एउटा औपन्यासिक सांस्कृतिक अन्वेषण

उपन्यास 'तोरकीन'ले माथिल्लो मुस्ताङको सांस्कृतिक, सामाजिक र ऐतिहासिक परिवेशलाई बहुआयामिक शैलीमा समेट्छ ।

फाल्गुन १६, २०८२

नवीन अभिलाषी

A novel cultural exploration

What you should know

सामाजिक विघटनको कहालीलाग्दो यथार्थीय भय, असंगतिमा रुमलिएको अस्तित्ववाद र समय असुरक्षाको मिश्रित संवेदना ग्रहण गरेर लेखिएको उपन्यास तोरकीन वर्तमान समयको सबैभन्दा स्पष्ट चित्र हो । यो एउटा आँखीझ्यालबाट देखाइएको वर्तमान नेपाली समाजको कारुणिक दृश्यपट हो । 

सन् २०२५ को साहित्यमा नोवेल पुरस्कार प्राप्त गरेका लास्लो क्रान्साहोरकाईको एउटा भनाई यहाँ ठ्याक्कै सान्दर्भिक हुन आउछ । उनि भन्छन्, 'हामी भविष्यसँग आफूलाई मात्र धोका दिन सक्छौं, आशा सधैं भविष्यसँग सम्बन्धित छ र भविष्य कहिल्यै आउँदैन । यो सधैं आउन लागेको मात्र हुन्छ ।'

युवा लेखक क्षितिज समर्पणले उपन्यासलाई यस्तो भीरमा पुर्‍याएर समापन गरिदिए, त्यो त्रासदिपूर्ण भीरबाट पाठक, न अगाडि भविष्यको बाटो पहिल्याउन समर्थ छ, न अतीतको सुरक्षा गर्न । पाठकलाई भीरमा पुर्‍याएर लेखक एक्लै एक्लै लुरुक्क फर्किनु समर्पणको प्रथम उपन्यासको सबैभन्दा सबल पक्ष लाग्छ, र दुर्बल पक्ष पनि ठ्याक्कै यही भविष्यको अनिश्चितताबीच कथाको निर्मम अन्त्यलाई सही र गलतको कित्ताधारमा उभिएर बहस गर्न सम्भव नै छैन ।

त्यसैले क्रान्साहोरकाईले भनेजस्तै यसले संकेत गर्छ कि मानिसले अक्सर भविष्यमा आधारित योजनाहरू, अपेक्षाहरू वा आशाहरू राख्छ । तर भविष्य अनिश्चित हुन्छ, त्यसैले हामीले आफ्नै मनमा उत्पन्न गरेको घटना–दुर्घटना–परिघटना एक प्रकारको धोका मात्रै हो । मानिसले भविष्यमा आशा राखेर जीवनलाई अर्थ दिन खोज्छ, तर वास्तविकता कहिल्यै भविष्यमा स्थिर हुँदैन । 

यो उपन्यासबारे कसैले सोधे मेरो निष्कर्ष ठिक यहि नै हुनेछ । तथापि यो लेखोटलाई यहि नै विट मार्नु न्यायोचित हुने छैन । किनकी आजको उम्दा पुस्ताले लेखेको सामाजिक उपन्यासका विषयप्रति यति भनेर मात्र पुग्दैन । यसले जरुर विस्तृति माग गर्छ ।

जाजरकोट थातथलो भई फुटकर कथा, कविता लेखनबाट अचानक उपन्यासमा उभिएका युवा साहित्यकार क्षितिज समर्पणको गजल लेखनको समय त्यति सुदूर अतित बनिसकेको छैन । पेट पाल्न पत्रकारितामा पापडझै पेलिइएका साहित्यकार समर्पण मन्द गति तर सामर्थ भएका लेखक हुन् । सामाजिक व्यवस्था र सत्ताको न्यायोचित मनोविज्ञानमाथि बारम्बार प्रश्नहरु चलाइरहने क्षितिजले निर्माण गरेको तोरकीनमार्फत नेपाली औपन्यासिक लेखकीय प्रवृत्तिहरु उम्दा रूपमा प्रदर्शन गरे । 

तोरकीन नेपाली उपन्यास लेखन परम्परामा सूक्ष्म रुपको असरदार बनेर प्रवेश गरेको छ । यसो किन भनिएको हो भनेर चर्चा हुने नै छ ।

यतिबेला वनस्पतिविज्ञ डा तीर्थबहादुर श्रेष्ठले उल्लेख गर्नुभएको एक भनाइको स्मरण भईरहेको छ, उहाँले नेपाललाई हिमाल, पहाड र तराई मात्र भनेर पुग्दैन, नेपालसँग मरुभूमि पनि छ, उत्तरी पठारलाई हामीले बिर्सनु हुँदैन भन्नु भएको छ । राज्यका प्राय: सबै संरचना र नेपाली मनोविज्ञानबाट ओझेलमा परेको उत्तरी पठार र त्यसआसपासका मानवीय मूल्य र सांस्कृतिक सन्दर्भहरु नेपाली साहित्यको मुल धारमा अटाउने कुरै भएन । तर नवआख्यानकार समर्पणले लामो लेखकीय सन्दर्भ सहित आफ्नो उपन्यास लेखनको सुरुवात त्यही सीमान्त उत्तरी चराङबाट गरेका छन् । 

तोरकीनले माथिल्लो मुस्ताङको सांस्कृतिक, सामाजिक र ऐतिहासिक परिवेशलाई वहुआयामिक शैलीमा समेट्छ । यसमा स्थानीय सौन्दर्यमा ल्होवा भाषा, भाषिक लवज, सामाजिक संस्कार, मिथकहरुले उपन्यासको कथालाई समृद्ध बनाएको छ । उपन्यासको नाम ‘तोरकीन’ ल्होवा भाषामा ‘हराउँदै जानु’ वा ‘लोप हुनु’ भन्ने अर्थमा आएको छ, जसले कथाको केन्द्रीय विषयलाई संकेत गर्दछ । 

तोरकीनले परम्परा र संस्कृतिको ह्रासलाई गहिरो रूपमा अन्वेषण गरेको छ । माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्युसम्मका संस्कार, रहनसहन, बसाइँसराइ, गुम्बा र दरबारजस्ता सामाजिक–सांस्कृतिक संरचना र त्यहाँको भौगोलिक, ऐतिहासिक, संस्कृतिक पृष्ठभूमि समेटेको छ ।

विघटनमा परेका मानिसहरुको मनोविज्ञान, त्यसका कारकतत्वहरु, पलायन प्रवृतिका नयाँ आयामहरु र अन्तत: हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिहरुले उपन्यासलाई गहन बनाएको छ । उपन्यासले तीन पुस्ताको कथाको माध्यमबाट जीवनका आरोह–अवरोह, सपना, सम्बन्ध र सांस्कृतिक रुपान्तरणको कथाले समय र परिवर्तनको रफ्तारलाई व्याख्या गरेको छ । यस्ता तथ्यहरूले नै तोरकीन कथा उपन्यास मात्र नभई एउटा संस्कृति–परम्परा र समाज–परिवर्तनको दस्तावेज हो भन्ने पुष्टि गर्छ । 

उपन्यास तीन पुस्ताका पात्रहरूमा केन्द्रित भए पनि मूलतः छेवाङ र कुन्साङ पात्रको वरिपरि कथा घुम्छ । बदलिँदो समय, समाज, राज्य व्यवस्था, पुँजीवादी अर्थतन्त्र, प्रविधिको विश्वव्यापीकरण र मानवीय सुविधाभोगको उच्चाहटले यी पात्रहरुको जीवनको आरोह–अवरोहलाई केन्द्रित गरेर उपन्यास तन्किएको छ ।

लेखकले माथिल्लो मुस्ताङ त्यसमा पनि चराङ लगाएतको भूगोलमा जन्म, विवाह, मृत्यु संस्कार, बसाइँसराइ, संस्कृति र परम्पराको यथार्थपरक चित्रण गरेका छन् । यसमा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक र भौगोलिक इतिहासलाई पनि समेटिएको छ । तत्कालिन धर्म व्यवस्था, राजनीति र भूसामरिक अस्तित्वका विषयहरु यस उपन्यासमा बलियो गरि आएको छ । तत् भूगोल र जाति समुदायले निर्माण गरेको मिथकको प्रयोग गरेर लेखकले उपन्यासलाई दोस्रोस्तरमा उकालेका छन् । नेपाली साहित्यमा मिथकिय सन्दर्भको प्रयोगलाई सिर्जनात्मक शक्तिका रुपमा अर्थाउने नगरिए पनि वर्तमानमा लेखिएका तमाम साहित्यभित्र जाति, समुदाय र भूगोलका मिथकहरुको यथेष्ट प्रयोग छ । यसलाई मिथकको सङ्ग्रहका रुपमा मात्र नबुझी सांस्कृतिक विरासतको अवयवका रुपमा यसलाई व्याख्या गरिनुपर्छ । यो तर्कलाई तोरकीनले सहयोग गरेको छ । 

परम्परागत सांस्कृतिक मूल्यको दृष्टिकोणबाट बहस गर्ने हो भने संसार अहिले विखण्डन, स्खलन र निरन्तर प्रतिक्रान्तितर्फ तिव्रतर रुपमा होमिएको छ । चौथो चरणको पुँजीवादबाट ग्रस्त आजको नेपाली समाजले आफ्ना परम्परागत मानवीय अस्तित्वका आधारहरुको संरक्षण गर्न सकेको छैन । सांस्कृतिक विचलन र पलायनबाट नवसंस्कृतिको निर्माण वा फ्युजन अर्थात म्युटेसनको सिलसिलालाई जारी राखेको छ । ठिक त्यही ‘टाइमलाइन’लाई ‘क्याच’ गरेर तोरकीनले हिमाली जनजीवन र सांस्कृतिक मूल्यको लेखाजोखा गरेको छ । उपन्यासको विषय नेपाली समाजका लागि संकेत मात्र हो । किनभने रित्तिँदै गएका नेपाली ग्रामीण बस्तीहरु, खण्डहर बन्दै गएका घरगोठहरु, पग्लिएर कालापत्थरमा रुपान्तरित हिमाल र विरक्त लाग्दा पहाड, चिसिँदै गएका मानवीय सम्बन्ध, स्वार्थ केन्द्रित प्रेम, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिहरु तोरकीनकै विषयहरु हुन् भनेर बुझ्नुपर्छ ।

नेपाली उपन्यास लेखनको पछिल्ला दशकमा विषय, संरचना र शैलीगत विविधता प्रशस्त देखा परेको भए पनि तमाम समस्या छन् । प्रायः लेखकहरूले विषय चयनमा गहन अध्ययन नगरी सामान्य कथामा सीमित हुने जोखिम लिइरहेका छन् । निज समुदायको दृष्टिकोणबाट यो उपन्यासको मूल्य के हो भन्ने विषय सबैभन्दा महत्वपूर्ण हुन्छ । नेपाली साहित्य अतितोन्मुख भएको आरोपलाई यस उपन्यासले पनि चिर्न सक्दैन । कथानकमा तार्किकता र सन्तुलनको अभाव छ, केही महत्वपूर्ण पात्रहरू जीवन्त बन्ने अवसर गुमाउँछन् । कतिपय संवाद कृत्रिम लाग्न सक्छन् । कथा प्रवाहको असन्तुलनले पाठकलाई बिझाउँछ, पाठकमा असर छोड्ने मोडमा आइपुग्दा लेखकले कथालाई हतारहतार बगाएका छन् । यो पाठकलाई सबैभन्दा खट्किएको विषय छेवाङ् विदेश पलायन हुनुको अर्थ के हो ? कुन्साङको हृदय र निर्णय त्यति कठोरमा बन्नुमा, छेवाङ छोडेर ऐकान्तिक दुनियाँमा बाँच्ने हिम्मत गर्नुमा लेखकको हात कति हो ? एक प्रकारले चलाख छेवाङ किन अनिर्णयको बन्दी बन्छ, किन उपायविहीन बन्छ ? सायदै यस्तै सीमाहरु यस उपन्यासले साझा गरेको छ । र यी सबै कारणहरूले उपन्यासलाई चुनौतीपूर्ण बनाएको छ ।

उपन्यासको भाषा सरल र काव्यात्मक छ, जसले पाठकलाई कथासँग जोड्न मद्दत गर्छ । स्थानीय ल्होवा भाषाको लबज प्रयोगले कथामा प्रामाणिकता थपेको छ । त्यसमा प्राप्त भएका सीमाहरुको सुधार जहिल्यै बाँकी रहन्छ, किनकि पृथक भूगोलको सन्दर्भ भएकाले यो जहिल्यै अपूर्ण रहने विषय हो । तर औपन्यासिक सन्दर्भमा हेर्दा पात्रहरूको संवाद र कथ्यशैलीको स्थानीय लवजले उपन्यासलाई अझै रूचिकर र पठनीय भने बनाएको छ ।

अन्त्यमा, नेपाली साहित्य लेखनमा केही प्रयास भइरहेका छन् जहाँ लोकसंस्कृति, जातीय पहिचान, सामाजिक संरचनाहरु, सांस्कृतिक आदर्श–परिवर्तन उठाइएको छ । जीवन, संस्कार, इतिहास, संघर्ष र परिवर्तनलाई साहित्यिक ढाँचामा ल्याउने काम भइरहेको छ । तोरकीनम कथ्य, भाषा, भूगोल, संस्कृति, समय–परिवर्तन र सामाजिक यथार्थता सबै विषयको गहिरो संवेदनशीलता र अनुसन्धान समावेश छ । यसमा समर्पणले पत्रकारिताका ‘टुल्स’हरु प्रशस्त उपयोग गरेका छन् । त्यसैले आधुनिक नेपाली उपन्यास परम्परामा तोरकीनलाई नयाँ, तर मौलिक योगदानका रुपमा हेरिनुपर्छ । 

नवीन अभिलाषी

Link copied successfully