६४ वर्षीय कुथुमीको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भदौ २३ गते गोली लागि निधन भएको थियो ।
धनकुटा — जेन–जी आन्दोलनका क्रममा गोली लागि मृत्युवरण गरेका धनकुटाका छत्रमान कुथुमीको बुधबार उनको जन्मस्थल पाख्रिबास नगरपालिका १० चुङमाङस्थित दाङसिङ गाउँमा अन्त्येष्टि गरिएको छ ।
घरनजिकै बारीमा किरात संस्कार अनुसार कुथुमीको अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टिमा कुथुमीका दुई श्रीमती रामकुमारी र मन्दिरासहित आफन्तजन उपस्थित थिए । यस्तै, जेन–जी धनकुटाका संयोजक सिरज जोशीलगायतले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
कुथुमीका भाइ किशोरका अनुसार किरात संस्कार अनुसार घर नजिकै चिहान बनाएर उनको अन्त्येष्टि गरिएको हो । कुथुमीको शव नेपाली सेनाको हेलिकोप्टरबाट मंगलबार गृह जिल्ला पुर्याइएको थियो ।
६४ वर्षीय कुथुमी नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भदौ २३ गते गोली लागि निधन भएको थियो । सामाजिक सञ्जालमार्फत उनको मृत्युबारे आफन्तले थाहा पाएर सनाखत भएको थियो ।
