कथामा अनेकौँ उपकथाहरू जोडिएका छन् । प्रत्येक कथाको प्रस्तुतिशैली फरक छ । कथासङ्ग्रको नामले भनेजस्तै प्रेम त प्रत्येक कथामा छन् तर ती भग्न छन् भत्किएका छन् । कतै सग्लो र दागरहित देखिँदैन ।
What you should know
‘भग्न प्रेमशाला’ खगेन्द्र गिरीको पहिलो कथासङ्ग्रह हो । पत्रकारितालाई पेसा र पहिचान बनाएका उनको प्रस्तुत कथासङ्ग्रहले नेपाली कथासाहित्यमा पृथक् तरङ्ग छोड्न सफल देखिन्छ । यस कृतिमा भएका नौवटा कथा पढिसकेपछि यस्तो लाग्छ, कथा केवल यथार्थको चित्रण मात्र होइन र कथा यस्तै हुनुपर्छ भन्ने परिभाषाको फ्रेमभित्र खुम्चिएर बस्ने विधा पनि रहेन । अपेक्षाकृत लामो आयाममा फैलिएका यस कृतिका कथाहरू परम्परित कथाभन्दा पृथक् छन् । नवीन छन् र प्रयोगपरक छन् । यी कथाहरूले पत्रकार खगेन्द्र गिरीलाई समकालीन नेपाली कथासाहित्यका उम्दा कथाकारका रूपमा स्थापित गरिदिएका छन् ।
कथामा प्रयुक्त अन्तर्वस्तु सामान्य छैनन्, यी रहस्यमयी छन् । ती रहस्यहरूलाई कथामा जुन किसिमले अनावरण गरिएका छन्, त्यसले हाम्रा परम्परित सोच र धारणाालाई भत्काइदिन्छन् । यहाँ पात्रहरूको चरित्र रहस्यमय देखिन्छ । घटना रहस्यमय तरिकाले घटित हुन्छन् । दृश्यहरू रहस्यमय बनेर आउँछन् । यस्ता रहस्यहरूले कथालाई रोमाञ्चक त बनाएको छ नै यसले पाठकलाई गहिरो सोचमा पनि डुबाइदिन्छन् । यस कृतिका कथालाई शक्तिशाली र प्रभावकारी बनाउन विभिन्न तत्वको भूमिका रहेको छ र पनि सबैभन्दा प्रभावकारी लागेको पक्ष भनेको चरित्र निर्माण र चरित्र चित्रण हो । यहाँ चरित्रलाई यति जीवन्त रूपमा प्रस्तुत गरिएको छ कि, पाठकलाई लाग्छ पात्र यहीँ छ । मसँगै छ ।
सप्तरी जिल्लाबाट आएर सात वर्षदेखि माछा काट्ने काम गरेको ‘चिसो’ कथाको म पात्रले भनेको 'हरेक दिन पसल आइपुग्दा साहु सोध्छ, के छ ? चिया खाइस् ? उसले दिनभरिमा गर्ने मीठो बोली यत्ति हो । यति सुनेरै मलाई लाग्छ यो सहरमा अर्को एकदिन गुजार्न सकिन्छ । नत्र त यो लासहरूको सहर हो । नभए मैले यत्रो वर्ष बिताएको सहरमा मसँग किन कोही एक वचन मीठो बोल्दैन ? एक नजर मायाले हेर्दैन ? किन कोही मलाई चिन्दैन ? यही पृथ्वीकै सतहमाथि हिँडिरहँदा पनि किन कोही मलाई देख्दैन ?' अभिव्यक्तिले भुर्इँमान्छेको यथार्थ र अस्तित्वप्रति संवेदित बनाईदिन्छ । सहरीया मानसिकता र मान्छेको संवेदनाहीनतालाई देखाउन यस कथामा म पात्रको उपस्थिति निकै प्रभावी बनेर आएको छ ।
यसैगरी ‘हगनगौँडा’ शीर्षक कथाको पात्र जो सहरको प्रतिष्ठित मिडियाकर्मी र सबैले मानेको नम्बर एक सम्पादक आनन्दले भनेको “म यो ढाँटछलको अवतार त्याग्न चाहन्छु । अब म त्यही पुरानो म बन्न चाहन्छु । तर, मैले त्यो पुरानो मलाई बिर्सिएँ । आफैँलाई बिर्सिएँ । अभिनय गर्दागर्दा, नाटक गर्दागर्दा । झुटो बोल्दाबोल्दा म म रहिनँ । झुट साँचो भो, यथार्थ मिथ्या भो । आफूलाई खोज्दा पनि मैले भेट्टाइनँ, ऋचा ! म आफैँ आफू बन्न सकिनँ । मैले आफूलाई गुमाइसकेँ ।'
कतिपय कथाहरूमा पात्रअनुसारको भाषाको अभाव र समाख्याताको अभिव्यक्तिमा कथाकार हावी भएको स्थितिले अस्वाभाविक बनाएको देखिन्छ भने कतै प्रयोगका नाममा विषयलाई क्लिष्ट बनाइनु यी कथाहरूमा पाइने कमजोर पक्ष हुन् ।यो भनाइले पनि आज मान्छेले निर्माण गरेको तथाकथित आदर्शलाई भत्काइदिएको छ । समाजले जुन कुरालाई आदर्शीकरण गरेको छ, जुन कुरालाई प्रतिष्ठा र इज्जत मानेको छ त्यो कुरा नै कति खोक्रो र आडम्बरी छ भन्ने कुरा यसमा देखाइएको छ । कथाका सबै पात्रहरू आआफ्नै भूमिकाका लागि महत्वपूर्ण छन् । तर तुलनात्मक रूपमा हेर्दा कथामा नारी चरित्रभन्दा पुरुष चरित्र अझ जीवन्त र प्रभावकारी बनेर आएको देखिन्छ । समग्र कथामा आएका सबै प्रकारका पात्र र तिनका असामान्य जीवन र रहस्यमयी चरित्रले आजका मानिस, समाज र प्रवृत्तिलाई सूक्ष्मरूपमा देखाउन सफल भएका छन् ।
प्रस्तुत सङ्ग्रहका कथाहरूमा पाइने अर्को महत्वपूर्ण पक्ष मृत्युचिन्तन हो । कुनै न कुनै रूपमा कथामा मृत्युको प्रसङ्ग आएको छ । मृत्युले नजिकैबाट छोएर गएको छ । मान्छेका मृत शरीर र हत्याको सन्दर्भहरू आएका छन् । खास गरी साहित्यमा मृत्युचिन्तन दार्शनिक, मनोवैज्ञानिक र विसङ्गतिबोधी चिन्तनका रूपमा आउने गर्दछ । दार्शनिक अर्थमा मृत्युलाई केवल जैविक घटनाका रूपमा मात्र हेरिँदैन यसलाई पुनर्जन्मका प्राप्तिका रूपमा लिइन्छ तर यी कथाहरूमा प्रयुक्त मृत्युसन्दर्भलाई हेर्दा त्यो कुरा आउँदैन बरु विसङ्गतिवादले भनेजस्तो ‘यदि जीवन निरर्थक छ भने मानिस किन बाँचिरहन्छ ?’ भन्ने चिन्तन यी कथाका पात्रहरूमा हावी भएको देखिन्छ ।
‘निर्मुक्त स्त्री’ कथामा कल्पनाकी आमाको मृत्यु भएको छ र एउटी नारी रुखमा झुण्डिएर मरेकी छ । ‘मखमल’ कथामा हत्याको आरोपमा मखमल लामो समय जेल बसेको छ । ‘किमा पराठा’ कथामा एउटा पूर्वलडाकु मर्न र मार्न उत्साहित छ र मृत्युकै सन्दर्भहरू आएका छन् । यसैगरी ‘चिसो’ कथामा पनि मृत्यु र हत्याकै सन्दर्भ जोडिएको छ । यस कथाकी पात्र कविताको काम नै लासको व्यवस्थापन गर्ने रहेको छ र अन्त्यमा उसले आफ्नै बाबुको हत्या गरेकी छ भने ‘हाप्सिलो’ कथामा पनि प्रतीकात्मक रूपमा मुटु कलेजो खाने हाप्सिलोजस्तो मान्छेको चरित्रलाई प्रस्तुत गरिएको छ र ‘हगनगौँडा’ कथामा जीवनमा पद, प्रतिष्ठा, धन सबै प्राप्त गरिसकेका महिला र पुरुष आत्महत्या गर्न पुगेको अवस्थालाई देखाइएको छ ।
यसरी हेर्दा यी कथाहरूले मानिस हरेक पल मृत्युको सम्भावना बोकेर बाँचिरहेको हुन्छ र मान्छेको चिन्तन अधिकांशतः मृत्युको विषयमा नै केन्द्रित भइरहेको हुन्छ भन्ने कुरा देखाएका छन् । मान्छे कि त मर्छु कि वा कसैले मार्छ कि भनेर डराइरहेको हुन्छ, कि त त्यो मरिदिए पनि हुने वा त्यसलाई मार्न पाए पनि हुने भनेर सोचिरहेको हुन्छ या त कोही प्रियजन वा परिवारका सदस्य मर्छन् कि भनेर चिन्ता गरिरहेको हुन्छ र समग्रमा हरेक मान्छेले जीवनमा सबैभन्दा बढी मृत्यु चिन्तन नै गरिरहेको हुन्छ भन्ने कुरा यी कथाहरू पढिरहँदा महसुस गर्न सकिन्छ ।
मुख्य रूपमा मखमल, किमा पराठा, चिसो, खुकुरी, हाप्सिलो, हगनगौँडाजस्ता कथामा हत्या, आत्महत्या र मृत्युका सन्दर्भहरू कथाको अन्तर्वस्तु वरिपरि घुमेका छन् । यी कथाहरूमा कतै युद्धको त्रासदी र हत्याहिंसाको ऐतिहासिक प्रसङ्ग आएको छ भने कतै हत्याको आरोपमा कैद भुक्तान गरेर फर्किएको युवकको कथा छ । कतै लासघरको परिवेश छ र लास बनिसकेपछि मात्र मान्छे, मान्छेजस्तै शान्त बनेको दृश्यको वर्णन गरिएको छ भने कतै इतिहासको विभिन्न कालखण्डमा युद्ध, षड्यन्त्र तथा अन्यायमा परी काटिएका, मारिएका मान्छेको हृदयविदारक घटनालाई कथानक बनाई प्रस्तुत गरिएको छ । अनि कतै आत्महत्या गर्न हिँडेका पात्रहरूको मनोवाद र संवादलाई प्रस्तुत गरिएको छ । यसरी हेर्दा यस कृतिका अधिकांश कथामा मृत्युचिन्तन अभिव्यक्त भएका छन् ।
कथा आयामका दृष्टिले लामा छन् । कुनै लामो कथाजस्तो र कुनै लघुउपन्यासजस्तो । विषयका दृष्टिले पनि फराकिला छन् । यी कथाहरू एउटै घटना र पात्रमा मात्र जेलिएका छैनन् । त्यसैले प्रत्येक कथा पढिसकेपछि उपन्यास पढिसकेर प्राप्त गरेको पूर्णता जस्तो अनुभूति हुन्छ । कथाको विषय एउटै देखिए पनि त्यसले प्रकाशित गरेका सत्यहरू अनेकौँ छन् । कतिपय सत्यलाई त मान्छेको नाङ्गो आँखाले देख्नै नसक्दोरहेछ । कतिपय सत्यलाई दिमागले देख्छ, कतिपय आवाजलाई आँखाले सुन्छ अनि कतिपय यथार्थलाई कानले बुझ्छ, यी कथाहरू पढिरहँदा यसकिसिमको चिद्वैषम्यको बोध हुन्छ । अन्तर्वस्तुका दृष्टिले कथा विविधतापूर्ण छ ।
सामाजिक, सांस्कृतिक र पर्यावरणीय पक्षमा भन्दा पनि मानवीय समाजका विसङ्गत र अँध्यारा पक्षहरूलाई कथाले सूक्ष्मरूपमा प्रस्तुत गरेको छ । निर्मुक्त स्त्री पितृसत्तात्मक समाजमा बाँचेका नारीजीवनका विभिन्न मोडहरूलाई देखाइएको कथा हो । नारी आफैँ बनेका हुँदैनन् उनीहरूलाई सामाजिक सोच र परिस्थितिले निर्माण गरेको हुन्छ भन्ने कुरालाई कल्पनाका माध्यमबाट देखाइएको यस कथामा जीवनका विभिन्न घटना, ती घटनाको प्रभावले बनेको नारी मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । मखमल कथा हत्याको आरोपमा लामो समय जेल बसेर निस्किएको एक युवकको कथा हो । बाबाको मृत्युपछि आफ्नो परिवारको उठीबास लगाउने दलेको हत्याको आरोपमा जेल बसेको उसलाई जेलबाट छुट्न मन छैन । जेलभन्दा बाहिरको सहर अझ बढी विद्रुप र असुरक्षित लाग्छ ।
सहरलाई पर्खालहरूको जेल देख्ने मखमलको अनिश्चित भविष्य र उसको मनोविज्ञानलाई यस कथामा प्रस्तुत गरिएको छ । अदृश्य, अतः निहत्था शारीरिक अपाङ्ता भएको एउटा पुरुषको विवशतालाई प्रस्तुत गरिएको छ । कथामा समाख्याताले चित्रण गरेको 'प्रश्नहरू जतिसुकै कठिन किन नहोउन् ऊ खिस्स मुस्कुराउँथ्यो, मिलेको दन्तपङ्क्ति देखाउँथ्यो, सकल्ती हातले टाउको कन्याउँथ्यो र परिआएको बेहोथ्र्यौं । उसलाई गर्नु केही थिएन । फगत सहनु थियो । ऊ सजिलै सहिदिन्थ्यो । किनकि, एकचोटी दुर्भाग्य सहिसकेको मान्छेलाई फेरिफेरि सहनु उस्तो कठिन पनि नहुँदो रहेछ । र दुर्भाग्य त हमेसा उसको भागमै थियो' भन्ने अभिव्यक्तिले नै यस कथाको मूल मर्मलाई प्रस्तुत गरेको छ ।
यसैगरी किमा पराठा प्रतीकात्मक कथा हो । यसमा भोकको कथा छ । खानाको भोक, पैसाको भोक, युद्धको भोक । यी भोकहरू भ्रम थिए, यसको कुनै तृप्ति थिएन । यस्तै विडम्बनाले घेरिएको पात्रको कथा यसमा छ । खास गरी माओवादी युद्ध र यसका विसङ्गत पक्षलाई सङ्केत गरिएको यस कथामा राजनीति के का लागि भन्ने गम्भीर प्रश्नलाई उठाई राजनीतिप्रति व्यङ्ग्य गरिएको छ । चिसो प्रयोग र चरित्रचित्रणका दृष्टिले अद्भूत हो । कथामा युवक र युवती दुई पात्र छन् । बाहिरबाट हेर्दा सिधा, सरल र कर्तव्यनिष्ठ तर भित्रबाट असामान्य ।
म पात्रलाई समाख्याता बनाएर लेखिएको यस कथामा प्रेम र यौनको सन्दर्भलाई प्रतीकात्मक रूपमा र स्वैरकल्पनाका माध्यमबाट प्रस्तुत गरिएको छ । स्माइल प्लिज ! समाज मनोविज्ञान र व्यक्ति मनोविज्ञानलाई प्रस्तुत गरिएको कथा हो । यहाँ शुभेच्छा नामकी पात्रको मनोविज्ञान मात्र होइन आडम्बर र देखावटीमा रमाउने मानिसहरूको संवेदनाहीन प्रवृत्तिलाई देखाइएको छ । त्यस्तै खुकुरी कथामा इतिहासका दुखान्छ घटनाहरूको सन्दर्भ आएको छ । मृतकहरूसँग अन्तर्वार्ता लिइएको यस कथामा इतिहासमा सत्य र यथार्थ कुरा छोपिएको पनि हुनसक्ने भएकाले मृतकसँग नै सोधेर इतिहासमा भएका युद्ध र हत्याका विषयलाई कथाका माध्यमबाट व्यक्त गरिएको छ ।
हाप्सिलो कथा स्वैरकल्पनाको प्रयोग गरी लेखिएको अद्भुत कथा हो । जादुयी यथार्थजस्तो लाग्ने यस कथामा प्रतीकात्मक रूपमा मानवीय क्रुरतालाई देखाइएको छ । बाह्र वर्षकी केटी धुनको मनोवादात्मक शैलीमा लेखिएको यो कथा विषय, पात्र र पात्रका नाम, घटना आदिको प्रस्तुतिमा प्रयोग गरिएको छ । असामान्य विषयवस्तुलाई सामान्य रूपमा प्रस्तुत गरी एउटी नारीले जीवनमा निर्वाह गर्नुपर्ने अनेक किसिमका जटिल भूमिका र अवस्थालाई प्रतीकात्मक रूपमा देखाइएको छ भने हगनगौँडा कथा आजको सभ्य र समृद्ध लाग्ने उच्च तहका व्यक्तिहरूको बाहिरबाट देखिने जीवन र उनीहरूले भित्रबाट भोग्ने जीवनका बीचको वैषम्यलाई देखाइएको छ ।
सामान्यतया कुनै एक पात्रको जीवनको एउटा घटना वा पक्षलाई कथानक बनाएर कथा लेखिने गरिए पनि यी कथा भने संरचनागत रूपमै पृथक् छन् । यहाँ कथानकको क्रमभङ्गता र रिक्त स्थान अर्थात् अन्तरालहरू छोडिएका छन् । जस्तै मखमलको जीवनको बीस वर्षको अन्तराल, कल्पनाको जीवनको बिचबिचको समयको अन्तराल अनि मैनवर र आनन्दको जीवनको अन्तरालहरू कथा रिक्त देखिन्छन् । यी पात्रहरूको जीवनको अन्तरालमा हुन सक्ने सम्भावित कुराहरूलाई पूरा गर्ने काम कथाकारले पाठकलाई नै जिम्मा दिएका छन् ।
मानौँ कथाकारको दावा छ कि, केही सन्दर्भहरू मैले भनिसकेपछि अरु त आफैँ बुझ्नु पर्यो नि नत्र त कथाका पात्रसँग समभाव र समानुभूति कसरी हुन्छ र ? कथामा घटना वा दृश्यको सपाट वर्णन छैन सङ्केतमा देखाइएको छ । कथाकारले थोरैभन्दा थोरै शब्दमा कथानक प्रस्तुत गर्ने प्रयास गरेको देखिए पनि कथा अपेक्षाकृत रूपमा लामो बन्न पुगेको छ किनकि, यहाँ उपस्थित पात्रको जीवन नै यति जटिल र रहस्यमयी छन् कि, तिनलाई अथ्र्याउन नै मुस्किल छ ।
कृतिको अन्तिम खण्डमा राखिएको पात्र सूची पनि यस कृतिमा गरिएको नयाँ प्रयोग हो भने बिसौन्यूद्गार पनि कथाकारको लेखनसन्दर्भ र कथाको रचनागर्भ बुझ्नका लागि सहयोगी देखिन्छ । यहाँ कथाकारले भनेको ‘मिथ्या संसार खडा गरेर, झुटा कुरा गरेर पनि सत्य बोध गराउन सकिन्छ कि भन्ने एउटा मरन्च्यासे आशा’का रूपमा जन्मिएका यी कथाहरू पढिरहँदा के यो कल्पना मात्र हो त ? कथाले निर्माण गरेको संसार मिथ्या संसार नै हो त ? भन्ने प्रश्न उब्जिए पनि पाठकमनले यी कथाहरूलाई मिथ्या स्वीकार्न सक्दैन र यसलाई सत्य मान्न पुग्दछ ।
त्यसैगरी यसै सन्दर्भमा कथाकारले गरेको अर्को स्वीकारोक्ति ‘आफैँले खडा गरेको झुटो संसारमा क्षणभर भए पनि टाउको लुकाउँदा पाइने अपरिमित आनन्द’मा उनी आफू मात्र होइन, पाठकलाई पनि निमग्न हुनेगरी यी कथाहरूमा डुबाइदिएका छन् । कुनै थ्रिलर सिनेमा हेरेजसरी सास थामेर पढ्नुपर्ने सन्दर्भहरू आएका छन् केही कथामा । सत्य उज्यालोमा मात्र देखिँदैन अनि इतिहास कलमले लेखेर मात्र बन्दैन भन्ने यथार्थ यी कथा पढेपछि बोध गर्न सकिन्छ ।
कथामा अनेकौँ उपकथाहरू जोडिएका छन् । प्रत्येक कथाको प्रस्तुतिशैली फरक छ । कथासङ्ग्रको नामले भनेजस्तै प्रेम त प्रत्येक कथामा छन् तर ती भग्न छन् भत्किएका छन् । कतै सग्लो र दागरहित देखिँदैन । प्रेमशाला त कथाको परिवेशमा जताततै छ तर ती प्रेमशालामा प्रेम पाइँदैन । यो आजको यथार्थ हो । यी कथाहरू हाम्रै परिवेशका पात्रलाई उभ्याएर लेखिएका भए पनि ती अलि नयाँ लाग्छन् । यसअघिका कथामा कतै पनि नभेटिएका जस्ता बिराना अनि हाम्रै वरिपरि भएर पनि हामीले नचिनेका अपरिचतजस्ता ।
त्यसैले यी कथाहरूले अनावरण हुन बाँकी रहेका मानवीय जीवनका कयौँ पाटोहरूको उद्घाटन गरेका छन् । केही कथामा अतियथार्थवाद र प्रतीकवादको व्यापक प्रयोग गरिएकाले सामान्य पाठकलाई कथा दुरुह लाग्ने सम्भावना भए पनि कथाको भाषा र शैलीले भने सम्मोहित बनाउँछ । कतिपय कथाहरूमा पात्रअनुसारको भाषाको अभाव र समाख्याताको अभिव्यक्तिमा कथाकार हावी भएको स्थितिले अस्वाभाविक बनाएको देखिन्छ भने कतै प्रयोगका नाममा विषयलाई क्लिष्ट बनाइनु यी कथाहरूमा पाइने कमजोर पक्ष हुन् ।
अन्त्यमा, 'यहाँको हावामै दुःखको बहाव छ । उकुसमुकुस छ, ओसिलो पन छ, चिसोपन छ । बाबु पेसेवर जँड्याहाँजस्तो छ, आमा स्थायी मानसिक रोगी । तरुनी छोरी मुर्दाघरमा काम गर्छे । मजस्तो पुछारको केटोसँग झ्याम्मिन खोज्छे । केही न केही गडबडी छ पक्का । म विश्वस्त हुन्छु ' (पृ.१०७) भनेर कथाको पात्रले आफ्नो परिवेशप्रति जुन किसिमको अनुभूति व्यक्त गरेको छ, ठीक यही अनुभूति यस कृतिका कथाहरू पढिरहँदा पाठकले अनुभूत गर्न पुग्छन् । यो समाजमा केही त गडबडी छ । मान्छेको सोच र उसको जीवनशैलीमा केही अन्तर्विरोध र विरोधाभास छन् भन्ने कुराको बोध गराउन सक्नु यस सङ्ग्रहका कथाहरूको विशेषता हो ।
यी कथाहरू पढ्नु केवल कथा पढ्ने काम मात्र थिएन । मेरो लागि यो अज्ञात विषयतर्फको यात्रा थियो । आफूले नभोगेका, नदेखेका र अनुमानसमेत पनि नगरेका कुराहरूसँगको सादृश्य अनुभूत गर्नु थियो । मलाई यी कथा पढिसकेपछि के लाग्यो भने शताब्दीयौँअघि प्लेटोले भनेजस्तै ईश्वरले यो वास्तविक संसारको निर्माण गरेजस्तै साहित्यकारले सृजनाका माध्यमबाट कल्पनिक संसारको निर्माण गर्न सक्छन् र जीवन र जगत्का अविदित सत्यहरूलाई उजागर गरिदिन सक्छन् भन्ने कुरालाई यी कथाहरूले चरितार्थ गरेका छन् ।
