महेश बस्नेतलाई रङ छ्याप्ने युवा छुटे 

‘हिजै छाडिसक्यौँ,’ डीएसपी कोपिला चुडालले भनिन्,‘साना बाबुहरूलाई राखेर के गर्नु ?’

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

The youth who painted Mahesh Basnet was released

विराटनगर — एमाले नेता महेश बस्नेतलाई रातो मसी छ्यापेर विरोध प्रदर्शन गर्ने युवाहरू छुटेका छन् । आइतबार विराटनगर विमानस्थल हुँदै इटहरीमा आयोजित युवा जागरण अभियानमा सहभागी हुन गइरहेका बस्नेतलाई एयरपोर्ट रोडमा सन्जोग गौतम र अर्पित कुँवरले रङ छ्यापेका थिए । 

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरीले आइतबार साँझ छाडेको हो । ‘हिजै छाडिसक्यौँ,’ डीएसपी कोपिला चुडालले भनिन्,‘साना बाबुहरूलाई राखेर के गर्नु ?’ 

विमानस्थलदेखि केही टाढा चिया पसलमा बसेका दुई युवामध्ये एक जना अकस्मात उठेर आएर बस्नेत सवार गाडीमाथि रङ छ्यापेका थिए ।  अर्का युवाले सो घटनाको भिडियो खिचिरहेका थिए ।

लोला प्रहार गर्ने युवा गौतम महेन्द्र मोरङ क्याम्पसको नेपाल विद्यार्थी संघको इकाई समिति सभापति हुन् । उनी शेखर कोइरालानिकट विद्यार्थी नेता हुन् । कुँवर पनि कांग्रे निकट विद्यार्थी संघमा आबद्ध रहेको बताइएको छ । तर, उनले टिकटकमार्फत आफू कुनै दलमा आबद्ध नभएको र भदौ २३ र २४ पछि जेन-जी आन्दोलनमा सहभागी बन्दै अएको जनाएका छन् । 

कान्तिपुर

Link copied successfully