देउडाबाट उडान भरेकी विपना

विपना देउडा र देहोरी दुवै गाउन निकै सिपालु छिन् । त्यसैले दर्शकहरूको साथ पाउँदै आएकी छिन् ।

जेष्ठ २, २०८३

आरती पौडेल

Bipana takes off from Deuda

What you should know

काठमाडौँ — गाउँघरमा हुने देउडा खेल्दा कहिले रात पर्थ्यो । त्यो ‘रात’ प्रति समाजको दृष्टि अँध्यारो थियो । रातसँग छोरीचेलीलाई जोडेर हेर्ने नजरिया असल थिएन । ‘राति  छोरीलाई के गर्न पठाएका हुन् ? छोरीमान्छे बिग्रन्छन्’ भन्दै विभिन्न किसिमका कुरा गाउँलेले घरमा सुनाउँथे ।

यस्ता आलोचनाबीच पनि विपना सिंहले आफ्नो पाइला रोकिनन् । किनभने उनको सबैभन्दा ठूलो शक्ति परिवार सधैं उनको साथमा थियो । भन्छिन्, ‘आफ्नो सन्तानप्रति परिवारको विश्वासका कारण कहिल्यै तिमी गीत नगाऊ, यो पेसा राम्रो होइन भन्नु भएन ।’

स्कुलमा हुने कार्यक्रममा उनी देउडा खेल्न जान्थिन् । सानैदेखि संगीतप्रति गहिरो रुचि राख्ने उनी हरेक प्रतियोगितामा उत्कृष्ट बन्दै गइन् । अरुका कुरा नसुनी आफ्नो सपना पूरा गर्न परिवारले दिएको हौसला नै उनका लागि लाख भइदियो ।

सम्बन्धित समाचार

उनका बुवा पहिले  पत्रकार थिए, अहिले राजनीतिमा सक्रिय छन् । आमा पनि गीत गाउँछिन् । यही वातावरणले विपनालाई अझ आत्मविश्वासी बनायो ।

विपनालाई एउटा क्षण निकै प्रिय लाग्छ । उनी १६ वर्षकी हुँदा सुर्खेतको रंगशालामा हजारौं दर्शकमाझ देउडा खेलेकी थिइन् । उक्त प्रस्तुति सबैले मन पराएका थिए । त्यही क्षणले उनलाई थप ऊर्जा प्राप्त भएको थियो ।

त्यसको केही समयपछि १७ वर्षकै उमेरमा विपना काठमाडौं आइन् । सधै देउडा गाएकी उनलाई काठमाडौं आउनासाथ  इन्द्रेणीमा दोहोरी गाउने अवसर मिल्यो । ‘झल्को लाली ओठको बाटो खुल्यो–मोटर चल्यो जुम्ला काली कोटको’ भाकामा उनले दोहोरी गाएकी थिइन् ।

पहिलो दोहोरी काठमाडौंमा के–कसो होला भन्ने प्रश्न उनको मनमा आएका थिए । तर कलाकार छत्र शाहीसँग गाएको दोहोरी नै जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो । सबै दर्शकले दोहोरी रुचाए । विपनालाई विभिन्न ठाउँबाट  दोहोरी, गीत रेकर्डका लागि प्रस्ताव आउन थाले । उनले एकपछि अर्को हिट दोहोरी समेत गाउन थालिन् । उनले राजु परियार, खुमन अधिकारी, प्रकाश पराजुली आदि कलाकारसँग गाएको दोहोरी दर्शकले निकै रुचाएका छन् ।

Bipana takes off from Deudaउनले गाएका गीत पनि उत्तिकै चर्चित छन् । अरे वा, सुनौली कोल, चर्कालाई चर्कै छु जस्ता गीत उनले गाएकी छिन् । उनले लाइभ दोहोरी, ठाडी भाका ५ सयभन्दा बढी गाएको सुनाइन् ।  

सुदूरपश्चिमदेखि कर्णालीका मेला, महोत्सवमा अफर आउँछन् र उनी सहभागी हुन्छिन् । भनिन्, ‘सबै ठाउँबाट धेरै दर्शकले माया गर्नुभएको छ । कोही त भावुक पनि हुनुहुन्छ । मलाई माया गर्ने हरेक दर्शकलाई देखेर खुसी लाग्छ ।’

विपना देउडा र देहोरी दुवै गाउन निकै सिपालु छिन् ।  त्यसैले दर्शकहरूको साथ पाउँदै आएकी छिन् । उनले भनिन्, ‘प्रत्यक्ष प्रस्तुतिमार्फत देउडा खेल्ने, दोहोरी गाउने भएर होला सबैले मन पराउनुभएको छ ।’ उनले भारतका विभिन्न ठाउँमा दुई पटक पुगेर गाउने अवसरसमेत पाइन् ।

कालीकोट महाबै–४ घर भएकी विपना २० वर्षकी भइन् । अहिले उनी ब्याचलर तेस्रो सेमेस्टरमा कानुन पढ्दै छिन् । गायन क्षेत्रसँगै वकिल बन्ने सपना पनि पूरा गर्ने सोच रहेको उनले सुनाइन् । वकिल बनेर आफ्नो गाउँघरमा हुने महिला–पुरुष असमानताको खाडललाई पुर्ने मन छ उनलाई ।

हिजोसम्म छोरीमान्छे एक्लै कार्यक्रममा जान हुँदैन भन्ने समाज आज भने विपनाले राम्रो गरेको भन्दै प्रशंसा गर्छन् । ‘अहिले सबैले माया गर्नुहुन्छ । म गीत गाउन गएको कार्यक्रममा पनि आउनुहुन्छ खुसी लाग्छ ।’

उनी परम्परा, संस्कृति झल्कने पोसाकमा प्रायः मेला–महोत्सवमा पुगेकी हुन्छिन् । जसलाई सबै दर्शक–श्रोताले मन पराइरहेका छन् । आउँदा दिनमा पनि यसरी नै आफ्नो संस्कार र संस्कृति जोगाउँदै अगाडि बढ्ने चाहना रहेको उनले सुनाइन् ।

‘देश–विदेशमा बस्ने सबैबाट सधै यसरी नै साथ, माया पाऊँ भन्ने छ,’ उनले भनिन्, ‘आफ्नो गाउँठाउँ, भाषा, संस्कृति चिनाउन सधै यसरी नै अगाडि बढ्ने छु ।’

दूरका सितारा

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully