हाम्रो साहित्यिक, सांस्कृतिक पर्यावरण त्यति राम्रो छैन : अमर गिरी

कान्तिपुरसँगको कुराकानीमा गिरीले आलोचनात्मक विवेक र इमानदारीको कमी, विचारको असन्तुलन, संकीर्ण सोचाइजस्ता कारण समालोचनाप्रति निराशा बढेको बताएका छन् ।

जेष्ठ ९, २०८३

फणीन्द्र संगम

Our literary and cultural environment is not that good: Amar Giri

What you should know

प्रगतिवादी कवितामा विद्यावारिधि गरेका अमर गिरीका नवीनतम जम्ल्याहा पुस्तक हुन्- 'समय, शब्द र संवाद' (निबन्ध) र 'रातमा कलम' (कविता) । कविता, समालोचना, निबन्ध र राजनीतिक स्तम्भ लेखनमा समानान्तर कलम चलाउने गिरी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ पनि हुन् । पाँच दशकदेखि प्रगतिशील सांस्कृतिक आन्दोलनमा सक्रिय उनका निबन्ध, तीन समालोचना कृति, ६ कवितासंग्रह प्रकाशित छन् । नयाँ पुस्तक प्रकाशनका सन्दर्भमा उनीसँग कान्तिपुरका फणीन्द्र संगमले गरेको कुराकानी :

भूमण्डलीकरण, बजारवाद र उपभोक्तावाद कवितामा जबर्जस्त प्रवेश गरिरहेको सन्दर्भमा कविताले प्रतिरोध गरिरहेको छ कि बजारसामु आत्मसमर्पण ?

हाम्रा अगाडि दुवै कुरा छन् । भूमण्डलीकरण, बजारवाद, उपभोक्तावादसँग कविताले प्रतिरोध पनि गरेको छ, यसका मूल्यहरूबाट प्रभावित पनि छ । हामी सबैतिर बजार र उपभोक्तावादको तर्क र प्रभाव बलियो भएको समयमा छौं । बजार र उपभोक्तावाद सजिलै ग्रहण गर्न सकिने र मनोरञ्जन प्रदान गर्न सक्ने सामग्रीलाई प्राथमिकता दिन्छन् । यो मनोरञ्जनबाट ज्ञान र सौन्दर्य विस्थापित भएको समय हो । कविता कला हो, सौन्दर्यको स्रोत हो । सौन्दर्य र मनोरञ्जनमा फरक छ । कवितालाई बजार अनुकूल बनाउने कार्य भएको छ । कवितालाई बजार अनुकूल बनाउनु भनेको यसलाई मनोरञ्जनको साधनमा बदल्नु हो । मनोरञ्जन सजिलै उपभोग गर्न सकिने, छिटो आनन्द प्राप्त गर्ने, रमाइलो, समय कटाउने, गम्भीर हुनु नपर्ने उपभोक्तामुखी प्रवृत्तिसँग सम्बन्धित छ ।

सौन्दर्य गहिरो अनुभूति, संवेदनाको विस्तार, आत्मिक परिष्कार, कल्पना, सत्य, पीडा, जटिलता र विरोधाभासहरूसँग साक्षात्कार, द्वन्द्व एवं प्रश्न, आत्मचिन्तन, जीवन र जगत्‌को रूपान्तरणसँग सम्बन्धित छ । भावनाको वस्तुकरण, विचारको शंकरीकरण, प्रदर्शन र सरलीकरण, गहिराइको परित्याग, समाजपरक र सौन्दर्यपरक भूमिकाको आलोचना आदिका माध्यमबाट कवितालाई बजार अनुकूल बनाउने कार्य भएको छ । कविताले यसको प्रतिरोध पनि गरेको छ । यसै कारण बजार र उपभोक्तावादको जगजगीका बीचमा पनि कविता जीवित छ, जीवित रहनेछ । 

तपाईंले क्रिस्टोफर कडवेलदेखि एडोर्नो र बौद्रिलार्डसम्मका चिन्तकलाई उद्धृत गर्दै कविताप्रतिको निराशा देखाउनुभएको छ । उनीहरूलाई निराश बनाउने कविता शिल्पगत कमजोर थिए कि वैचारिक रूपमा खोक्रो ? अहिले लेखिँदै गरेका कविताले त्यो निराशालाई उल्ट्याएर कुनै वैचारिक आशा निर्माण गर्न सकेका छन् ? 

मैले आफ्ना निबन्धमा थियोडोर एडोर्नो, क्रिस्टोफर कडवेल, अक्टोभियो पाज आदिका कवितासम्बन्धी धारणा उल्लेख गरेको छु । कवितालाई लिएर उनीहरूमा गहन निराशा पाइन्छ । तर यो आशाभित्रको निराशा हो । निराशा पुँजीवाद निर्मित उपभोक्तावादी संस्कृति, विश्वयुद्ध निर्मित परिस्थिति, कलाको वस्तुकरण, भाषा र अर्थको विखण्डन, मानवीय मूल्यमा आएको ह्रास आदिसँग सम्बन्धित छ । कविताको कमजोर शिल्प वा वैचारिक खोक्रोपनसँग उनीहरूको निराशा सम्बन्धित छैन ।

'होलोकास्ट'पछि एडोर्नोलाई कविता लेख्नु बर्बरता हो जस्तो लाग्यो । डरलाग्दो अमानवीय हिंसापछि सौन्दर्य, संवेदना र भाषाले आफ्नो नैतिक आधार गुमाएको छ भन्ने उनको धारणा थियो । उनको निराशा पुँजीवाद र संस्कृति उद्योगसँग पनि जोडिएको छ । उनी यिनका कारण कला वस्तुमा रूपान्तरित भएको छ भन्छन् । कलाको वस्तुकरणसँग पनि उनको निराशा सम्बन्धित छ । तर उनले मानवीय पीडालाई अभिव्यक्ति दिनसक्ने कविताको सामर्थ्यलाई बढाउनुपर्ने कुरा पनि गरेका छन् । 

कडवेलको निराशा बुर्जुवा समाजमा कविता सामूहिक जीवनबाट टाढिँदै गएको कुरासँग सम्बन्धित छ । सामूहिक जीवन र आवेगबाट कटेपछि कविताले आफ्नो अर्थ गुमाउँछ । कविता नितान्त व्यक्तिगत अनुभूतिमा सीमित हुन थाल्नु, सामाजिक यथार्थसँग कट्दै जानु, कविताको कलामूल्यमा ह्रास आउनु आदि उनका निराशाका कारण थिए । पुँजीवादका कारण कविता संकटमा छ भन्ने उनको धारणा थियो । उनी कविताले यस स्थितिको प्रतिरोध गर्नुपर्छ पनि भन्थे । 

पाजको निराशा आधुनिक युगका कारण इतिहासको निरन्तरतामा आएको विच्छेदन, बढ्दो एक्लोपन, अर्थको अनिश्चय र क्षय, प्रविधिको विकासले मानिसको सामूहिक र आत्मिक जीवनमा पुगेको क्षतिसँग सम्बन्धित छ । कविताप्रति निराशा व्यक्त गरे पनि कविताको शक्ति र भविष्यप्रति उनीहरूमा गहिरो विश्वास पनि थियो । कैयौं  वर्षपहिले उनीहरूले व्यक्त गरेका धारणा आज अझ गम्भीर र मननीय लाग्छन् । आजको परिस्थितिसँग संघर्ष गर्दै कविताले  जीवन र जगत्को कलात्मक पुनः सिर्जना गरेको छ । उनीहरूको निराशालाई सापेक्ष रूपमा बुझ्नुपर्छ । यस परिस्थितिको प्रभाव नेपाली कवितामा पनि परेको छ । यसको विश्लेषण र मूल्यांकन आउँदा दिनमा हुने नै छ ।

'लेखकको मृत्यु' र 'समालोचकको मृत्यु' जस्ता उत्तरआधुनिकतावादी अवधारणामा बहस भइरहेको छ । तपाईं समालोचनाको वैचारिक आधार उत्तरआधुनिकता होइन भन्नुहुन्छ । तर व्यवहारमा त नेपाली समालोचना त 'निष्प्राण'जस्तै देखिन्छ । के यो वैचारिक संकट हो कि समालोचकहरूको नै बौद्धिक दिवालियापन ?

कैयौं स्रष्टा नेपाली समालोचना मरिसक्यो भन्छन् । उनीहरूको यस्तो धारणा वर्तमान नेपाली समालोचनाप्रति निराशाका रूपमा व्यक्त भएको छ । यो समालोचनाले निर्वाह गर्न नसकेको भूमिकासँग सम्बन्धित छ, उत्तरआधुनिकतावादसँग होइन । मैले आफ्नो एउटा निबन्धमा यस विषयमा चर्चा गरेको छु । ‘समालोचनाको अन्त्य’ वा ‘समालोचना मरिसक्यो’को उत्तरआधुनिकतावादी मान्यता महाआख्यानको अन्त्य,  अर्थको बहुलता, लेखकको मृत्यु, भाषाको अस्थिरता आदि जस्ता धारणासँग जोडिएको छ । उत्तरआधुनिकतावादले परम्परागत समालोचनाका मान्यता र प्रतिमानलाई स्वीकार गर्दैन ।

उत्तरआधुनिकतावाद अझै सक्रिय छ र यसलाई समालोचनामा पनि नियाल्न सकिन्छ । वर्तमान समालोचनाप्रतिको असन्तुष्टि यसमा रहेका कमजोरीका कारण जन्मिएको हो । यही असन्तुष्टि समालोचना मरिसक्यो भन्ने तहसम्म पुगेको हो । कैयौं समालोचकमा पाइने पाठ्यक्रमुखी प्रवृत्ति, आलोचनात्मक विवेक र इमानदारीको कमी, विचार र भावनाको असन्तुलन, प्रतिमान र पद्धतिप्रति गम्भीरताको अभाव, कमजोर पठन, विभाजित र संकीर्ण सोचाइ, समालोचकको दायित्वप्रति उदासिनता आदिका कारण कमजोर बनेको समालोचनाप्रति असन्तुष्टि र निराशा बढेको हो । 

तपाईंको दाबी छ- विचारबिनाको साहित्य सम्भव छैन । तर प्रगतिवादी धारमै पनि फरक विचारप्रति असहिष्णुता किन देखिन्छ ? यो त वैचारिक संकीर्णता भएन र ?

साहित्य विचार र विचारधाराबाट कहिल्यै मुक्त रहेन, आज पनि छैन । यो मेरो विचार होइन यथार्थ हो । कति साहित्यमा विचार हुनुपर्छ, विचारधारा होइन भन्छन् । यस्तो भनाइ पनि यथार्थसम्मत छैन । विचार र विचारधारा एक-अर्काका पर्याय होइनन् । यी दुवै साहित्यमा रहन्छन् । स्रष्टा विचार र विचारधारा निरपेक्ष हुन्न । साहित्यको अन्तर्वस्तु र रूप दुवैमा यो प्रतिविम्बित हुन्छ । प्रगतिवादी धारामा पनि फरक विचारप्रति असहिष्णुता पाइन्छ । यसलाई उचित मान्न सकिन्न । वैचारिक असहमति, आलोचना र असहिष्णुता फरक कुरा हुन् । भिन्न विचारप्रति असहिष्णुता होइन, असहमति हुनुपर्छ । गैरप्रगतिवादी धारामा पनि यो प्रवृत्ति विद्यमान छ । यसबाट पठन र मूल्यांकन पनि प्रभावित छ । हाम्रो खाँचो असहिष्णुता होइन संवाद हो- पूर्वाग्रह, संकीर्णता र असहिष्णुताबाट मुक्त संवाद । 

प्रायः आरोप लाग्ने गर्छ- विचारधाराले साहित्यलाई 'पर्चा' बनाउँछ । मार्क्सवादी विचारक र कवि हुनुको नाताले तपाईंको सिर्जनामा कला र सिद्धान्तबीचको सन्तुलन कसरी कायम हुन्छ ? सिद्धान्तले कविताको सौन्दर्य मिच्ने डर हुँदैन ?

विचारधाराले साहित्यलाई पर्चा बनाउँदैन । साहित्यमा विचारधारा साहित्यको विशिष्ट प्रकृतिमा समाहित भएर आउँछ । जीवन अनुभव, संवेदना, कल्पना आदिसँग मिसिएर आउने विचारधारा विषयवस्तु, भाषाशैली, पात्र, सामाजिक सन्दर्भ आदिका माध्यमबाट व्यक्त हुन्छ । साहित्यलाई विचारधाराको पर्याय मान्ने कुरा मार्क्सवादले गर्दैन । कतिले यस्तो भन्छन् । यो मार्क्सवादी साहित्य सिद्धान्तको अपव्याख्या मात्र हो । कलाको प्रकृतिप्रति सचेत स्रष्टा कला र विचारका सम्बन्धमा स्पष्ट हुन्छन् । उनीहरूको कविताको सौन्दर्य सिद्धान्तबाट थिचिँदैन । मेरा कवितामै तपाईं यसको अनुभव गर्न सक्नुहुन्छ । 

तर यहाँनिर वैचारिक पूर्वाग्रह र संकीर्णतालाई ध्यान दिन आवश्यक छ । पूर्वाग्रही, संकीर्ण र सतही ढंगले हेरियो भने राम्रा रचना पनि कमजोर र विचारले थिचिएका लाग्न सक्छन् । हाम्रो साहित्यिक, सांस्कृतिक पर्यावरण त्यति राम्रो छैन । 

Our literary and cultural environment is not that good: Amar Giri

तपाईंको लेखनमा 'समाज' एउटा मुख्य कडीका रूपमा आउँछ । आजको उत्तर-आधुनिक र उपभोक्तावादी समयमा मानिस बढी आत्मकेन्द्रित बन्दै छन् । एउटा मार्क्सवादी कविको कलमले समाजलाई कुन दिशातिर डोहोर्‍याउने सामर्थ्य राख्छ ? 

यहाँले भने जस्तै उत्तरआधुनिक र उपभोक्तावादी समयमा मानिस बढी आत्मकेन्द्रित बन्दै छन् । यस्तो बेलामा साहित्यको भूमिका महत्वपूर्ण हुन्छ । यद्यपि साहित्यका कतिपय धारा स्वयं यसबाट प्रभावित छन् । ती धाराबाट यसको प्रतिवादभन्दा यसलाई सघाउने काम बढी भएको देखिन्छ । साहित्यको समाजपरक र सौन्दर्यपरक भूमिकालाई महत्व प्रदान गर्ने दृष्टिकोण पनि छ । यस अनुरूप लेखिँदै गरेको साहित्य पनि छ । यो उत्तरआधुनिक र उपभोक्तावादी समाजका अँध्यारा पक्षको आलोचक छ । म आफ्ना सिर्जनामा यस विषयमा गम्भीर र सचेत छु । साहित्यले समाजलाई बदल्न योगदान दिन्छ । मानव समाजको रूपान्तरण र प्रगतिमा साहित्यको महत्वपूर्ण योगदान छ । यो छलफल गर्नुपर्ने विषय हो जस्तो लाग्दैन । 

कलावादीहरू बाहेक अरूले साहित्यको यस भूमिकालाई अस्वीकार गर्दैनन् । साहित्यले समाज बदल्छ भन्ने कुरा बौद्धिक विलासको विषय होइन । साहित्यले मनुष्यको आत्मिक परिष्कार र चेतनाको विस्तारमा दिने योगदानबाटै समाजमा परिवर्तन आउँछ । नेपाली समाजको परिवर्तनमा नेपाली साहित्यको गहकिलो योगदान छ । साहित्यले यो कार्य संज्ञानात्मक, विचारधारात्मक, शिक्षात्मक र सौन्दर्यात्मक प्रकार्यका माध्यमबाट गर्छ ।

लेखकहरूबीच बढ्दो 'संस्थागत राजनीति' (यसलाई गुटबन्दी भने पनि हुन्छ) र अवसरवादबारे गुनासा सुनिन्छन् । आजको लेखक सिर्जनशीलभन्दा बढी ‘पावर सर्कल’मा केन्द्रित हुँदै गएको हो ?

यस्तो प्रवृत्तिको विकास भएको देखिन्छ । यो राम्रो कुरा होइन । स्रष्टा गुटबन्दी, संकीर्णता र अवसरवादबाट बच्नुपर्छ । स्रष्टा राजनीतिमा लाग्न सक्छन् । यसलाई अनुचित मान्न सकिन्न । संकीर्णता, गुटबन्दी र अवसरवादको कुरा बेग्लै हो । शक्ति केन्द्रको पछि लाग्नुभन्दा सिर्जनालाई स्रष्टाले महत्व  प्रदान गर्नुपर्छ ।

नयाँ पुस्ताले राजनीति विकृत भएको आरोप लगाउँछ तर लेखकहरू स्वयं दलगत निष्ठामा विभाजित भई ‘प्रवक्ता’ बन्ने प्रवृत्ति पनि देखिन्छ । लेखकको बौद्धिक जिम्मेवारी कहाँ हरायो ? 

राजनीतिमा विकृति र विसंगति बढेको साँचो हो तर एकथरीबाट यसलाई बढाइचढाइ प्रस्तुत गरिएको पनि सत्य हो । यस्तो प्रवृत्ति यथार्थसँग त्यति मेल खाँदैन । यसका उज्याला-अँध्यारा दुवै पक्ष छन् । हामीले सबै कुरालाई सन्तुलित रूपमा हेर्नुपर्छ । नयाँ पुस्ताले पनि यही गर्नुपर्छ । स्रष्टा राजनीतिक पार्टीको जिम्मेवारीमा रहन सक्छ तर स्रष्टाका रूपमा उसको भूमिका स्रष्टाको जस्तै हुनुपर्छ । दलमा सम्बद्ध हुनुको अर्थ आलोचनात्मक विवेक गुमाउनु होइन । पार्टीमा प्रतिबद्ध रहँदा पनि आलोचनात्मक विवेकसहितको भूमिका स्रष्टाले निर्वाह गर्न सक्नुपर्छ । गलत कुराको पनि प्रवक्ता बन्ने प्रवृत्तिबाट बच्नुपर्छ ।

विश्वव्यापीकरण र बजारमुखी संस्कृतिको तीव्र दबाबबीच नेपाली प्रगतिवादी साहित्यको मौलिकता के हो ? 

यी दुवैलाई आलोचनात्मक रूपमा हेर्नु प्रगतिवादी साहित्यको महत्वपूर्ण पक्ष हो । नेपाली साहित्यमा प्रगतिवादी साहित्य यी दुवै कुराको सबैभन्दा बढी आलोचक छ । संस्कृतिको व्यापारीकरणको विरोधमा उभिनु, साहित्यलाई बजारअनुरूप डोर्‍याउने कुराको आलोचना गर्नु, व्यक्तिवाद र उपभोक्तावादको प्रतिवाद गर्नु, साहित्य एवं मनुष्यको वस्तुकरणको विपक्षमा उभिनु, देशभक्तिको भावना र आफ्नो मौलिकतालाई महत्व प्रदान गर्नु, साहित्यको समाजपरक एवं सौन्दर्यपरक भूमिकाको पक्षमा उभिनु प्रगतिवादी साहित्यका उल्लेखनीय विशेषता हुन् । विश्वव्यापीकरण र बजारमुखी संस्कृतिको तीव्र दबाबका बीच पनि प्रगतिवादी साहित्यले आफ्नो आलोचनात्मक भूमिकालाई निर्वाह गर्दै आएको छ । 

मार्क्सवादले वर्गीय पक्षधरताको कुरा गर्छ । नेपालको बदलिँदो राजनीतिक परिदृश्य र सांस्कृतिक विचलनबीच नेपाली साहित्यले सीमान्तकृत र श्रमिक वर्गको आवाजलाई सही ढंगले प्रतिनिधित्व गरिरहेको छ ?

प्रगतिवादी साहित्यले सीमान्तकृत समुदायको आवाजलाई जे–जस्तो रूपमा अभिव्यक्ति दिएको छ त्यसलाई हेर्दा यसले त्यस आवाजको सही प्रतिनिधित्व गरेको छ । महिला, दलित, आदिवासी जनजाति, मधेशी लगायत सीमान्तकृत समुदायका आवाजलाई प्रगतिवादी साहित्यले मुलुकको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक सन्दर्भसहित अभिव्यक्ति दिएको छ । सीमान्तकृत समुदायको समस्या सांस्कृतिक मात्र होइन, आर्थिक र राजनीतिक पनि हो । यो समस्यालाई वर्गीय समस्यासँग जोडेर हेर्नुपर्छ । संरचनात्मक परिवर्तनका माध्यमबाट मात्र उनीहरूका समस्यालाई समाधान गर्न सकिन्छ ।

एउटा कविको विचार निबन्ध वा लेखमा आउनु र कवितामा आउनुमा के भिन्नता हुँदो रहेछ ? के तपाईंले कवितामा भन्न नसकेका कुरा भन्न निबन्ध र वैचारिक लेखनको सहारा लिनुभएको हो ?

कविता र निबन्धका आ–आफ्ना विधागत प्रकृति छन् । निबन्ध विचार, तर्क र विश्लेषण प्रधान हुन्छ । कविता अनुभूतिपरक, संवेदनात्मक, सङ्केतात्मक, रूपात्मक र कल्पना प्रधान हुन्छ । स्वरूप, उद्देश्य र अभिव्यक्ति शैलीमा पाइने भिन्नताका कारण यी एक–अर्काबाट भिन्न छन् । कविताबाट भन्नुपर्ने कुरा म कविताबाट भन्छु, निबन्धबाट भन्नुपर्ने कुरा निबन्धबाट भन्छु । निबन्धबाट भन्न सकिने कुरा कविताबाट भन्न सम्भव पनि छैन । निबन्ध र वैचारिक लेखनको यो एउटा महत्त्वपूर्ण कारण हो ।

फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।

Link copied successfully