सुनसरी — धरानमा तीन जना नेपाली सेनासहित ६ जनामा कोरोना संक्रमित भएको छ । शनिबार बिहान आएको पीसीआर रिपोर्ट अनुसार संक्रमित हुने नेपाली सेनाहरु धरान–१७ स्थित एन्फा क्वारेन्टाइनमा सुरक्षार्थ खट्दै आएका थिए ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार क्वारेन्टाइनमा खटिएका २६ वर्षीय, २५ वर्षीय र २७ वर्षीय सैनिकहरुमा संक्रमण पुष्टि भएको छ । उनीहरुलाई सामान्य ज्वरो आउन थालेको पनि जानकारी आएको उनले बताए ।
यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन युनिट–३ मा कार्यत हेल्थ एडमा कार्यरतकी १० वर्षीया भान्जी, प्रतिष्ठानको क्षयरोग ल्याबमा काम गर्ने हेल्थ एडकै १७ वर्षीय छोरा पनि संक्रमित पुष्टि भएको छ । उनीहरुको प्रतिष्ठानको हेल्थ डेस्कमै स्वाब संकलन गरिएको थियो ।
स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार धरान–१७ बस्ने ३९ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको छ । योसहित धरानमा संक्रमितहरुको कुल संख्या १ सय ४० पुगेको छ ।
