकपडा लुकाइराखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । उक्त सामान थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थियो ।

राजस्व अनुसन्धान कार्यलयले उक्त ढुवानी सेवामा छापा मार्न आनाकानी गरेपछि सशस्त्रले राजस्व अनुसन्धान विभाग काठमाडौंसँग गुनासो गरेको थियो । उक्त गुनासोपश्चात् इटहरीले संयुक्त टोलीले छापा मारेको हो ।

यी घटनामा राजस्व अनुसन्धान कार्यालय इटहरीले आरोपितसँग १ लाख २४ हजार रुपैयाँ मात्र धरौटी लिएर छाडेको र एउटै व्यक्तिको फर्ममा पटकपटक छापा मार्नुपर्ने र तस्करीमा भन्सार एजेन्ट नै बारम्बार संलग्न हुँदासमेत कसुरबमोजिम कारबाही र जरिवाना नभएको भन्दै सशस्त्र प्रहरी रुष्ट बनेको हो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका सूचना अधिकारी विदुर गौतमले आफूहरुले प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी रहेको समान बराबरको धरौटी लिएर छाडिएको बताए । विराटनगर भन्सार कार्यलय प्रमुख उमेश श्रेष्ठले भने अनुसन्धानका क्रममा आफूहरुबाट केही कमीकमजोरी भएको स्वीकारे । आगामी दिनमा सुधार गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

अर्जुन

Link copied successfully