'म प्रचलित नेपाली कविताको कुनै पनि धारको प्रतिनिधित्व गर्दिनँ । म मेरा इन्द्रीयद्वारा प्रतिपादित चैतन्यको प्रतिनिधित्व गर्छु ।'
What you should know
काठमाडौँ — कवि हाङयुग अज्ञातको नयाँ कविता–किताब ‘हाङयुग अज्ञातका कविताहरू’ प्रकाशित छ । पचासको दशकदेखि उनले नश्लबोधसहितका प्रयोगात्मक कविता लेखनको मार्ग समाए । र, काव्यविम्बमा सांस्कृतिक मिथक प्रयोग गरे । असलमा उनी हुन्– कविहरू राजन मुकारुङ र उपेन्द्र सुब्बासँगै ‘सृजनशील अराजकता’ आन्दोलनका प्रारम्भकर्ता । इलाम बसेर कविता–साधना गरिरहेका अज्ञात अधिक समय गाउँतिरै बस्छन्, बेलाबेला मात्रै सानदार कवितामा झुल्किन्छन् । यसअघि उनका ‘करङको हिरासत’, ‘हङकङ’ लगायत किताब प्रकाशित छन् । विश्व कविता दिवसको साइतमा उनीसँग दीपक सापकोटाले गरेको कविता–वार्ता :
अधिक समय गाउँतिरै बस्ने र बेलाबेला मात्रै कवितामा झुल्किने तपाईंलाई लोपोन्मुख र दुर्लभ कवि भन्न थालेका छन् यता सहरतिर । धन्न ‘हाङयुग अज्ञातका कविताहरू’ कविता–किताब लिएर झुल्किनुभयो । कतै ‘गाउँ बसेर हराएँ’ भन्ने बोधले यो किताब आउनुमा भूमिका खेलेको त छैन ?
हेहे, पहिलो प्रश्नमै मेरो झोकको परीक्षण गर्नुभो, धन्यवाद तपाईंलाई । तर, म नझोकिईकन के भन्न चाहन्छु भने केन्द्रले निर्माण गर्ने गरेको भाष्यमा म लोपोन्मुख र दुर्लभ कवि नै हुँ । किनभने काठमाडौंकेन्द्रित साहित्यिक कार्यक्रमहरूको गुलियो दलदलमा मैले फस्न चाहिनँ । त्यति मात्रै होइन, कुनै राजनीतिक दलको फेरोमा पनि झुन्डिनु नचाहेकै हो । यसो भन्दा ममा राजनीतिक चेत नै छैन भन्न खोजेको पनि हैन । जे होस्, ‘हाङयुग अज्ञातका कविताहरू’ नामको किताब ‘गाउँ बसेर हराएँ’ भन्ने बोधले भन्दा पनि लामो समयदेखिको प्रिय आत्मन् सगरमाथा आरोही जुनिता सुब्बा (जसलाई मैले आजसम्म भेटेकै छैन) को प्रेमिल आग्रहले नै प्रत्यक्ष र महत्वपूर्ण भूमिका निर्वाह गरेको हो । साथै, यो किताबको प्रकाशन भएपछि उहाँ र म मिलेर आत्मिक प्रेमको प्रतीकका रूपमा यौटा ध्यानालय, पुस्तकालय, पुरस्कार अनि ट्रस्टको स्थापना गर्दै व्यावहारिक रूपमा नै पठन, लेखन र सेवाभावको संस्कृति निर्माण गर्ने सोचमा पनि छौं । हाम्रो सपनालाई साकार रूप दिन हामीसाग राजेश मिश्रजी पनि संलग्न हुनुहुन्छ, उहाँलाई पनि उच्च सम्मान छ, साधुवाद छ ।
विक्रमीय ५० को दशकमा राजन मुकारुङ, उपेन्द्र सुब्बा र तपाईं मिलेर नश्लबोधसहितका प्रयोगात्मक कविता लेखनलाई गति दिनुभएको थियो । त्यसबेला सहरको साहित्य–वृत्तमा तपाईंहरूको ‘सृजनशील अराजकता’ आन्दोलनको खुब ख्याति थियो । अहिले न त्यो आन्दोलनको रापताप छ, न तपाईंहरू नै संगठित हुनुहुन्छ । असलमा कुन उद्देश्य र लक्ष्य प्राप्तिका लागि त्यो आन्दोलन सुरु गर्नुभएको थियो ? त्यो कहाँसम्म पुगेर सेलायो ? के तपाईंहरू अहिले अराजक हुनुहुन्न र ?
विश्वका अन्य साहित्यजस्तै नेपाली साहित्य पनि गतिशील छ । हामीभन्दा अगाडिका अग्रज साहित्यकारहरूले विभिन्न आन्दोलनमार्फत नेपाली साहित्यमा नवीन क्षितिज उघारेझैं हामीले पनि सिर्जनशील अराजकताको अभियानमार्फत राज्यसत्ताले सीमान्तकृत पारेका नागरिकहरूको जीवन र जगतलाई लेख्ने प्रयत्न गरेका थियौं, यो अभियान सांस्कृतिक लेखनका रूपमा सिंगो नेपाली साहित्यमा नै नयाँ जागरण बोकेर आएकै हो । त्यही भएर पनि पचासको दशकमा हाम्रो अभियानले ख्याति मात्रै कमाएन, परम्परागत जड धारणा भत्काउँदै साहित्यमा नवीनतम मूल्य र मान्यताहरू पनि स्थापित गरेका छन् । सुदूरपूर्व थातथलो भएका राईलिम्बूका संस्कृति र जीवनदर्शनलाई आधार बनाउँदै साहित्यमा ‘कुनै पनि लेखक तब मात्रै इमानदार हुन सक्छ जब उसले आफ्नो समाजलाई दुरुस्तै उतार्न सक्छ’ र ‘चेतनाको पुन्जले सबैलाई जागृत गर्न सक्छ’ भन्यौं ।
नेपाली समाज भनेको विभिन्न जातजाति, संस्कृति, भाषाभाषी, इतिहास र जीवनदर्शनहरूले बनेको समाज हो । राष्ट्रिय पंक्षी डाँफे नौरंगी भएकैले सुन्दर भएझैं नेपाली समाज पनि विविधताले नै सुन्दर छ । तर, हाम्रो समाजको यो विविधतालाई राज्यसत्ता र शासक वर्गले अनदेखा गरिरहेको अवस्थामा नश्लीयबोध अथवा नश्नचेतको विचार राख्यौं । यो विचार विकसित हुँदै उत्कर्षमा ‘पहिचानवाद’ सम्म पुग्यो, झन्डैझन्डै नश्लीयबोध ‘पृथकतावाद’सम्मै पुग्यो । सिंगो नेपाली साहित्यमा विभिन्न सांस्कृतिक लेखनहरू आइरहेका छन् । हाम्रो उद्देश्य साझा र उन्नत पहिचान प्राप्तिकै हो, यसमा दुविधा छैन । हामी अराजक छौं कि राजक भइसक्यौं भन्ने प्रश्नको उत्तर चाहिँ राजन मुकारुङ र उपेन्द्र सुब्बासँग सुरक्षित हुनुपर्ने हो ।
आरम्भिक कविता लेखनमा तपाईंमाथि कुन अग्रज कविहरूको बढी प्रभाव रह्यो ? तपाईंका समकालीन र अझ पछिल्ला पुस्ताका कविहरूबारे भनिदिनोस् न, क–कसले राम्रो लेखिरहेका छन् ?
स्कुले जीवनमा गोपालप्रसाद रिमालको ‘आमा’, भूपी शेरचनको ‘शहिदहरूप्रति’ र वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण’ ले खुब प्रभाव पारे जस्तो लाग्छ । म उहाँहरू जस्तो लेख्न चाहन्थो, बन्न चाहन्थेँ । मेरा कविता पनि स्कुल र कलेजका विद्यार्थीहरूले पाठ्यक्रममा पढ्नेछन् भनेर सपना देख्थेँ । मेरा समकालीन र पछिल्ला पुस्ताका कविबाट पनि म प्रभावित छु । हामी कोही पनि निरपेक्ष र एक्लो वृहस्पति हुन सकिन्न । थोरबहुत केही न केही आफू वरिपरिका साथसंगतबाट थाहै नपाई प्रभावित भइरहेका हुादारहेछौं । गाउँमा बसेर कविता लेखिरहेको कवि सुन्दर कुरूपका कविताहरू मलाई राम्रा लाग्छन् । मस्तिष्कको दुर्गम उचाइमा बसेर कविता लेखिरहेको कवि समदर्शी काइँलाका ओखरे कविताहरू पनि मलाई राम्रा लाग्छन् । इलामका कवि भाइहरू टीका क्षेत्री, सुगम खत्री र दर्शन घिमिरे पनि मेरा समकालीन कविहरू हुन् जस्तो लाग्छ । किनभने उनीहरू यही समय मसँगसँगै लेखिरहेका छन् ।
नेपाली कविता देवकोटा, रिमाल, भूपी शेरचन, वैरागी काइँलाभन्दा अघि बढेन भन्नेहरूलाई तपाईंको जवाफ के हुन्छ ?
मलाई त अगाडि बढेजस्तो लाग्छ । श्रवण मुकारुङ र भूपाल राईका कविता यसका ज्वलन्त उदाहरण हुन् । बुर्जुवा र प्रगतिशील लेखनभन्दा अगाडि बढ्दै उहाँहरूले कवितामा सांस्कृतिक लेखनधारलाई शक्तिशाली बनाउनुभएको छ, जसले गर्दा सिंगो नेपाली साहित्यले व्यापकता पाएको छ । आजको नेपाली कवितालाई समग्र रूपमा सर्सर्ती हेर्दा यो कुनै वर्ग, क्षेत्र र समुदाय विशेषमा मात्रै सिमित रहेन ।
समीक्षक भन्छन्– कविता सिर्जनमा कठोर र कोमल धारका कविता लेखिन्छन् । तपाईं आफूलाई कुन धारको प्रतिनिधित्व गर्छुजस्तो लाग्छ ? किन ?
म प्रचलित नेपाली कविताको कुनै पनि धारको प्रतिनिधित्व गर्दिनँ । म मेरा इन्द्रीयद्वारा प्रतिपादित चैतन्यको प्रतिनिधित्व गर्छु । सतहबाट हेर्दा कविता कठोर र कोमल धारमा लेखिएको देखिन्छ । यो सामान्य सिद्धान्त हो । तर, मलाई लाग्छ कवितालाई अनेक एंगलबाट हेर्नु जरुरी छ, कवितालाई कठोर र कोमल धारमै सिध्याउन मिल्दैन, हुँदैन । ‘समय के हो ? दिन र रात’ भने जस्तो मात्रै हो कठोर र कोमलताको कुरा । नारीवादी धारको कुरा खै गरेको समीक्षकले ? नारीवादी धार पनि सहरी नारीवाद र ग्रामीण नारीवाद भएर अगाडि बढिरहेको छ । सहरी नारीवाद पनि सभ्रान्त नारीवाद र सुकुम्बासी नारीवादमा पुग्छ । सुकुम्बासी नारीवाद फेरि नक्कली र सक्कलीमा टुंगिन्छ । तेसो र कविताले उठाएका मुद्दाहरूलाई सामान्यीकरण गरेर कमजोर बनाउने र विषयको गहिराइसम्म नपुग्ने तथाकथित समीक्षकज्यूहरूको सिन्डिकेट समक्ष म विनम्रतापूर्वक निवेदन गर्छु ‘प्लिज त्यसो नगरिदिनुस्, गम्भीर बनिदिनुस् यार’ ।
तपाईंको काव्य सिर्जनमाथि आफ्नै विश्लेषण कस्तो छ ?
हाउ...! म जस्तो वितरागी लेखकले आफ्नो काव्य सिर्जनको विश्लेषण आफै गर्नु सक्दिनँ । अनि म नार्सिसिस्ट त झनै हैन । यद्यपि, म आफ्नो काव्य सिर्जनमाथि पूरै सन्तुष्ट छु । राम्रो–नराम्रो जे लेखेँ, आत्मैदेखि आफूलाई समयसापेक्ष अभिव्यक्त गरो जस्तो लाग्छ । नो रिग्रेट ! फुल्ली स्याटिस !
पछिल्ला वर्ष नेपाली साहित्यमा समावेशिताको आग्रह देखिन्छ– कुनै वर्ग–समुदायका विशेष मुद्दालाई प्रतिनिधित्व गर्नुपर्नेजस्तो, मानौं साहित्यको त्यस्तै एक उद्देश्य हुनैपर्छ । यो राम्रै काम भइराखेको हो ?
सभ्रान्त र अभिजात वर्गको जीवन र जगत मात्रै लेखिआएको अवस्थामा उपेक्षित र तिरस्कृत वर्ग–समुदायको मात्रै हैन राजसत्ताले अनदेखा गरेको जाति, लिंग र क्षेत्रको जीवन र जगत पनि लेखिनुपर्छ भन्ने चेतना नेपाली साहित्यमा निक्कै अबेरमा आयो । राज्यसत्ताद्वारा नियोजित रूपमा एकै वर्ग र समुदायका लेखकहरूलाई मात्रै निर्णायक ठाउँमा सुशोभित गर्ने परिपाटीले गर्दा अन्य वर्ग र समुदायका कविलेखक सीमान्तीकृत भएर गए । अझ जोडले भन्ने हो भने प्राज्ञिक वर्गले राजनीतिक दलको कारिन्दा नभएसम्म राज्यको प्राज्ञिक निकायमा पुग्न असम्भवप्रायः जस्तो देखिन्छ ।
यस्तो विसंगतिले गर्दा नै पछिल्लो समय जेन–जी आन्दोलनको हुरी चल्यो । धन्न ! कमलादीको छाना र झ्यालढोका जोगिएछ । नेपाल प्रज्ञा प्रतिष्ठान पुग्ने प्रक्रिया अबको नयाँ सरकारले फेर्न सक्यो भने राज्यले साँच्चिकै स्वतन्त्र प्राज्ञहरू पाउनेछन् । समावेशिताको नाममा राजनीतिक नियुक्ति गर्नु गलत हो । प्राज्ञ बन्नलाई नेताहरूको चाकरी गर्ने परम्परालाई रास्वपाको सरकारले तोड्छ/तोड्दैन, हेर्नु बाँकी छ ।
अब एक्कैछिन यो रिल्स युग र साहित्यको दीर्घ–स्वास्थ्यमाथि विमर्श गरौं है । ‘स्क्रोल संस्कृति’ मा मग्नमस्त जुनियरदेखि सिनियर कविसम्ममा ‘सेलिब्रिटी’ हुने होडबाजी तीव्र छ । ती हरदम सुन्न चाहन्छन्— आहा, हैट, कडा आयो, अहो, क्याबात्, गज्जब र अति राम्रो...! के हाम्रा कविहरू हिाडेको साहित्यको लिक ठिक छ ?
कसैको सिर्जनामाथि कसैले पढेर ‘एप्रीसियसन’ गरेको हो भने त राम्रै होला । तर, मलाई लाग्छ एउटा सर्जकले आफू के लेख्दै छु भन्ने कुराको हेक्काचाहिँ राख्नैपर्छ । विशेषगरी नयाँ सर्जकहरूलाई प्रोत्साहन चाहिन्छ नै । यस अर्थमा चाहिँ ठिकै पनि होला हाउ ।
सिर्जनशील अराजकता आन्दोलनका बेला तपाईंका कविता सत्ताइतर बढी लेखिन्थे, कविताको त्यो ‘पावर’ अझै उस्तै छ । असलमा तपाईंका कवितामा बदलिँदो समय, स्मृति र मानवीय अनुभूति बलियो छ । अहिलेको डिजिटल भाइरल युगले अनुभूति गहिरो बनायो कि सतही ? लाइक र भ्युले साहित्यिक मूल्य निर्धारण गर्न थाल्यो भने साहित्य कता जान्छ ?
हैन, मलाई लाग्छ मेरो कविता ‘अमिबा’जस्तै हुन् । न रूप छ, न रङ, न स्वाद । छन त छ तर आफैंमा आकार फेरिरहन्छ, ऊ आफैसँग सेक्स गर्छ र एकबाट दुई हुन्छ, दुईबाट तीन । एवम् रितले लाखौं हुन्छन् । अचेल कवितालाई म यो धारणाबाट हेर्दै छु । भाइरल हुनु, लाइक र भ्यु अधिकतम आउनुले निश्चित रूपमा तपाईंले भन्नुभएझैं साहित्यिक मूल्य निर्धारण त गर्दैन, तर पुँजीवादको ‘युज एन्ड थ्रो’को डाइपरसम्म चैं बनाउँछ ।
मान्छेलाई कहिलेकाहीं डाइपर हुनु पनि आनन्द लाग्छ होला । अहिले मिडल इस्टमा चलिरहेको अमेरिका र इरानको युद्ध हेर्नुस् त, इरानका सस्ता ड्रोनहरू नष्ट गर्न अमेरिका र इजरायलले कति महँगा मिसाइल खर्च गरिराछन् ? सामाजिक सञ्जालमा लाइक र भ्युजले प्रेरित भएर नै होला धेरैभन्दा धेरै कविहरू उत्पादन भइरहेका छन् । म त सप्पै प्रकारका कविताहरूको पारखी हुँ । ममता लैलैका छोटाछोटा कविताको त झन् म फ्यान नै हुँ । गम्भीरतापूर्वक लेख्ने जिम्मा अब नयाँ पुस्ताको हो, हामी साक्षी मात्रै अब !
