१ अर्ब ८८ करोडको बजेट सीमा

जेष्ठ १४, २०७८

कान्तिपुर संवाददाता

ताप्लेजुङ —  प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय तहलाई राजस्व बाँडफाँट र वित्तीय समानीकरणको अनुमानित बजेट विवरण पठाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणको काम भइरहँदा १ सय ३७ वटा स्थानीय तहका लागि १ अर्ब ८८ करोड रुपैयाँको सीमा पठाएको हो । वित्तीय समानीकरण अनुदानबापत १ अर्ब र सवारीसाधन कर र बाँडफाँटको हिस्साबापत ८८ करोड रुपैयाँ छ ।

असार १० गते बजेट ल्याउन अब बाटो खुलेको स्थानीय तहका प्रमुख बताउँछन् । फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले नीति तथा कार्यक्रम र बजेट तयारीमा लाग्ने बताउँछन् ।

‘अब नगरपालिकाले प्रत्येक वडाका लागि सिलिङ तयार पार्छौं, वडाले आ–आफ्नो टोलमा गएर योजना छनोट गर्नुहुन्छ,’ भट्टराईले भने, ‘त्यसको आधारमा बजेट विनियोजन गर्छौं र समयमै बजेट ल्याउँछौं ।’ 

नगरपालिकाको आवधिक योजना बनेकाले प्राथमिकीकरणमा केही सहज हुने उपप्रमुख भट्टराईको अपेक्षा छ । तथापि प्रक्रियागत रूपमा बस्तीसम्म पुगेर छलफल हुने उनले बताए । भौतिक दूरी कायम गरेर वडाध्यक्ष र वडासदस्य बस्तीमा पुग्ने भट्टराई बताउँछन् ।

सिरीजंघा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे बजेट बनाउने बाटो खुलेको बताउँछ्न । केन्द्रको सिलिङ पहिल्यै आइसकेकाले स्थानीय तह प्रदेशको पर्खाइमा थिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ बमोजिम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आफ्नो पालिकाको अनुमानित बजेट तयार गर्छ । त्यसपछि गाउँ, वडा, टोल र बस्तीमा छलफल हुन्छ । 

बजेट २०७८

कान्तिपुर

Link copied successfully