२० ओभरले क्रिकेटमा ल्याएको उभार

कुनै पनि खेलको लोकप्रियता र चर्चा धेरै हदसम्म आर्थिक स्रोतमै निर्भर गर्छ । क्रिकेटलाई पैसा दिने मात्र होइन, मालामाल नै बनाएको ट्वान्टी–२० क्रिकेटले । यसरी हेर्दा टेस्ट र वान डे क्रिकेटलाई जीवन्त राख्न पनि ट्वान्टी–२० सहयोगी बनेको छ ।

माघ २४, २०८२

हिमेश

The rise of 20-over cricket

What you should know

काठमाडौँ — धेरै अगाडिकै कुरा हो । सन् ८० को दशकको अन्त्यतिरसम्म पनि वान डे क्रिकेटको खुबै आलोचना गरेर लेखिएका लेख जताततै पढ्न पाइन्थ्यो । जबकि त्यसको १० वर्ष जति अगाडि मात्र वान डे क्रिकेट जन्मेको थियो ।

पारम्परिक टेस्ट क्रिकेटका समर्थक वान डेको खेलले यसको वास्तविक स्वरूप नै मार्छ भनेर दाबी गर्थे । धेरैले यसलाई ‘पाइजामा’ क्रिकेट भन्दै व्यंग्य गर्थे । रंगीन जर्सी अनि सेतो बल । धेरैले यसलाई स्वीकार्न नै सकिरहेका थिएनन् । उनीहरू पुराना पुस्ताका क्रिकेट पारखी थिए ।

अब अहिलेको कुरा गरौं । शनिबारदेखि ट्वान्टी–२० क्रिकेटको दसौं विश्वकप सुरु हुनेछ । केही समयको अन्तरालमा वान डे र ट्वान्टी–२० क्रिकेट विश्वकप आयोजना हुँदै आएको छ । हिजोआज त वान डे क्रिकेट पनि समयअनुसार भएन भन्ने सुनिन थालेको छ । अर्थात् जे छ अब ट्वान्टी–२० क्रिकेटमै छ । उहिले वान डे क्रिकेटकै आलोचना गर्नेले अहिले ट्वान्टी–२० क्रिकेटको चर्चा चुलिएको देख्दा के मात्र भन्न बाँकी राख्दा हुन् ? 

अहिले दुई वा त्योभन्दा बढी दिन चल्ने क्रिकेट पनि छ । यसको माथिल्लो स्वरूप टेस्ट क्रिकेट नै भयो, पाँच दिनको । वान डे क्रिकेट पनि छँदै छ, सिंगै एक दिनको, सय ओभर चल्ने । सँगसँगै ट्वान्टी–२० क्रिकेट पनि । अब नयाँ जमाना सुहाउँदो प्रश्न, साँच्चै ट्वान्टी–२० क्रिकेट अस्तित्वमा नआएको भए के पारम्परिक ढर्राका टेस्ट क्रिकेट अहिले जस्तै चलिरहेका हुन्थे त ? जवाफ सजिलो छैन, यसको । तर एउटा कुरा मज्जाले भन्न सकिन्छ, ट्वान्टी–२० संरचनाले क्रिकेट खेललाई नै धेरै गुन लगाएको छ । क्रिकेटको लोकप्रियता थप फराकिलो बनाएर । यसलाई त अझ २० ओभरले ल्याएको क्रिकेट क्रान्ति भन्दा पनि हुन्छ । 

भारत र श्रीलंकामा शनिबारदेखि ट्वान्टी–२० क्रिकेटको दसौं विश्वकप सुरु भएको छ । अबको केही साता, चारैतर्फ यसकै चर्चा चल्नेछ, क्रिकेट मन पराउने देशमा । नेपालले पनि यो विश्वकप खेल्दै छ, त्यसैले यहाँ पनि बाक्लो चर्चा हुने नै भयो । साँच्चै दुई दशकभन्दा केही बढीको ट्वान्टी–२० क्रिकेटको यात्रा आफैंमा कस्तो छ त ? यसले विश्व क्रिकेटलाई दिएको छ चाहिँ के ? क्रिकेटको इतिहास आफैंमा १ सय ५० वर्ष जति पुरानो छ ।

जतिबेला ट्वान्टी–२० क्रिकेट सुरु भएको थियो, यसलाई अलिकति हेपेर दिइएको नाम थियो, ‘हिट एन्ड गिगल’ । सन् २००३ ताका क्रिकेट खेलकै जन्मथलो इंग्ल्यान्डमा यसको लोकप्रियता अचम्मले घट्न थाल्यो । क्रिकेट मन पराउनेले नै भन्न थाले यो खेल आफैंमा समयअनुसारको रहेन, यसलाई नयाँ स्वरूप आवश्यक छ । ख्यालख्यालमै सुरु भएको क्रिकेटको यो कान्छो स्वरूपले अन्ततः यो खेललाई नै सधैंका लागि फेरेको छ ।

अब त दिन कस्ता आए भने टेस्ट क्रिकेट पनि ट्वान्टी–२० पाराले खेल्न थालियो । विश्व क्रिकेटलाई यसले लगाएको सबैभन्दा ठूलो गुन के हो त ? यसको पहिलो जवाफ हो, साँच्चैमा एथलेटिक्सका जस्ता देखिने खेलाडी । नत्र एक जमानामा ‘अल्छी’ देखिने खेलाडी पनि यो खेलका लागि योग्य मानिन्थे । अचेल शारीरिक रूपमा कोही खेलाडी पूर्णतः फिट छैनन् भने उनले खेलिरहने सम्भावना नसोचे हुन्छ । अब एक ब्याटरले अल्छी पाराले पूरा खेल चलाउने दिन गए ।

अब त ३६० डिग्री घुमेर प्रहार गर्न सक्ने ब्याटरको जमाना हो । अब त क्रिकेटर जिम्न्यास्टिककै खेलाडी जस्तो फुर्तिलो हुनुपर्छ । यी खेलाडीले फिल्डिङ गर्दा स्लाइड, डाइभ, बाउन्ड्रीतिर रिले क्याच, के–के मात्र गर्नु पर्दैन ? ट्वान्टी–२० क्रिकेटकै कारण टेस्टमा पनि धेरैभन्दा धेरै रन बन्ने भइसकेको छ, जबकि पहिले पूरापूर एक दिनको खेलमा दुई सय रनलाई पनि ठीकठाक मानिन्थ्यो । टेस्ट क्रिकेटमै पनि ‘रिभर्स स्विप’, ‘स्कुप’ प्रयोग हुन थालेका छन् । त्यसैले त हो, टेस्ट क्रिकेटमा बराबरीको नतिजा अब दुर्लभ हुने गरेका छन् ।

अनि ट्वान्टी–२० क्रिकेटकै कारण यो खेलमा अनेक खाले विशेषज्ञ खेलाडी पनि जन्माएको छ । जस्तो ‘पावर हिटर’ अर्थात् अन्तिम पाँच ओभरमा आक्रामक भएर खेल्न सिकाएका खेलाडी । ‘मिस्ट्री बलर’ अर्थात् त्यस्ता बलरले जसले कुन बेला कस्तो बलिङ गर्ने हो भन्नै नसकिने ।

अनि ‘डेथ बलर’ पनि अर्थात् त्यस्ता विशेष बलर जसले अन्तिम र निर्णायक घडीमा धारिलो योर्कर बलमात्र फाल्दैनन्, अचम्मले सुस्त बल पनि फ्याँक्न सक्छन् । यसरी नयाँ कुराको सूची बनाउने हो भने लामै हुन्छ । भविष्यमा अझ थप प्रयोग होला पनि ।

विश्व क्रिकेटलाई सधैं एउटा गम्भीर आरोप लाग्छ, कि यो केही देशको खेलमा मात्र सीमित भयो । अरू खेल आफूलाई फैलाउने काम गर्छ, यो खेल केही टिमभित्र सीमित रहेर खुसी हुन्छ । यो आरोप केही हदसम्म साँचो पनि हो । तर, यो तथ्य आफैं तोडिँदै छ, ट्वान्टी–२० क्रिकेटकै कारण । यस पटक विश्वकपमा २० टिम खेल्दै छन्, भविष्यमा यो संख्या अझ बढ्नेछ । यस पटक इटालीले पहिलो पटक विश्वकप खेल्दै छ । सन् ८० तिर फर्कने हो भने इटालीले क्रिकेट खेलेको कुरा सुनाउँदा धेरै हाँस्थे होला, गफ ठानेर ।

मुख्य कुरा, कुनै पनि खेलको लोकप्रियता र चर्चा आर्थिक स्रोतमै निर्भर गर्छ । क्रिकेटलाई पैसा दिने मात्र होइन, मालामाल पनि कसैले बनाएको छ भने त्यो ट्वान्टी–२० क्रिकेटले नै हो । फ्रेन्चाइज क्रिकेटको विकासले यो खेललाई असाध्यै धेरै व्यावसायिक बनाएको छ । ट्वान्टी–२० ले जुटाएको आर्थिक स्रोतले केही हदसम्म क्रिकेटका अन्य स्वरूपलाई भरथेग गरेको छ । यसरी हेर्दा टेस्ट र वान डे क्रिकेटलाई जीवन्त राख्न पनि ट्वान्टी–२० सहयोगी बनेको छ । अर्थात् विश्व क्रिकेटलाई ट्वान्टी–२० स्वरूपले गुनैगुन लगाएको छ । यही त हो, २० ओभरले ल्याएको क्रिकेट क्रान्ति ।

हिमेश

Link copied successfully