ताप्लेजुङ — पाथीभरा क्षेत्रमा सोमबार भएको जीप आगलागीको घटनामा मृत्यु भएकाहरुको शव परिवारले बुझेको छ । झापा भद्रपुरका विनोद पौडेल, सरिता पौडेल र ललितपुरकी आध्या आचार्यको शव विनोदका भाइ महेश पौडेलले बुझेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।
शव बुझेका महेशका अनुसार तीनै जनाको आज झापा भद्रपुरमा अन्त्येष्टि गरिने छ । ‘छोरो (विनोद–सरिताको) अस्ट्रेलिया बाट आज दिउँसो २ बजे काठमाडौं आउँदै छ । तीन बजे काठमाडौंबाट भद्रपुर आउने टिकट गरेका छौं । ऊ आइपुगेपछि आजै अन्तेष्टि गछौं,' महेशले भने, 'नातिनी आध्याको अन्तेष्टि पनि हजुरबा–आमासँगै झापामै गछौं ।’ आमा (सविना पौडेल आचार्य) को उपचार भइरहेका कारण शव काठमाडौं लैजाने अवस्था नभएकाले ललितपुर निवासी आध्याको पनि अन्त्येष्टि झापामै गर्ने उनले बताए । सविनाको काठमाडौं उपचार भइरहेको छ ।
सवारी चालक ताप्लेजुङ फुङलिङ निवासी दुर्गा भट्टराईको अन्त्येष्टि परिवारले आज बिहान ११ बजे फुरुम्बुको सिस्ने दोभान घाटमा गर्ने परिवारका सदस्य इन्द्रनारायण भट्टराईले बताए । भट्टराईको आज बिहान र अन्यको हिजो बेलुका जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको हो ।
पाँचजना यात्रु लिएर पाथीभरा जाँदै गरेको जीपमा सोमबार बिहान पाथीभरा क्षेत्रको सेवारो चोक नजिक विद्युतीय करेन्ट लागेर दुर्घटना भएको थियो । जीपमा सवार चालकसहितका चार जनाको घटनास्थलमै जलेर मृत्यु भएको थियो भने एक जना सख्त घाइते भएका थिए । एक जना बालकको अवस्था सामान्य छ ।
शव गन्तव्यमा पुर्याउँदा सम्मको खर्च पाथीभरा क्षेत्र विकास समितिले बेहोर्ने जनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार शवबाहनमा भद्रपुर पुर्याउँदाको लागत र घटनास्थलवाट जिल्ला अस्पताल ल्याउँदाको खर्च समितिले बेहोर्ने भएको हो ।
