किताब-वार्तामा आख्यानकार केशव दाहालले भनेका छन्- ‘इथा मल्लकालको अन्त्यतिरबाट प्रारम्भ हुन्छ, हुइँकिएर अतीतको बाटोमा फर्कन्छ र पुग्छ, किरातकालमा । यसरी हेर्दा, यो बुद्धकालीन समयको कथा हो ।’
What you should know
काठमाडौँ — आख्यानकार केशव दाहालको मायावी, अलौकिक र ऐतिहासिक उपन्यास ‘इथा’ ले भन्छ– इतिहासमा इतिहास मात्रै हुँदैन, कथामा कथा मात्रै हुँदैन । समयको लय इतिहास र कथाको सम्मिलन हो । अर्थात् समय इथा हो । इतिहासअघिको इतिहासमा जमेको धुलोका पत्रहरूमार्फत् लेखक कुमारी वसुधा, नयनतारा र सैरन्द्रीको जीवनचरित्र लेख्छन्, नरबलिको कथाको अँध्यारो गुफाको परिभ्रमण गर्छन् । ‘
इथा’ मा छ– किंवदन्ती र कथाको सुगन्ध । करिब २४०० वर्षअघिको वैशाली–युगबाट सुरु भएको नयनतारा र लिच्छवीहरूको साहसिक प्रवास–यात्रा मञ्जुपट्टन (काष्ठमण्डप) सम्म पुग्छ, जहाँ सौमरहरूमाथि तिनले विजय हासिल गर्छन् र नयाँ राज्य कोलिग्रामको जग बस्छ । ‘इथा’ माथि केन्द्रित भई ‘कोसेली’ का लागि केशव दाहालसँग दीपक सापकोटाको किताब–वार्ता :
‘इथा’ उपन्यास लेख्ने सोच कसरी आयो ? यसको मूल प्रेरणा के हो ? वैशालीबाट मञ्जुपट्टनसम्मको लिच्छवि यात्राको ऐतिहासिकतालाई तपाईँले कसरी कथामा जोड्नुभयो ?
मलाई सभ्यताको आँखिझ्याल निर्माण गर्न र त्यसबाट पुर्खाहरूले हिँडेको गोरेटो चिह्याउन मनपर्छ । इथा मेरालागि हाम्रो विगत चिह्याउने त्यही स्मृतिको आँखिझ्याल हो । जहाँबाट देखिन्छन् अनेकौँ पौराणिक, मिथकीय र काल्पनिक पात्रहरू र भेटिन्छन् उनीहरूका कथाहरू ।
हाम्रो इतिहास, पुराण र कथा भित्र गुमनाम बसेका तिनै पात्रहरू नै इथा लेखनका मेरा प्रेरणा हुन् ।
म हाम्रो सभ्यताको त्यो कालखण्डलाई स्पर्श गर्न चाहन्थे, जहाँबाट समयले नयाँ गोरेटो समातेको होस् । यसका लागि मलाई इतिहास भनेर मात्र पुग्दैनथ्यो, न त कथा भनेर मात्र पुग्थ्यो । त्यसैले मैले इथा लेख्ने सोच बनाएँ ।
किनभने हामी कुनै पनि समयलाई जान्न चाहन्छौँ भने इतिहास जानेर मात्र पुग्दैन, कथा पनि जान्नुपर्छ र कथा जानेर मात्र पुग्दैन इतिहास पनि जान्नुपर्छ । हामीले इतिहास र कथालाई एक्काएक्लै छोड्यौँ भने, दुवै अधुरो हुन्छन् ।
अतः इतिहास र कथाको त्यही अधुरोपनलाई जोडेर मैले हाम्रो सभ्यताको एउटा कालखण्डलाई पूर्ण बनाउने कोसिस गरेको हुँ । यसका लागि मैले इतिहासका तथ्यलाई बीउ बनाएँ र कल्पनालाई वर्षा— त्यसपछि इथा उम्रियो । भयो के भने, इतिहासले मलाई दिशा दियो र कथाले आफ्नो बाटो आफैँ खोज्दै गयो ।
इथाले हाम्रो इतिहासको कुन समय र सन्दर्भ उजागर गर्छ ?
इथा, मल्लकालको अन्त्यतिरबाट प्रारम्भ हुन्छ र हुइँकिएर अतीतको बाटोमा फर्कन्छ र पुग्छ, किरातकालमा । यसरी हेर्दा, यो बुद्धकालीन समयको कथा हो । जतिबेला भारतवर्षमा १६ वटा महाजनपदहरू थिए र यता उपत्यकामा थियो किरात राज्य । जसलाई मैले इमानसिंह चम्जोंगको शब्द लिएर सौमर भनेको हुँ ।
त्यो समय मगधमा राजा बिम्बिसारलाई उनकै पुत्र अजातशत्रुले कैद गरेर शासन आफ्नो हातमा लिएका थिए । त्यो समय वैशालीमा राजा थिए प्रमाती । त्यो समय, उपत्यकामा अन्तिम किरातीराजाको शासन थियो । त्यो समय भगवान बुद्ध जीवित थिए ।
यसरी हेर्दा, इथा एउटा सन्धिकालको कथा हो, जसले भारतवर्षको उथलपुथल त बयान गर्छ नै, लिच्छविहरूको उपत्यका प्रवेशको कथा पनि भन्छ । यस्तो कथा, जहाँबाट हामी नयाँ सभ्यतातर्फ प्रवेश गर्दैथियौँ । तर यहाँ सन्धिकालको अर्थ केवल राजनीतिक परिवर्तन होइन, सभ्यताको रूपान्तरण पनि हो ।
वैशालीको प्राचीन गणतन्त्रबाट सुरु भएको कथालाई तपाईंले मञ्जुपट्टनसम्म (काठमाडौं उपत्यका) विस्तार गर्नुभएको छ । वैशालीको सांस्कृतिक धरोहरले ‘इथा’ मा कस्तो भूमिका खेलेको छ ?
अहिले हेर्दा न त कतै वैशाली छ, न त मञ्जुपट्टन । तर आजको हाम्रो सभ्यतालाई गहिरोसँग हेर्यौँ भने यसको कणकणमा वैशाली र मञ्जुपट्टनको रंग, स्वाद र सुगन्ध भेटिन्छ । हाम्रो दैनिक जीवन, धर्म, कर्म, न्याय प्रणाली र समाज व्यवस्थामा मैदानी आर्य र पहाडी किरातहरूको प्रभाव यत्रतत्र अभिभाज्य छ । वैशालीको राज्य व्यवस्था, खुलापन, र ज्ञान संस्कृतिले इथाको आत्मा जागृत गरेको छ ।
र, मञ्जुपट्टनको सरलताले, बढाएको छ इथाको सौन्दर्य ।
इथाकी मुख्य पात्र नयनताराकै चरित्रलाई हामीले हेर्यौँ भने, वैशालीले उनीभित्र स्वतन्त्रताको बीउ रोप्छ, जुन उपत्यकामा फुल्छ र पल्लवित हुन्छ । त्यसैले ‘इथा’मा वैशाली एउटा भूगोल मात्र होइन, सभ्यता हो र हो जीवन प्रवाह, त्यसैगरी मञ्जुपट्टन हो प्राकृतिक जीवनधारा ।
उपन्यासमा, जब नयनताराका माध्यमबाट वैशाली र मञ्जुपट्टनका दुई भावधाराहरू एकाकार हुन्छन्, त्यसपछि जन्मन्छ, हाम्रो सभ्यताको नयाँ व्याकरण । यसरी हेर्दा उपन्यासका लागि वैशाली वज्जी महाजनपदको राजधानी मात्र होइन, कथाले भन्न चाहेको चेतन सभ्यताको उद्गम हो । र हो, समयको आद्य–ध्वनि ।
हाम्रो सभ्यतालाई आकार दिन, वैशालीको जागृत स्पन्दन र मञ्जुपट्टनको रहस्यमय सरलतालाई जोड्ने एउटा सेतु आवश्यक थियो । इथामा मैले त्यो सेतु निर्माण गर्ने कोसिस गरेको छु र त्यो सेतुको बलियो खम्बा बनेर उभिएका छन् वैशाली र मञ्जुपट्टन ।
तपाईँ पुरुष भएर नारी पात्र नै किन रचना गर्नुभयो ? नारी पात्र रचना गरिरहँदा तपाईँमा उनीहरूलाई कसरी न्याय गरौँला भन्ने प्रश्न वा द्विविधा आएन ?
म इतिहासमा गुमनाम हाम्रा आदि माताहरूलाई न्याय गर्न चाहन्थे । हामीले पढ्ने इतिहास सधैँ राजा, महाराजा, सेनापति र आचार्यहरूको सूचीजस्तो लाग्छ । उनीहरू चक्रवर्ती हुन्छन् । ज्ञानी हुन्छन् । रहस्यमय हुन्छन् । जसलाई इतिहासले फूलबुट्टा भरेर प्रस्तुत गर्छ ।
तर ती नामहरूको सूचीभित्र न त महिलाहरू भेटिन्छन्, न त सभ्यताको भावधारा र वेग । इथा मार्फत, ती नामहरूको थुप्रोमा म केही नाम थप्न चाहन्थे, जो राजा झैँ बहादुर त हुन् नै सँगै उनीहरूभन्दा धेरै विवेकशील, दृढ र भव्य हुन् । र हुन् महिलाहरू ।
त्यसका लागि मैले नयनतारा बनाएँ । यसरी मैले पुरुषसत्ताले निर्माण गरेको आधा इतिहासमा नयनताराहरूको नाम थपेर त्यसलाई पूर्ण गरेको हुँ ।
जहाँसम्म पुरुष भएर, महिला पात्रमाथि न्याय होला भन्ने प्रश्न छ, प्रत्येक पुरुषभित्र महिलाको अंश हुन्छ र प्रत्येक महिलाभित्र पुरुषको अंश हुन्छ । इथाका महिला पात्रहरूको रचना गरिरहँदा, मैले मभित्रको महिलालाई जागृत गर्ने प्रयत्न गरेको हुँ, जो मसँगै आमा, हजुरआमा, छोरी, दिदीबहिनी, पत्नी र प्रेमिकाका रूपमा अभिभाज्य थिए ।
जब मभित्र महिलाहरू अभिभाज्य छन् भने, उनीहरूको कथा भन्न मलाई के सकस ? यो मेरालागि अप्ठ्यारो काम थिएन ।
उपन्यासकी नायिका– नयनताराको चरित्रलाई केन्द्रमा राखेर साहसको कथा भन्नुभएको छ । यो पात्र निर्माण गर्दा तपाईंले इतिहासका कुन–कुन महिला व्यक्तित्वलाई नयनतारा भित्र समाहित गर्नुभयो ? अथवा, नयनताराको रचनागर्भ के हो ?
नयनतारा कुनै एक पात्र होइनन्, उनी अनेक स्त्रीहरूको संगम हुन् । यसमा हाम्रा पौराणिक तथा मिथकीय पात्रहरू अहिल्या, द्रौपदी, सीता, तारा र मन्दोदरीको प्रतिछाया त छ नै, किनभने मेरी आमाले ती पौराणिक नारीहरूको म भित्र कहिल्यै नमेटिने चित्र कोरिदिनुभएको थियो । जो कष्टसाध्य जीवन बाँचेर पनि आन्तरिक रूपमा स्वतन्त्र र उज्याला देखिन्थे ।
त्यसैगरी नयनतारा भित्र मैले अम्रपालीको सौन्दर्य र आत्मगौरवका साथै, माधवीको ओज र गरिमा पनि थपेको छु ।
तर भन्नैपर्छ, मेरा लागि नयनतारा पात्रभन्दा बढी एक प्रतिध्वनि हुन्— दबाइएका स्त्री स्वरहरूको प्रतिध्वनि । जसलाई इतिहासले लेखेन । जहाँ महिलाहरूको फगत बाहिरी सौन्दर्य देखियो, बौद्धिकता, ओज र आत्मिक सौन्दर्य देखिएन ।
मेरा लागि नयनतारा हाम्रो इतिहासकी वैकल्पिक नायिका हुन् । जुन इतिहास म मेरी छोरी र उनको पुस्ताका अरू छोरीहरूलाई पनि सुनाउन चाहन्थे । मैले ‘नयनतारा’ मार्फत त्यो कुरालाई पुनस्र्थापित गर्न चाहेको हो, जहाँ स्त्री केवल भोग्या मात्र होइनन्, इतिहासका चालक र निर्णयकर्ता पनि हुन् ।
सैरेन्द्रीको विद्रोही स्वभाव र आन्तरिक संघर्ष उपन्यासको मुख्य शक्ति हो । यो पात्रमार्फत तपाईंले स्त्री विद्रोहको कस्तो आयाम प्रस्तुत गर्न खोज्नुभएको हो ?
यसमा मैले विद्रोहको कुनै नयाँ आयाम निर्माण गरेको होइन । बरु सैरेन्द्री मार्फत महिलाहरूको विद्रोहलाई देखाइदिएको मात्र हो, जुन चिज शताब्दीयौंदेखि महिलाहरू भित्र थियो नै ।
नियालेर हेर्यौँ भने, सैरेन्द्रीको विद्रोह निकै सचेत, कोमल र आध्यात्मिक छ । किनभने, पहिलो त उनी समाजसँग होइन, आफ्नो मौनतासँग लड्छिन् । र, विद्रोहका भावहरूलाई संगीत र नृत्यमार्फत व्यक्त गर्छिन् । उनका लागि प्रेम पनि विद्रोह हो र सम्भोग पनि ।
र, जीवनको उत्तरार्धमा सैरेन्द्री जसरी संन्यासमा जान्छिन्, त्यो पनि उनको विद्रोह नै होे— सत्ता, शक्ति र आसक्तिमाथिको विद्रोह । मलाई लाग्छ, अवश्य नै, सैरेन्द्री भित्र द्विविधाहरू थिए र कतिपय सन्दर्भमा नैतिक द्विविधाहरूले उनी भित्रभित्र पिरोलिइरहेकी देखिन्छिन् । तर जब उनी आत्मस्वीकृतिको तहमा पुग्छिन्, तब द्विविधाबाट मुक्त हुन्छिन् र दृढ बन्छिन् ।
इथामा सैरेन्द्री भएकै कारण मुख्य पात्र नयनतारा त्यति धेरै दृढ र निर्णायक बनेकी हुन् ।
कुमारी वसुधाको विनम्रता, साहस र आत्मनिर्णयको मिश्रित कथाले उपन्यासलाई गहिराइ प्रदान गरेको छ । यो चरित्र विकास गर्दा तपाईंले ‘महिला स्वाभिमान’ लाई कसरी पौरस्त्य दर्शनसँग आबद्ध गर्नुभयो ?
तपाईंले सोध्नुभएझैँ, पौरस्त्य दर्शनका बारेमा मलाई धेरै कुरा थाहा छैन । तर यति कुरा थाहा छ कि, हाम्रो सभ्यताको भावधारा पश्चिमाहरूको भन्दा फरक छ । हाम्रा लागि कट्टर भौतिकवादीहरूले भनेझैँ जीवन न त केवल भौतिक पदार्थको स्थूल रूप हो, न त कट्टर आध्यात्मवादीहरूले भनेझैँ ईश्वरको फगत सृष्टि ।
पौरस्त्य दर्शनले जीवनको अनुभूति, आत्मखोज र मुक्तिलाई केन्द्रमा राख्छ । जुन विचारहरू हिन्दू, बौद्ध र जैन जस्ता परम्पराहरूमा देख्न पाउँछौँ । जसका स्रोत हुन् वेद, पुराण, गीता, उपनिषद्, त्रिपिटक आदि । र सार हो, स्वयंको शक्तिलाई बोध गर्नु, आत्मालाई चिन्नु ।
पौरस्त्य दर्शनमा “शक्ति” लाई सृष्टिको मूल ऊर्जा मानिन्छ । जसका अनेक स्रोत छन्, जस्तो पञ्चतत्व । कहिलेकाहीँ मलाई लाग्छ, हामीले पूजा गर्ने देवी–देवताका जति पनि रूप छन्, ती सबै शक्तिका स्रोतहरू हुन्, जो अनेक नाम र चरित्रमा हामीसँग एकाकार भएर बसेका हुन्छन् ।
यो सन्दर्भबाट हेर्दा, इथामा पात्रहरूको भौतिक यात्रा मात्र छैन, उनीहरूसँगसँगै मनको यात्रा पनि गर्दछन्— अर्थात् आत्मचिन्तनको यात्रा, स्वयंलाई बोध गर्ने यात्रा ।
सायद हाम्रो सभ्यताको सन्तुलित र अभिभाज्य ज्ञान प्रवाह हो पौरस्त्य दर्शन, त्यसैले नै इथाका पात्रहरूमा स्वयंलाई बोध गर्ने प्रवृत्ति देख्न सकिन्छ । उपन्यासमा स्वअस्तित्व र स्वतन्त्रताको जुन उद्घोष छ, त्यो आफैभित्रको शक्तिलाई चिन्ने प्रयत्न हो । जसको प्रतिनिधित्व गर्दछन् इथाका मुख्य पात्रहरू नयनतारा, सैरेन्द्री र वसुधाले ।
जस्तो, नयनतारामा साहस र चेतनाको ज्वाला देख्न सकिन्छ । सैरेन्द्री प्रेरणाकी स्वामिनी हुन् । वसुधामा छ, आत्मगौरवको ऊर्जा, जसलाई हामी अग्नि, वायु र पृथ्वीको प्रतीक पनि मान्न सक्छौँ ।
यो दृष्टिकोणले हेर्दा, स्त्रीहरू शक्तिका स्रोत हुन् र इथामा त्यही शक्तिलाई उजागर गरिएको हो । मलाई लाग्छ, पौरस्त्य दर्शन हाम्रो पूर्वीय सभ्यतालाई सिँञ्चनगर्ने ज्ञान प्रणाली हो । यो हामीभित्रै छ, त्यसैले हाम्रो सभ्यताको आख्यान लेख्दा त्यो थाहै नपाई अभिभाज्य भएर आउँछ ।
‘इथा’ भित्र त्यो समय (२४०० वर्षअघिको किराँत–लिच्छवि सन्धिकाल) को सामाजिक–राजनीतिक वातावरणलाई जीवन्त बनाउने मूलतत्व के छ ? सौमरमाथिको विजय र कोलिग्राम स्थापनाको ऐतिहासिक घटनालाई कथा बनाउँदा काठमाडौंको ऐतिहासिकता ओझेल पर्दैन ?
मैले स्पष्टीकरण दिनैपर्छ कि इथा इतिहास लेखन होइन, आख्यान हो । यसमा ऐतिहासिक पात्रहरू आए भने पनि ती आख्यानात्मक चरित्रमा आउँछन् । यो अर्थमा, इथा ऐतिहासिक दस्तावेज नबनोस् र इतिहासबाट मुक्त रहोस् भन्नका लागि मैले सक्दो कोसिस गरेको छु ।
त्यसैले यो लेखिरहँदा मैले इतिहासलाई सन्दर्भ सामग्रीको रूपमा लिएको छैन, कथानकताका लागि स्मरण मात्र गरेको छु । म मेरा पाठकहरूलाई भन्न चाहन्छु, त्यो समयको इतिहास जान्न चाहनुहुन्छ भने इथाले तपाईंलाई त्यति धेरै सहयोग गर्दैन । तर तपाईं त्यो समयको मानवीय पक्ष, मन, भावना र गरिमालाई जान्न चाहनुहुन्छ भने इथा सहयोगी हुन सक्छ ।
यहाँ उल्लेख गरिएको, लिच्छवीहरूको सौमरमाथिको विजय र कोलिग्रामको स्थापना पनि आख्यानको एक घटनावली मात्र हो । इथामा मैले त्यो समयको इतिहासलाई प्रमाणित गर्न खोजेको होइन, बरु कथालाई अनुभव गर्न खोजेको हुँ ।
अतः यो लेखिरहँदा प्राप्त अभिलेख, मिथक, किंवदन्ती— यी सबैलाई मैले तथ्यका रूपमा होइन, कथाका पात्रजस्तै प्रस्तुत गरेँ ।
मलाई थाहा छैन, सौमरमाथि लिच्छवीहरूको विजय र कोलिग्राम स्थापनाको ऐतिहासिकतालाई मेरो उपन्यासले कति न्याय गर्छ, तर यसले मेरो कथा, कथाका पात्र र समग्र इथालाई भने न्याय गरेको छ । तर न्यायको त्यो कडी बुझ्न यसलाई आख्यानको भाव र भाकामा ग्रहण गर्नुपर्छ ।
किनभने फेरि पनि भन्छु, इथा आख्यान हो, इतिहास होइन ।
इतिहासमा कथा गायब र कथामा इतिहास गायब हुन्छ भनेर ‘इथा’ मा इतिहास र कथाको सम्मिलन गर्नुभएको हो ?
कहिलेकाहीँ मलाई लाग्छ इतिहास फगत तथ्यहरूको कंकाल हो, जसलाई प्राण दिन्छ कथाले । लाग्छ, इतिहासबिनाको कथा जरा नभएको रूख हो, कथा बिनाको इतिहास फूल नभएको बोट ।
‘इथा’ मा मैले यी दुईलाई मिलाएर एउटा जीवित बगैँचा बनाउन खोजेको हुँ ।
सोचौँ त, यदि आउने पुस्तालाई सुनाउन हामीले कथा छोडेर इतिहास मात्र लेख्यौँ भने त्यो कति रूखो र सुक्खा हुन्छ होला । त्यस्तै यदि हामीले सन्तानहरूलाई सुनाउन इतिहास छोडेर फगत कथा मात्र लेख्यौँ भने त्यो कति धेरै बेघर हुन्छ होला ।
‘इथा’ मा मैले इतिहास र कथाको विवाह गराइदिएको छु र घरबार बसाउने प्रयत्न गरेको छु ।
किनभने, हामी कुनै पनि समयलाई जान्न चाहन्छौँ भने, त्यो समयको इतिहास पनि जान्नुपर्छ र कथा पनि । इतिहासले सत्य दिन्छ, कथाले त्यसमा भावना, संवेदना र अनुभूति थप्छ । जब यी दुई मिल्छन्, तब मात्र समयको कथाले पूर्ण आकार पाउँछ ।
तर म सचेतनतापूर्वक भन्छु, इथामा उल्लेखित इतिहास र कथाको सन्तुलन गणितीय होइन, काव्यात्मक हो । यो लेखिरहँदा भयो के भने, इतिहासले मलाई कथाको सीमाना दियो र कथा त्यो सीमाभित्र स्वतन्त्र उड्यो ।
अतः इथामा यदि कतै तथ्यहरू तोडमोड भएका छन् भने पनि, त्यो मैले जानेर गरेको होइन, बरु मेरो कथाले लिएको स्वतन्त्र उडानमा त्यो आफै भएको हो ।
प्राचीन काठमाडौं सहर (मञ्जुपट्टन) को संस्कृति, धार्मिक, सामाजिक र दैनिक जीवनलाई उपन्यासमा चित्रण गर्दा कुन कथाको मार्ग समाउनुभयो ? इतिहास र कथाको दोसाँधमा बसेर ‘इथा’ लाई सन्तुलित गर्न तपाईंले कस्तो जुक्ति लगाउनुभयो ?
जब तपाईं काठमाडौंका पुराना गल्लीहरू चहार्नुहुन्छ, तपाईं पुग्नुहुन्छ उतै जहाँबाट हामीले आधुनिक सभ्यताको प्वाँख हालेका थियौँ । ती गल्ली, ती ढुंगेधारा, जात्रा, पर्व, पुराना घर, मन्दिर, टुंडाललाई तपाईंले नियाल्नुभयो भने, त्यहाँ इतिहास जीवन्त भएर बाघचाल खेलिरहेको भेट्नुहुन्छ ।
त्यसैले इथामा मञ्जुपट्टनको मैले जुन चित्र कोरेको छु, त्यो यही काठमाडौं भित्र आज पनि जीवित भेटिने मञ्जुपट्टनको धुमिल चित्र हो ।
यसैगरी, हामीसँग पुराना कथा, किंवदन्ती, पुराणहरू पनि छन्, जसले हामीलाई विगत चिह्याउन सहयोग गर्छन् । हाम्रो औपचारिक इतिहासमै पनि उपत्यकामा गोपालवंश, महिषपालवंश र किरातवंशका अनेक घटनावली पढ्न पाइन्छ, जसले त्यो समयको काव्यात्मक चित्र बनाउन सहयोग गर्छन् ।
परिणाम, मैले इतिहास कथा र किंम्बदन्तीले दिएका यी र यस्तै रूपरेखामा कथाको रङ भरेर मञ्जुपट्टनको सांस्कृतिक, धार्मिक, सामाजिक जीवनलाई चित्रण गर्न खोजेको हुँ । जहाँ इतिहासले मलाई ढाँचा दियो, कथाले त्यसमा प्राण भर्यो ।
त्यसो त एक लेखकका रूपमा मञ्जुपट्टन मेरो लागि केवल सहर होइन, इतिहास चिह्याउने प्रकाशपुञ्ज हो । जसको उज्यालोमा बसेर मैले उपत्यकाका दरबार र सिंहासनहरू मात्र हेरिन, सभ्यताको जीवनधारालाई समेत हेर्ने प्रयत्न गरेँ । मेरा लागि इथामा मञ्जुपट्टन मात्र देखिँदैन, महसुस पनि हुन्छ ।
‘इथा’ मा वैशालीबाट सुरु भएको पात्रहरूको उकालो यात्राले हाम्रो उपत्यकाको सांस्कृतिक रूपान्तरणलाई प्रभावित पार्छ । त्यो समयको उपत्यकाको संस्कृतिमा लिच्छवीको आगमनले क्रान्ति नै ल्यायो भन्ने तपाईंको व्याख्या हो ?
एउटा प्रकृतिपूजक, सरल र एकान्त मञ्जुपट्टनमा जब लिच्छवीहरूको प्रवेश भयो, त्यसपछि यसको सारा जीवन पद्धति फेरियो । धर्म, कर्म, पूजा–पाठ, तन्त्रसाधना र ढाँचा फेरियो । राजकाजको विधि फेरियो । दरबार बनाउने शैली फेरियो । महिलाको भूमिका फेरियो ।
यहाँको भाषा फेरियो । यहाँका गीत, संगीत र नाट्यशैलीहरू फेरिए ।
त्यसपछि उपत्यका मैदानी आर्य सभ्यतासँग जोडियो । यो राम्रो भयो कि नराम्रो भयो, सायद यो राजनीतिक प्रश्न होला । तर फेरिएको भने पक्का हो । जसले गर्दा सौमरहरू यहाँबाट विस्थापित भए र नयाँ सभ्यताले आकार लिन प्रारम्भ गर्यो ।
सायद लिच्छवीहरूको आगमन हाम्रो सभ्यताको एक ऐतिहासिक कुइँनेटो थियो ।
‘इथा’ लेखिसकेपछि तपाईं आफैंलाई नै शानदार लागेको र सबैभन्दा बढी प्रभावित पार्ने विषय के रह्यो— वैशालीको इतिहास ? सौमरहरूको प्राचीन सभ्यता ? कि नयनतारा–सैरेन्द्री–कुमारी वसुधा जस्ता पात्रहरूको स्वतन्त्र यात्रा ?
लेखकको रूपमा मलाई सबैभन्दा मनपर्ने कुरा हो स्वतन्त्रता । त्यसैले इथाका तीन पात्रहरू नयनतारा–सैरेन्द्री–कुमारी वसुधाको स्वतन्त्रताको खोज, त्यसका लागि उनीहरूले देखाउने धैर्य, साहस र अविचलित दृष्टि मलाई सबैभन्दा प्रिय लाग्ने कुरा हो ।
उपन्यासमा नयनताराले जुन साहसका साथ आफ्नो स्वतन्त्रतालाई जोगाउन निर्णयहरू गर्छे, त्यो मेरालागि सुखद छ । जस्तो कि, नयनताराले नृत्य प्रतियोगितामा भाग लिने साहस गर्नु, राजा प्रमातीसँग विवाह गर्नु र पछि उसैलाई त्याग गर्नु, आफ्नो स्वतन्त्रताका लागि दरबार, रानीको पद, आफ्नो श्रृंगारलाई त्याग्नु र त्यसमा अडिग रहनु एक लेखकका रूपमा स्वयं मलाई रोमाञ्चित गर्ने कुरा हुन् ।
पछि आफ्नै पति राजा जेतेदास्तीलाई अपदस्थ गर्ने निर्णय गर्न सक्नुले नयनताराको निर्णय क्षमता अद्भुत देखिन्छ । मलाई लाग्छ, नयनताराको वैशालीदेखि उपत्यकासम्मको यात्रा हावा झैँ बहने उसका सपनाहरूको स्वतन्त्रताको खोज हो, जो सम्झिँदा म गद्गद् हुन्छु ।
लेखन र पठनका तपाईंका अनुभवहरू के छन् ? तपाईंको भाषा, पात्र निर्माण, कल्पनाको स्रोत र लेखनशैलीलाई प्रभावित गर्ने मुख्य कुरा के हुन् जस्तो लाग्छ ?
मान्छेका लेख्ने र पढ्ने आफ्नै सीमा, छनोट र शैलीहरू हुन्छन्, जसलाई प्रभावित गर्छन् उसका निजी सोच, सृजनात्मकता, उसले गरेको अध्ययन, उसको परिवेश र स्कुलले ।
प्रारम्भिक कालमा मैले नेपालीसँगै रसियन, बंगाली, भारतीय र चिनियाँ साहित्य धेरै पढेँ । परिणाम, मलाई लियो टोल्स्टोय, फ्योदर दोस्तोएभ्स्की, अन्तोन चेखोभ, मिखायल सोलोखोभ, अलेक्जेन्डर पुष्किन, निकोलाइ आस्त्रोभस्की, मक्सिम गोर्की, लुसुन आदि प्रिय लागे ।
सरल लेखनका लागि मुन्सी प्रेमचन्द र व्यापकताका लागि रवीन्द्रनाथ टेगोर मलाई मन परे । निकै पछि, मैले गाब्रिएल गार्सिया मार्केज, अर्नेस्ट हेमिङ्वे, जर्ज अर्वेल, फ्रान्ज काफ्का, झाँ पाल सात्र्र आदि पढेँ । मार्केज पात्रहरूलाई एउटै जीवन्त प्रवाहमा मिसाउँछन्, त्यो अद्भुत लाग्छ । टोल्स्टोयको क्यानभास ठूलो हुन्छ र त्यसभित्र उनी भूगोल, समाज, राजनीति र मानव जीवनलाई गजबसँग समेट्छन् ।
दोस्तोएभ्स्की पढ्दा मलाई नैतिक प्रश्न र अस्तित्वको व्यापक सौन्दर्यबोध हुन्छ । काफ्काको अस्तित्ववादी प्रवाह मलाई मनपर्छ । मलाई हाम्रा कविवर लक्ष्मीप्रसाद देवकोटाको शब्द छनोट बेजोड लाग्छ । सायद मेरो लेखनमा मैले थाहै नपाई यिनीहरू मिसमास भएर आउँछन् ।
कहिलेकाहीँ सोच्छु, मेरा आख्यानमा आउने धेरै पात्रहरू र उनीहरूको नैतिक द्विविधाका लागि मभित्र महाभारतको प्रभाव पो छ कि । मेरो लेखनभित्र भावनात्मक गहिराइ र दृश्यात्मकता कतै छ भने, त्यो लियो टोल्स्टोयको पो प्रभाव हो कि ।
एउटा पुस्तक छ निकोलाइ ओस्त्रोभस्कीको हाउ द स्टिल वाज टेम्पर्र्ड जसको नायक पावेल कोर्चागिन मलाई औधी मन पर्छ । सायद, मेरा नायकहरूमा कतै त्यसको पनी प्रभाव पो छ कि ।
मलाई मैले पढेका नेपाली उपन्यासमा मदनमणि दीक्षितको माधवी उत्कृट लाग्छ । सायद त्यसैको प्रभावले हुनुपर्छ मेरा उपन्यासहरू मोक्षभूमि र इथाका नारी पात्रहरूले कहिलेकाहीँ मलाई माधवीको झल्को दिन्छन् ।
यसैगरी, कथा र इतिहासलाई जोड्ने, बुझ्ने र विनिर्माण गर्ने मैले जुन कोसिस गरेको छु, यसमा मेरा गुरु हुन् आचार्य चतुरसेन । र मेरालागि वैशालीकी नगरवधू एक अनुपम स्रोत पुस्तिका हो ।
आजको पुस्ता ३० सेकेन्डको भिडियोमा भाव खोज्छ; गीत समेत हामीलाई ट्रेन्डिङ भएको ५–१० सेकेन्ड मात्रै याद हुन्छ । यो ‘रिल्सको गति’ मा ‘इथा’ को पुरानो कथा असान्दर्भिक होला कि भन्ने डर लाग्दैन ? कतै ‘स्क्रोल संस्कृति’ ले तपाईंको कथालाई पनि स्क्रोल त गर्दैन ?
‘इथा’ ती मानिसका लागि हो, जो अझै पनि शब्दभित्र जीवन, सौन्दर्य र अर्थ खोज्छन्, अथवा समय दिएर शब्दहरूको परख गर्छन् र त्यसभित्र निहित भावमा लहराउँछन् ।
अहिले हेर्दा समयको गति तीव्र देखिन्छ नै, तर मानवीय अनुभूति समयको गतिझैँ तीव्र हुँदैन, बरु यो गहिरो हुन्छ । यो सत्य हो कि संसार तीव्र बन्दै छ, तर यसको अर्थ यो होइन कि भावनाको वेग पनि तीव्र बनोस् ।
जहाँसम्म स्क्रोल संस्कृतिको कुरा छ, कतिपय कुरा पर्खिएर हेर्नुपर्छ अनि मात्र मिठो लाग्छ । छोटो र छिटो हेर्ने बानीले धेरै कुरा छुट्छन् ।
जस्तो, हिमाल हेर्ने हो भने, एक मिनेटमा हेर्न सकिँदैन । साहित्य र होहल्लामा यही फरक छ कि, हल्लाखल्ला सुन्न धेरै समय लाग्दैन, तर जब हामी हल्लाभन्दा पर गएर समयको लीलालाई बोध गर्न चाहन्छौँ, तब छिटो हेरेर कसरी सबैकुरा देखिन्छ ?
मानौँ कि हामी कुनै पेन्टिङ हेर्दै छौँ, त्यसलाई एक झल्कोमा पनि हेर्न सकिन्छ र लामो समय दिएर पनि हेर्न सकिन्छ । चित्र मात्र हेर्ने कि त्यहाँ निहित रङहरूको संयोजन र त्यसले निर्माण गरेको जादु पनि हेर्ने ?
स्क्रोल गरेर छिटो–छिटो अगाडि बढ्दै जाने हो भने, मान्छेले हेर्नुपर्ने धेरै कुरा छुट्दै जान्छन् । यदि हामी सतही, घटनामा रमाउने र लहडी नै बन्ने हो भने, रिल्सले पुग्छ । तर जीवन–सौन्दर्यको बोध गर्ने हो भने, समय त लाग्छ ।
भनिन्छ, साहित्यका पुस्तक (खासगरी आख्यान) बजारको रुचिअनुसार लेखिनुपर्छ, तब मात्रै धेरै बिक्छन् । तपाईं के सोच्नुहुन्छ ? आजको आख्यान बजारमाथि तपाईंको टिप्पणी के छ ?
मलाई हाम्रो साहित्यको बजार उत्साहजनक छ भन्ने लाग्छ । यद्यपि, साहित्य बजारका लागि होइन, समयलाई न्याय गर्न लेखिनुपर्छ । अवश्य नै बजार आवश्यक छ, तर निर्णायक तत्व बजार हुनुहुँदैन । मलाई लाग्छ, लेखकले बजारलाई के आवश्यक छ त्यो लेख्ने होइन, लेखक स्वयंलाई के लेख्न मन लागेको छ त्यो लेख्ने हो ।
