वानखेडेमा नेपालको पहिलो परीक्षा

नेपालले समूह चरणका चारै खेल खेल्ने वानखेडे स्टेडियमको सबैभन्दा ठूलो विशेषता भन्नु नै यहाँको रातो माटोले बनेको पिच हो, भारतका अन्य क्रिकेट स्टेडियममा रातो माटोको पिच पाइन्न, यहाँ बल राम्रोसँग ‘बाउन्स’ हुने भएकाले ब्याटरलाई र स्टेडियम समुद्र नजिक हुनाले बलरलाई पनि सिम र स्विङ दुवै मिल्छ 

माघ २४, २०८२

हिमेश

Nepal's first exam at Wankhede

What you should know

काठमाडौँ — मरिन ड्राइभ अनि चर्च गेट । त्यससँग टाँसिएको छ भन्दा हुन्छ, वानखेडे स्टेडियम । यी तीन नाम सुन्दैमा मुम्बईको छनक आउँछ । मुम्बई क्रिकेटको घर हो, यो वानखेडे स्टेडियम । सबैभन्दा पहिला, यो स्टेडियम किन बन्यो ? कसरी नाम जुर्‍यो ? यसको कथा नै रोमाञ्चक छ । इतिहासमा खेलसँग जोडिएका त्यस्ता धेरै विवादका कथा छन्, जसले नयाँ स्टेडियम बन्न/बनाउन प्रेरित गरेको छ । वानखेडे स्टेडियमको कथा पनि लगभग यस्तै हो । 

भयो के भन्दा सन् १९७० ताका क्रिकेट क्लब अफ इन्डिया र मुम्बई क्रिकेट एसोसिएसनबीच एकखाले विवाद भयो । त्यस क्रिकेट क्लबको अधीनमा ब्रेबोन स्टेडियम थियो र त्यहीं हुने खेलको टिकट भागबन्डामा मतभेद भयो । यस्तो अवस्थामा एसोसिएसनले एउटा निर्णय गर्‍यो, आफ्नै स्टेडियम किन नबनाउने ? एसोसिएसनका अध्यक्ष थिए, शेषराव वानखेडे । एक वर्ष जतिको समयमै स्टेडियम बन्यो अनि परिचय जुरेको थियो, तिनै अध्यक्षको थरबाट । 

यसले केही समय अगाडि मात्र आफ्नो ५० औं वर्षगाँठ धुमधाम र सानले मनाएको थियो । भारत मात्र कहाँ हो र ! विश्वकै सबैभन्दा नामी स्टेडियममध्ये एक हो यो । वानखेडेमै त हो भारतले सन् २०११ मा एकदिवसीय विश्वकपको उपाधि जितेको । सचिन तेन्दुलकरले खेलेको अन्तिम अन्तर्राष्ट्रिय खेल पनि यहीं हो । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम मुम्बई इन्डियन्सको होम ग्राउन्ड पनि यहीं त हो । यहाँ अनेक सम्झनलायक खेल भएका छन् । अब प्रश्न हो, वानखेडे स्टेडियमको चर्चा यति बेला किन त ? 

अब वानखेडे स्टेडियमसँग जोडिनेछ, नेपाल पनि । यसपल्टको ट्वान्टी–२० विश्वकप आज शनिबारदेखि सुरु भएको छ । त्यसको एउटा सुरुआती खेलमा भारत र अमेरिका भिड्दै छन् वानखेडेमै । नेपालका सबै खेल यहीं हुनेछन् । नेपाली क्रिकेटका लागि यो खेलकै एउटा ठूलो ‘विरासत’ सँग जोडिने अवसर हो । पारम्परिक रूपमा भन्दा वानखेडे स्टेडियम ‘ब्याटिङ प्याराडाइज’ हो । यहाँ धेरै रन बन्छ, जित्न धेरै रन बनाउनैपर्छ । 

वानखेडे स्टेडियम धेरै कारणले विशेष छ । यहाँ राम्रो खेल्नका लागि यसलाई राम्रैसँग बुझ्नुपर्छ । सन् २०११ को एकदिवसीय विश्वकपकै लागि भनेर यसको पुनर्निर्माण गरिएको थियो । वानखेडे स्टेडियमको सबैभन्दा ठूलो विशेषता भन्नु नै यहाँको रातो माटोले बनेको पिच हो । भारतका अन्य क्रिकेट स्टेडियममा रातो माटोको पिच पाइन्न । यसै कारण त हो, वानखेडे स्टेडियममा बडो मज्जाको ‘बाउन्स’ पाइन्छ । ब्याटर राम्रो हुनुपर्छ, यो बाउन्समा उत्तिकै मज्जाले खेल्न सकिन्छ । 

Nepal's first exam at Wankhede

अझभन्दा बल ब्याटरतर्फ राम्रोसँग आउँछ । वानखेडे स्टेडियममा जम्मा आठ पिच छन् । वानखेडेको आउटफिल्ड मस्तको छ नै, बाउन्ड्री पनि छोटै छ । यस्तोमा ट्वान्टी–२० क्रिकेटमै एक पटकमा २ सय रन सामान्य जस्तै हुने गर्छ । यति भन्दाभन्दै सबथोक ब्याटरकै लागि मात्र हो भन्नु पनि ठीक हुन्न । बलर राम्रो हुनुपर्छ, स्विङ पनि मिल्छ । खेल अगाडि बढ्दै जाँदा स्पिनरलाई पनि त्यत्तिकै सहयोगी बन्न सक्छ । स्टेडियम समुद्र नजिक रहेको हुनाले साँझतिर सिम र स्विङ दुवै मिल्छ । 

छेउमै रहेको अरब सागरबाट बग्ने हावाले पनि खेलमा भूमिका खेलिरहेको हुन्छ । प्रायः साँझको समय तीव्र गतिमा हावा चल्छ । यसैले तीव्र गतिका बलरलाई सहयोगी बन्ने हो । फेरि यही हावा ८ बजेपछि सुस्त हुन्छ । त्यसपछि भने आर्द्रता बढ्छ । तर वानखेडे स्टेडियम बलरलाई मनपर्ने स्थान होइन भन्दा नै हुन्छ । वानखेडे स्टेडियममा शीतको पनि जबर्जस्त प्रभाव देख्न पाइन्छ । प्रायः दोस्रो इनिङ्स चल्दा बल शीतका कारण गिलो हुन सक्छ र यसले बलरलाई दुःख दिन सक्छ । फिल्डिङ पनि गाह्रो हुन सक्छ । 

त्यसैले लक्ष्य पछ्याउन सजिलो हुन सक्ने स्थान हो, वानखेडे स्टेडियम । प्रायः टस जितेर पहिले बलिङको निर्णय लिइन्छ अनि लक्ष्य पछ्याउने टिमले नै बढी जितेको तथ्यांक पाइन्छ, वानखेडे स्टेडियममा । त्यसैले यहाँ टस पनि प्रायः निर्णायक कारणमध्ये एक मानिन्छ । यस्तोमा यस स्टेडियममा दिनमा मात्र हुने खेल, दिन र राति हुने खेल अनि राति मात्र हुने खेल केही न केही अर्थमा फरक हुन्छ । त्यसअनुसार नै टिमले रणनीति पनि तय गर्नुपर्ने हुन्छ । 

संयोग नै भनौं, नेपालले वानखेडे स्टेडियममा चार खेल खेल्नेछ । त्यसमा समय पनि तीन फरक बेला परेको छ । इंग्ल्यान्ड र इटालीविरुद्धको सुरुआती दुई खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । वेस्ट इनिडजविरुद्धको खेल भने बिहान ११ः१५ बजे परेको छ । स्कटल्यान्डविरुद्धको अन्तिम खेल हुनेछ, बेलुका ७ः१५ बजे । त्यसैले मज्जा यहाँनिरै छ । नेपाली टिमले यी तीन फरक समयका खेललाई कसरी लिनेछ, त्यो हेर्नलायक हुनेछ । टिमको संरचना धेरै हदसम्म यसमै टिक्नेछ । 

खास भन्ने हो भने क्रिकेट असाध्यै धेरै प्राविधिक खेल हो । यसमा सिधा मैदानमा गयो अनि खेल्यो, यस्तो हुन्न । यसले यो खेललाई अलिकति जटिल बनाएको छ । अर्को अर्थमा क्रिकेटलाई रोमाञ्चक पनि बनाएको छ । वानखेडे स्टेडियममा यी सबै फरक खाले विशेषताबीच नेपालले ट्वान्टी–२० विश्वकप खेल्दा त्यसले पस्कने खेलको रोमाञ्च भिन्न हुनेछ । विश्वास गरौं, नेपाली टिमले यही विविधतालाई आफू अनुकूल ढाल्नेछ अनि मस्तले रन बनाउनेछ ।

हिमेश

Link copied successfully