कोइलाखाद : अँध्यारो खनेर उज्यालो खोज्नेहरू

नरबहादुरले डायस्पोराका ती मानिसको प्रतिनिधित्व गर्छ, जो जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो ‘जरा’ छोड्न चाहदैन । ‘मुलुक बाहिर’ रहेर पनि ‘मुलुक’ को कुरा गर्छ ।

जेष्ठ १७, २०८३

शैलीका छेत्री

Coalfields: Those who dig in the darkness and seek light

What you should know

आधुनिक साहित्यको एक नवीन रूप हो उपन्यास, जहाँ मानव भावना र आत्माका पात्रलाई शब्दमार्फत उजागर गरिन्छ  । यसै सिलसिलामा आख्यानकार श्याम सिंघकको नयाँ उपन्यास ‘कोइलाखाद’ मेरो हातमा पर्‍यो  । यो उपन्यास पढ्दै जाँदा पाठकले एक पुस्तक पढिरहेको अनुभव मात्रै गर्दैन, बरू एउटा जीवन्त सभ्यता र मानवीय अस्तित्वको गहिरो सुस्केरा सुनिरहेको अनुभव गर्नेछ  । 

विश्व साहित्यको इतिहासतिर फर्केर हेरौं  । जतिखेर आख्यानमा म्याक्सिम गोर्कीको उदय भयो, तब दरबारका सुखसयल र राजपुत्रका विलासिताका कथा बिस्तारै ओझेल पर्दै गए  । गोर्कीले नै पहिलोपटक साहित्यको केन्द्रमा ती मानिस उभ्याए, जसका हातमा ठेला उठेका थिए अनि निधारबाट लगातार श्रमको पसिनाका धारा बगिरहेका थिए  । मलाई लाग्छ, लेखक श्याम सिंघक पनि गोर्कीको ‘सामाजिक क्रान्ति’ दर्शनबाट निकै प्रभावित छन्  । उनले गोर्कीकै पदचाप पछ्याउँदै श्रमजीवीवर्गको पीडा अनि विद्रोहलाई स्वर दिएका छन्  । गोर्की उपन्यासहरूमा रूसी कारखानाका चिम्नीहरूबाट निस्कने धुवाँसँगै पात्रहरूले विद्रोहको सपना देख्थे  । श्याम सिंघकका पात्रहरू पनि कोइलाखानीको घोर अन्धकारभित्रै न्यायको ‘दियो’ बाल्ने साहस गरिरहेका छन्  । उनीहरूले त्यही कोइलाखानीको अँध्यारो सुरूङभित्र आफ्नो जीवन र स्वाभिमान थामिराखेका छन्  । 

श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’ एउटा यस्तो ‘मौन आवाज’ हो, जुन मार्क्सवाद अनि मानवीय श्रमको एक बलियो दस्तावेज बन्न पुगेको छ  ।

‘कोइलाखाद’ मा मार्क्सवाद

मार्क्सले भनेका थिए, ‘संसारका मजदुरहरू एक हौं  ।’ उपन्यास ‘कोइलाखाद’ ले पनि एकै ठाउँको कथा मात्रै होइन, औद्योगिकीकरण र प्रकृतिको चपेटामा परेका मानिसका अस्तित्वको मार्मिक कथा वाचन गर्छ  । लोचन, नरबहादुर, रूथ र सरदारनीबीचको संवादमार्फत उपन्यासले परम्परागत विश्वास र अस्तित्व रक्षाका लागि गरिने संघर्षबीचको रोचक मानवीय द्वन्द्वलाई उजागर गरेको छ  । ‘कोइलाखाद’ को सबैभन्दा बलियो पक्ष हो– आदिवासी पहिचान र जल–जंगल–जमिनसँग गाँसिएका पात्रबीचको अटुट सम्बन्धको गहकिलो चित्रण  । पुस्तकमा एउटा पात्र प्रश्न गर्छ, ‘हामी जंगलमा निर्भर छौं कि जंगल हामीमा ?’ यसप्रकारको प्रश्न, केवल प्रश्न मात्रै होइन, बहसको गम्भीर मुद्दा पनि हो, जहाँ पारिस्थितिकीय र मानवीय सम्बन्ध चर्को स्वरमा बोलिरहेको हुन्छ  । 

‘कोइलाखाद’ मा भौगोलिक सीमाभन्दा माथि उठेर ‘सर्वहारावर्ग’ को साझा पीडा समेटिएको छ  । नेपालको सुदुर गाउँबाट गरिबीका कारण लखेटिएका एक तन्नेरी पात्र लोचन भारतको मेघालय पुग्दा पनि उही शोषकवर्गकै चंगुलमा फस्छ । यसले के पुष्टि गर्छ भने शोषणको कुनै राष्ट्रियता हुँदैन र यो एक वर्गले अर्को वर्गमाथि गर्ने सार्वभौम दमन हो । उपन्यासले नेपाली समाजको एउटा ऐतिहासिक कालखण्ड र आर्थिक विवशतालाई चित्रण गर्ने प्रयास गरेको छ । यहाँ घरमा उत्पादनका साधनहरू (जमिन, उद्योग) माथि पहुँच नभएपछि श्रमिकहरू आफ्नो ‘श्रम शक्ति’ बेच्नका लागि परदेशिन बाध्य हुन्छन् । यो पलायन व्यक्तिगत रहर होइन, वर्ग–विभेद र साधनको असमान वितरणको परिणाम हो ।

मार्क्सवादी आँखाबाट हेर्दा भन्न सकिन्छ, उपन्यास ‘कोइलाखाद’ पुँजीवादको त्यो कालो सुरूङ हो, जहाँ श्रमिकको रगत अनि पसिनालाई ‘मुनाफा’ का रूपमा प्रयोग गरिन्छ । श्याम सिंघकले कोइलाको धुलोभित्र हराउँदै गएका ती सर्वहारा अनुहारलाई शब्दमा उतारेका छन् र पाठकलाई वर्गचेतना प्रदान गर्न प्रयास पनि गरेका छन् । यसरी उपन्यास ‘कोइलाखाद’ पढिसक्दा उपन्यासको विषयवस्तुले पाठकलाई सोच्न बाध्य बनाउँछ– के विकासका नाममा श्रमिकहरूको सामूहिक चिहानमाथि खडा भएको देशको औद्योगिकीकरण र उन्नति मानवताको पक्षमा जायज हुन्छ ?

मार्क्सवादले समाजलाई ‘उत्पादनको साधन’ र ‘वर्ग संघर्ष’ को आधारमा हेर्छ । कोइलाखानी आफैंमा एउटा ठूलो मार्क्सवादी बिम्ब हो । कोइलाखानीमा काम गर्ने श्रमिकहरू (लोचन, नरबहादुर) श्रमिक–वर्ग हुन् । ‘कोइलाखाद’ उपन्यासको पृष्ठ. ४१ मा पात्र लोचन अनि नरबहादुरबीचको नियम–कानुनको बहस वास्तवमा ‘राज्य र श्रमिक’ को सम्बन्धको गाथा हो । मार्क्सवाद भन्छ– राज्यका नियमहरू सधौ शासकवर्गको हितमा हुन्छन् । लोचनले भनेको ‘नियम’ श्रमिकलाई नियन्त्रण गर्ने औजार मात्रै हो । लोचनले ‘आगन्तुक र स्थानीय’ बीचको झगडाको कुरा गर्छ । मार्क्सवादी दर्शनले यसलाई ‘फुटाऊ र राज गर’ का रूपमा व्याख्या गर्छ । पुँजीपतिहरूले श्रमिकलाई जात, धर्म र भौगोलिकका नाममा लडाउँछन्, ताकि उनीहरू आफ्ना साझा शत्रु (शोषण) विरूद्ध एक हुन नसकुन् । 

मनोविज्ञानमा यस पक्षसित मेल खाने एउटा सिद्धान्त छ, ‘सामाजिक पहिचान सिद्धान्त’ । त्यस सिद्धान्तले भन्छ, मानिस स्वभावैले आफ्नो समूह (जस्तै जात वा भूगोल) लाई अरूभन्दा राम्रो देखाउन खोज्छ । जब शासकवर्गले यही मानवीय कमजोरीलाई चलाखीपूर्वक प्रयोग गर्छन्, तब श्रमिकहरू एकअर्कालाई ‘स्थानीय वा आगन्तुक’ का नाममा शत्रु देख्न थाल्छन् । फलस्वरूपः उनीहरूको आपसी सद्भाव टुट्छ र वास्तविक समस्या अर्थात् शोषणविरूद्ध आवाज उठाउनुको सट्टा उनीहरू आफ्नै पहिचानमाथिको लडाइँमै अल्झिन्छन् ।

जतिखेर, मानवता ‘म र तिमी’ मा विभाजित हुन्छ, त्यहीखेरै हो– शोषणले राज गर्ने सजिलो मौका पाउँछ । 

‘कोइलाखाद’ मा प्रेम चेतना

प्रेम सृष्टिको एउटा यस्तो अदम्य अनि अनन्त शक्ति हो, जसले सम्पूर्ण ब्रह्माण्डलाई एउटै सूत्रमा बाँधेको छ । यो केवल शब्द होइन, मानवीय अस्तित्वको आधार अनि सृष्टिको आदि स्तोत्र पनि हो । प्रेम नै त्यो ऊर्जा हो, जसले जीवनमा गति र सार्थकता प्रदान गर्छ ।

प्रेमको वास्तविक प्रकृति स्वच्छन्द अनि स्वतन्त्र छ । यो मानव मनको यस्तो स्वाभाविक अनुभव हो, जसले कुनै पनि कृत्रिम पर्खाल वा सामाजिक बन्धन स्वीकार गर्दैन । प्रेमले स्वतन्त्रता खोज्छ । यसले जात, धर्म, वर्ग वा अन्य कुनै पनि सीमा चिन्दैन । जतिखेर मनमा प्रेम उब्जिन्छ, त्यो प्रेमले कठोर नियम वा समाजले तोकेका साँघुरा परिधिहरू नाघ्ने साहस राख्छ । हो यस्तै त छ, ‘कोइलाखाद’– उपन्यासका पात्र लोचन लिम्बू अनि रूथको प्रेम कथा । मेघालयको धर्तीमा कोइलाखाद मजदुर बन्न आएका नेपालका युवक लोचन, त्यहीँ खासी समुदायकी स्त्रीसँग प्रेममा रंगिन हुन्छ । ती दुईको प्रेमले एउटा नयाँ कथा उपन्यासमा लेखेको छ, जहाँ जातलाई छुट्टयाउने रेखा मात्रै नभई एकअर्कालाई बुझ्ने झ्यालसरह लाग्छ । ‘कोइलाखाद’ मा खासी समुदायको मातृसत्तात्मक प्रथा र परम्पराको कडा नियमले लोचन लिम्बूलाई अधिकार प्रदान गर्छ । र, त्यसरी परम्पराले बिछोडिएकी प्रेमिका रूथ आफूले पाउने पैतृक सम्पत्तिलाई सहजै तिरस्कार गर्छे । ऊ यस्तो प्रेमलाई साबित गर्न खोजिरहेकी देखिन्छे, जहाँ कुनै भौतिक वस्तु वा उत्तराधिकारमा अडिने भन्ने कुरै हुँदैन । मुन्धुमको संस्कारमा हुर्किएको नेपाली लोचनको स्वाभिमान र अर्कोतिर सम्पत्तिभन्दा प्रेमलाई माथि राख्ने खासी स्त्री रूथको दृढताले उपन्यासलाई रसिलो बनाएको छ । यो रसास्वादनले  पाठकलाई लाग्दो हो– साँचो प्रेमले भूगोल र रित्तिँदै गएको सामाजिक मान्यतालाई मात्रै होइन, संसारकै सबैभन्दा जटिल मानवीय भाव ‘धन लालच’ लाई समेत पराजित गर्ने क्षमता बोकेको हुन्छ । 

त्यसैले पाठकले ‘कोइलाखाद’ पढिरहेका बेला वियोगान्त कथा मात्रै नपढी परम्पराको कृत्रिम साङ्लोमा जबरन बाँधिएको उकुसमुकुसपनलाई पनि अनुभव गरिरहेको हुन्छ । र, रूथको निःस्वार्थ प्रेमको आत्मिक समर्पण पनि चाखिरहेको हुन्छ, जो स्त्रीत्वको बलियो परिचय पनि हो ।

उपन्यास ‘कोइलाखाद’ मा कथा–पात्र रूथको अवस्था बढी मार्मिक छ । रूथले यस्तो जातिको प्रतिनिधित्व गर्छे, जहाँ मातृसत्तालाई महत्व दिइन्छ । यस्तो हुँदा रूथको जीवन पनि आम खासी स्त्रीझैं परिवार चलाउने बाध्यतामा र उसका स्त्री चाहनाहरू तिलाञ्जली दिनुपर्ने मोडमा उभिएको भेटिन्छ । आर्थिक विषमतामा ‘घुटि–घुटि’ मरिरहेको छ, रूथको जीवन कथा । तर, रूथ लोचनको प्रेममा छे ।  आर्थिक संकटले रूथको शरीरलाई मात्रै होइन, उसको आत्मा अनि सुन्दर भविष्यको परिकल्पनालाई समेत मारिदिएको कथा हो ‘कोइलाखाद’ । 

‘कोइलाखाद’ मा सिसीफस–नियति

उहिल्यै दार्शनिक अर्ल्बट कामुको ‘मिथ अफ सिसीफस’ पढेको थिएँ । मलाई लाग्छ, ‘कोइलाखाद’ मा श्रमिक बनेका मजदुरहरू पनि ‘सिसीफस’ जस्तै छन्, जो हरेक दिन ज्यान हत्केलामा राखेर पाताल झरेको हुन्छ । कोइला श्रमिकहरूको जीवन एउटा यस्तो पुनरावृत्ति हो, जहाँ उज्यालोको खोजीमा अँध्यारो खन्नु नै एक मात्रै विकल्प हुन्छ । ‘कोइलाखाद’ मा मानिस पेटको आगोमा भौंतारिँदै मृत्युको कुवाभित्र पस्न बाध्य हुन्छ । मेघालयको ‘र्‍याट–होल माइनिङ’ अत्यन्तै जोखिमपूर्ण स्थान हो, जहाँ ३–४ फिटका साँघुरा सुरूङभित्र पसेर कोइला निकाल्दा प्रत्येक वर्ष  कैयौं श्रमिकले ज्यान गुमाउँछन् ।

मेघालयको कोइलाखादमा कार्यरत नेपाली श्रमिकको ज्यानको मूल्य त्यहाँबाट निकालिने कोइलाको प्रतिटन मूल्यभन्दा पनि कम आँकिन्छ । यदि कुनै श्रमिक कोइलाखानीभित्र पुरिन्छ भने मालिकलाई श्रमिकको मृत्युको शोकभन्दा बढी कोइला उत्पादन रोकिएकोमा चिन्ता हुन्छ । मलाई लाग्छ, यस्तो ‘मानवीय संवेदनाको विषयवस्तु’ नै उपन्यास कोइलाखादको मुख्य वैचारिक आधार बन्न पुगेको छ ।

कोइलाखाद र ‘डायस्पोरा’

जसरी कोइलाको कालो गर्भभित्र हीराको जन्म हुने रासायनिक प्रक्रिया प्रबल हुँदो हो, त्यसरी नै ‘कोइलाखाद’ का कथानक पात्रको संघर्ष अनि अभावका कथाले पनि भुँवरीबीच मानवीय अस्तित्वको उज्यालो खोतल्ने प्रयास गरिरहेको छ । र, त्यही प्रयासको एउटा अनुहार हो– उपन्यासमा उब्जिरहेको ‘डायस्पोरा’ । उपन्यासको डायस्पोरा चेतनाले पाठकलाई भनिरहेको छ, ‘मुलुकबाहिर जागिरका निम्ति बाँचेका नेपाली डायस्पोरा केवल सपनाको कुरा होइन, यो त एउटा वर्गीय लडाइँ पनि हो, जहाँ श्रमिकले आफ्नो भूगोल र आस्था दुवै फेर्न बाध्य हुनुपर्छ ।’ 

उपन्यासको एक भागमा डायस्पोराका दुईवटा धार पाठकले अनुभव गर्न सक्छन् । जहाँ एउटा धारले भनिरहेको हुन्छ, ‘हामी जहाँ गए पनि आफ्नो रगत र संस्कार बदल्न सक्दैनौं’ (पात्र नरबहादुर) । अर्को धारको विचार छ, ‘हामी जहाँ पुग्छौँ, त्यहाँको माटोमा आफूलाई विसर्जन गर्नुपर्छ’ (पात्र लोचन) । यो ‘स्थिरता’ अनि ‘गतिशीलता’ बीचको द्वन्द्व नै डायस्पोराको सौन्दर्य हो । लोचन र नरबहादुर कोइलाखानीमा छन्, तर उनीहरूको तर्कमा ‘मुलुक’ (नेपाल) सधैं जीवित छ । त्यसैले, यहाँ डायस्पोराले भन्ने गर्छ, ‘घर’ केवल एउटा भौगोलिक ठेगाना होइन, यो त एउटा ‘स्मृति’ हो । मेघालयको ‘कोइलाखाद’ उपन्यासका पात्रहरूका निम्ति मेघालय (भारत) ‘कर्मथलो’ हो भने नेपाल उनीहरूको ‘जन्मथलो’ ।

श्याम सिंघकको ‘कोइलाखाद’ ले केवल कोइलाखानीका श्रमिकको कथा बयान गर्दैन, आफ्नो जन्मभूमि छाडेर परदेशिएका लाखौं डायस्पोरिक नेपालीको त्यो छटपटीलाई पनि अभिव्यक्त गर्छ, जहाँ उनीहरू शरीरले पराइ देशको नियम पालना त गर्छन्, तर मनले आफ्नै माटोको सुगन्ध खोजिरहेका हुन्छन् । उपन्यासमा पात्र लोचनले सोचेको विषय ‘धेरैजसो झगडा आगन्तुक र स्थानीयहरूको भाषा, संस्कृति र धर्मबीचको संघर्ष’– डायस्पोरिक साहित्यको मूल सूत्र हो । कारण प्रवासमा रहेका नेपालीले भोग्ने ‘रेसिजम’ वा सांस्कृतिक भेदभाव यही संघर्षको उपज हुन्छ । जब ‘आगन्तुक’ (माइग्रेन्ट) को अस्तित्वलाई स्थानीयले स्वीकार गर्दैनन्– हो त्यही क्षणबाट द्वन्द्व सुरूवात हुन्छ । होइन र ? पात्र नरबहादुरले डायस्पोराका ती मानिसको प्रतिनिधित्व गर्छ, जो जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो ‘जरा’ छोड्न चाहँदैन । ‘मुलुक बाहिर’ रहेर पनि ‘मुलुक’ को कुरा गर्छ । एक ठाउँमा नरबहादुर भन्छ, ‘नियम–कानुन र धर्म–संस्कृति फरक कुरा हुन् ।’ नरबहादुरका निमित्त ‘नियम’ शरीरका लागि हो, तर ‘संस्कार’ आत्माका लागि । नरबहादुर उपन्यासभरि भन्न खोजिरहेछ– मानिसले आफ्नो भूगोल फेर्न सक्छ, तर पुर्ख्यौली इतिहास अनि संस्कार फेर्न सक्तैन । यसरी नरबहादुर उपन्यासभरि ‘जरा’ सित जोडिने कुरा गरिरहेको भेटिन्छ । र, यी कुराहरू नै ‘अस्तित्ववाद’ का मूल प्रेरक हुन् ।

डायस्पोरामा मानिस सधैं ‘अपरिचित’ भइरहन्छ । जतिसुकै वर्ष भारतको मेघालयमा बसे पनि लोचन, नरबहादुरजस्ता पात्र ‘आगन्तुक’ नै कहलाइन्छन् अनि ‘आगन्तुक’ लाई स्थानीयले हेर्ने दृष्टिकोण र उसले भोग्नुपर्ने ‘पहिचानको संकट’ यसको तीतो पाटो हो । 

भाषा र संस्कृतिको भिन्नताले नै मानिसलाई ‘मानिस’ बन्न दिँदैन । कृत्रिम भाषाको वा संस्कृतिको नाममा मानिस एकअर्काको शत्रुसम्म बन्ने गर्छ । उपन्यास ‘कोइलाखाद’ मा पनि पात्रहरूले डायस्पोरा भोगेका छन् । र, आफ्नो मुलुक फर्किने सपना बुनेका छन् तर फर्किन निकै कठिन हुन्छ । कारण– त्यहाँ भुँडीको आगोको ताप अनि परदेशमा उब्जिएका कतिपय प्रिय मानवीय सम्बन्धका छाया छन् । हुन पनि बाहिर बस्ने नेपालीले परदेशको ट्राफिक नियम अनि कर प्रणाली त सहजै मान्छन्, तर दशैं–तिहार मनाउँदा वा घरमा कुल पूजा गर्दा प्रत्येक बाहिरिएका नेपालीले आफ्नै मुलुक नै सम्झिने हुन् । होइन र प्रिय पाठक ? यस्तै, कुराहरूले त डायस्पोरिक जीवनको मानसिक पीडालाई चित्रण गर्दो हो । यस विषय प्रिय पाठकले उपन्यास ‘कोइलाखाद’ पढ्दा अवश्य नै अनुभूत गर्नेछन् ।

‘कोइलाखाद’ मा मध्यवर्गीय समाजको चित्रण अत्यन्त सराहनीय छ । उक्त समाजको यथार्थ अवस्था पढ्दा अलिकति पीडा र जुझारूपनको भावना अवश्य नै जाग्छ । तर, पाठकको नाताले उपन्यासमा प्रस्तुत यथार्थताको स्वीकारोक्ति दिन गाह्रो पनि लाग्छ । तापनि, लेखकले नेपाली समुदाय साथै अन्य समुदायको मर्मलाई पूर्ण सौन्दर्यका साथ कथामा बुनेका छन् । उपन्यासमा कतिपय ठाउँमा केही कमजोरी पाठकका रूपमा भेटे पनि म भन्न चाहन्छु, लेखकले यथार्थवादी चित्रण गर्न कुनै कसर बाँकी राखेका छैनन् । 

उपन्यास पढ्दा पाठकलाई अवश्य पनि मेघालयको ‘कोइलाखानी’ अनि नेपाली युवक लोचन र भारतीय खासी युवती रूथको जातिविरूद्ध वा भनौं जात–धर्मको  ‘प्रेममय’ दृश्य मानसपटलमा सजीव भएर आउँछ । र, यो नै एक सिपालु उपन्यासकारको सफलता हो ।

‘कोइलाखाद’ केवल उपन्यास होइन, श्रमजीवीवर्गको पसिना, संघर्ष अनि सपनाको एउटा जीवन्त दस्तावेज हो । लेखकले पात्रहरूको मनोवैज्ञानिक द्वन्द्व र सामाजिक परिबन्धलाई जसरी शब्दमा उतारेका छन्, त्यसले पाठकलाई गम्भीर भएर एकचोटि सोच्नु बाध्य बनाउँछ ।

उपन्यासको भाषा सरल र चोटिलो छ, जसले गम्भीर विषयवस्तु पनि सहजै पाठकको मनसम्मै पुग्छ । यसले हाम्रो समाजमा रहेका वर्गभेद र अभावबीच पनि बाँच्ने अनि संघर्ष गर्ने मानिसको इच्छाशक्तिलाई उजागर गरेको छ । ‘कोइलाखाद’ समकालीन नेपाली साहित्यको एक पठनीय कृति हो, जसले पाठकको हृदयमा लामो समयसम्म गहिरो छाप छोड्न सफल हुनेछ ।

‘कोइलाखाद’ जीवनको अँध्यारो सुरूङमा हराएकाहरूको त्यो कथा हो, जसले श्याम सिंघकका शब्दमार्फत पाठकको चेतनामा बास खोजिरहेको छ । प्रिय पाठक ! के तपाईंले ‘कोइलाखाद’ पढ्नुभयो ? ‘कोइलाखाद’ को पठन–यात्रा पूरा गरिसक्दा तपाईंको मनमा सबैभन्दा बढी कुन पात्र वा दृश्यले घर बनायो ? यो केवल एउटा उपन्यास हो कि तपाईंको जीवनको कुनै एक नसुल्झिएको पाटो ? मलाई अवश्य भन्नुहोस् है !

शैलीका

Link copied successfully