पछिल्लो समय लेखिएका महिलाप्रधान कथामध्ये यस संग्रहका कथाले पाठकको मन खिच्छ । त्यहाँ दुःख छ, दर्द छ तर महिला पात्रलाई ‘विचरा’को बिम्बमा कहीं उभ्याइएको छैन ।
What you should know
राधिका कल्पितकृत कथासंग्रह ‘सम्मोहन’ मा संग्रहमा १४ वटा समावेश रहेछन्, जसमा पहिलो कथा ‘चिराग’ रहेको छ । कथामा एक महिला श्रीमान्सँग घुम्न माथिल्लो मुस्ताङ गएकी हुन्छिन् । युवाकालमा घोडचढीमा अभ्यस्त पात्र त्यहाँ घोडा देख्दा आफ्ना नास्टाल्जियामा पुग्छिन् । कुनै बेला उनको ‘चिराग’ नामको घोडा थियो, जुन घोडा चढेर ती पात्रले दुनियाँ विचरण गर्थिन् ।
राधिका कथा यसरी लेख्छिन्, ‘किशोरावस्थामा पुग्दा घोडचढीमा पारङ्गत हुँदै गएको देखेर बुबाले मलाई हौस्याउँदै भन्नुहुन्थ्यो, ‘मेरी छोरी अपराजिता नामक घोडामा सवार हुने देवी अश्वारुढा हुन् ।’ बुबाका कुराले पुलकित हुँदै देवी अश्वारुढाबारे जिज्ञासा राख्थें । बुबा अश्वारुढाबारे भन्नुहुन्थ्यो, ‘उनी शक्तिस्वरूपा देवी हुन् छोरी । हातमा सुनको छडी बोकेर अपराजिता नामक सेतो घोडामा सवार हुन्थिन् । उनले सत्य युगमा असुरहरूको नाश गरेर सुरहरूको रक्षा गरेकी थिइन् । बुबासँगको संवादले मेरो शरीरभरि काँडा उम्रिन्थ्यो ।’
राधिकाको लेखनशैली समकालीन कथाकारहरूमा एक अब्बल दर्जाको पाइयो । पेसाले शिक्षक भएकाले पनि हुन सक्छ शब्दहरू एकदम खाँटी, मिठा र उच्चकोटीका छन् । शुद्धाशुद्धीमा कहीं खोट भेटिन्न । लेखाइ यति पर्फेक्ट छन् कि हरफ–हरफले लोभ्याउँछ ।
किताब नै बनाइसकेपछि मान्छेका मात्रै कथा नलेखेर प्रकृतिका अनेक जीव र परिवेशलाई पनि स्थान दिँदा झनै लेखकको लेखन दायरा बढ्ने थियो ।पछिल्लो समय लेखिएका महिलाप्रधान कथाहरूमध्ये यो संग्रहमा भएका कथाले पाठकको मन खिच्छ । महिलालाई हिरो बनाएर लेखिएका कथाहरू निक्कै नै अहमका साथ प्रस्तुत गरिएका छन् । त्यहाँ दुःख छ, दर्द छ तर महिला पात्रलाई ‘विचरा’को बिम्बमा कहीं उभ्याइएको छैन । कुनै नियतिवश दुःखमा परे तापनि कसो–कसो गरेर पात्रले जीवन सुखान्तमा उतारेका कथाहरू छन् ।
कथामा शीर्षक छनोट, भाषा प्रयोग, वाक्य गठनले पाठकलाई सम्मोहित गराउँछ नै, कथा बुनोटले पनि कहीं काल्पनिक नलाग्ने गरी कथालाई बगाइएको छ । शीर्ष कथा ‘सम्मोहन’मा एक पात्र लेखक हुन्छन् र ती पात्रले आफ्ना कथामा एक किशोरी पात्रलाई ल्याउँछन् । तिनै पात्रको सम्मोहनमा परेर आफ्नी श्रीमतीसँग असहज महसुस गरेको कथा बडो गज्जबले रचना गरिएको पाइयो । ती परिपक्व लेखक पुरुषले विस्मृतिमा रहेका एक किशोरी पात्रलाई कथामा उतार्न सक्ने सम्भावनाको स्रोत ती लेखकका बालसखा हुन्छन् । यसरी पात्रलाई जन्माउने स्रोत खुलाएर लेखकमा हुनुपर्ने कौशलता देखाएकी छन् ।
‘सम्मोहन’ कथाका आकर्षक अनुच्छेमध्येबाट केही लाइन– ‘ऊ नआउञ्जेल जिन्दगी ठीकठाक चलेको थियो । तर, जब ऊ आई जीवनको शृङ्खला टुटेको छ । लय बिग्रिएको छ । ऊ मेरो आदत भएकी छे । लेख्नका लागि एकान्त चाहिने बहानामा प्रभातको प्रथम प्रहरमै ओछ्यान छाडेर म स्टडी रुम छिर्छु अनि सुरु हुन्छ माधवीसँगको प्रेमिल एवम् कष्टकर प्रणय यात्रा ।’
‘..प्रेमिल एवम् कष्टकर प्रणय यात्रा..’ प्रेमिलमा ‘कष्टकर यात्रा’ भन्ने वाक्य गठन बडो गज्जबको लाग्यो । यस्तै खाले वाक्यहरूले यो कथा संग्रह पठनीय छ । कथाको बनोट भन्ने हो भने धेरै कथाहरूमा लेखक आफ्नै पात्रसँग घोर प्रेममा परेको कुरा नौलो होइन । तर, राधिकाको लेखनमा पात्रसँग प्रेममा परेको लेखक श्रीमतीसँग अप्ठेरो मानेको कुरा थप नौलो छ ।
लेखकले छानेको विषयमध्ये ‘अनावरण’ शीर्षक कथा पनि पठनयोग्य छ । कथाको पात्र एक्लो छोरोको विवाहको रात हुन्छ । तर, जसै गर्दा पनि श्रीमतीप्रति कामवासना पैदा हुँदैन । जति नजिक गयो, उति पसिना छुट्छ । अन्ततः त्यो पुरुषले समाजको दबाबका कारण देखाइरहेको आडम्बरी सुहागरातमा आफ्नो असली भावनालाई दबाउन सक्दैन । त्यो अवस्थामा बेहुली अर्थात् स्त्रीले उसको उद्वार गरेको कथा बडो शिल्पका साथ प्रस्तुत गरिएको छ । यो विषय समाजमा भित्रभित्रै गलेर बसेको भयावह समस्या हो । एक्लो छोरो हुनु, त्यो पनि स्त्रीभावना लिएर जन्मिनु अनि छोरा हुनुको आडम्बर बोकेर हिँड्नु परेको बाध्यता कस्तो होला ? त्यो भावना बुझिदिन कोही त हुनुपर्यो । कथाले उनकै जीवनसाथीलाई यो जिम्मेवारी सुम्पेर यस्तो अवस्थाको न्याय गरेकी छन् ।
यो संग्रहका कथाहरूमा महिलालाई स्वतन्त्र र निर्णायक भूमिका उभ्याए तापनि पुरुषसँगको सम्बन्धलाई भने कम महत्त्वमा राखेको छ । यो कुराको झल्को उनका दुई कथा ‘स्पर्श’ र ‘विल यू म्यारी मी ?’ ले दिएका छन् । ‘स्पर्श’ कथामा एक स्वावलम्बी महिला, जो हर हिसाबमा पर्पेक्ट छे, दरबारमार्गमा निजी बङ्गला छ, आईएनजीओमा जागिर छ । यौन चाहना पूरा गर्दिने विभिन्न आधुनिक टोयहरू छन् । तर, मानव संवेदनको संसर्गबिना ऊ व्याकुल हुन थाल्छे । त्यतिञ्जेलसम्म मनोरञ्जन दिने साधनहरू उसलाई बोर लाग्न थाल्छ । अचानक भित्तामा झुन्डाइएको पोट्रेटमा बच्चालाई दूध चुसाइरहेको फोटोमा आँखा चुइगम जसरी टाँसिन्छ । अन्ततः आफैंसँग प्रश्न गर्छे, ‘के प्रत्येक नारीभित्र एउटी आमा विद्यमान हुन्छे ?’ यतिमात्र कहाँ हो र ? ती पात्र त्यसपछि तुरन्तै सन्तान प्राप्त गर्न सहयोग गर्ने केन्द्रमा पुग्छिन् ।
यो कथाको आशयले के भन्छ भने महिला आमा बन्न, पुस्ता निरन्तर गर्न चाहन्छे तर त्यसको लागि पुरुष नै अनिवार्यता छैन । जब कि यी पात्रले लामो समय लिभिङ टुगेदरमा बसेको पार्टनरलाई विवाह गर्ने प्रस्तावकै कारण त्यागेकी हुन्छे । अर्को यस्तै कथा ‘विल यू म्यारी मी ?’ मा चाहिँ महिला पात्रले आफ्नो लेखन यात्रालाई स्वतन्त्र रूपले बढाउन परिवार त्यागेकी हुन्छे । पछि विवाह प्रस्ताव आउँदा पनि सिधै नकार्छे । तर, जीवनको अन्तिम क्षणमा तिनै पुरुष आएर उसको भित्री मनका इच्छाहरू पूरा गर्दिन्छन् । युरेट्सको क्यान्सर फोर स्टेजमा पुगेका दुई चारदिने पाहुना पात्रले आफ्ना प्रेमीसँग अन्तिम दिनहरू बिताएको संवाद एकदम मिठो छ । कथाको अन्त्यमा दुई पात्रले विवाह पनि गरेको देखाइएको छ । प्रेमको मोहमा परेपछि मृत्युलाई स्वीकारी सकेको व्यक्तिले पनि मर्न चाहन्न । अझ धेरै बाँच्न अभिलाषा राख्छे । यो कथाको अन्त्यतिर बडा गज्जबको शैली छ । यहाँ थोरै देखाइहालूँ, ‘शकु, बजारमा नयाँ किताब आएका रहेछन् । उठ त एकछिन हेर ।’
‘मैले आँखा खोल्न सकेको छैन । त्यतै राख्नू । उठेको बेला पढुँला ।’
‘...ल हेर्नु त शकुन्तला म्याडम, कस्ता राम्रा किताब छन् ।’
‘ए कति राम्रो कभर डिजाइन है ? यी ककसका किताब रहेछन् वस्ती सर ?’
‘हाम्रा शकुन्तला म्याडम अक्षरै चिन्न नसक्ने हुनभो र ? पढ्नु न आफैं कसका रहेछन्,’ उहाँले जिस्क्याउँदै भन्नुभो ।
पात्रहरू हरेकले बोल्ने शैली एकै किसिमको (लेखकको) छ । यसो गर्नु हुँदैन । हरेक पात्रको बोल्ने शैली फरक बनाउनुपर्छ ।मैले आँखामा बल लगाएर चस्माबाट किताबका गातामा लेखिएका अक्षर पढ्ने कोसिस गरें । कखरा सिक्दै गरेको बच्चाले झैं आवाज निकालेर पढें, ‘श–कु–न्त–ला श–र्मा ।’
यी कथाहरूलाई केलाएर हेर्दा लेखकको मनोविज्ञान विवाहप्रति वितृष्णा, तर पुरुषसँगको प्रेमको चाहिँ सम्मान गरेको हो कि ? भन्ने पनि देखिन्छ । कुनै कथामा प्रेमको सार्थकता विवाहले मात्र पूरा गर्छ भन्ने बुझाउन खोजेको हो कि भन्ने पनि देखाउँछ । त्यसकारण समग्रमा बुझ्दा लेखकले आफ्नो कुनै धारणालाई अडिग नराखीकन महिलालाई उच्चस्थान दिने मात्रै सोच रहेको देखिन्छ । चौधवटै कथाहरू पढ्दा लेखन शैलीका कारण कुनै पट्यार लाग्दैन । एक शिक्षक साहित्यमा लाग्दा कति गज्जब हुँदोरहेछ भन्ने स्पष्ट देखिन्छ ।
तर, पहिलो आख्यान कृति भएकाले केही त्रुटिहरू अवश्यै छन् । कथा बनोटमा अलिकति दृश्यलाई अगाडि ल्याइसकेपछि त्यसलाई पुष्टि गर्न स्मृतिमा लैजाने शैली खुब मज्जाको छ । तर, यस्तो बनोट एउटा कथा पढ्दा मज्जा आउँछ । संग्रहकै रूपमा आउँदाखेरि चाहिँ एउटै शैली धेरै कथामा लगाउँदा पाठकलाई बोर लाग्छ । पात्रहरूको पारदर्शितामा ध्यान पुगेको छैन । तर, लेखकका पात्रले पात्रकै वर्णन गर्दा भने फेरि मज्जाले पारदर्शिता प्रयोग गरेको छ । जस्तो ‘सम्मोहन’ कथामा लेखक पात्रले उसको पात्रको राम्ररी बयान गरेको छ । तर, रियल लेखकले लेखक पात्रबारे कुनै चिनारी दिएकी छैनन् । सिर्फ उसको स्वभावको कुरा मात्रै गरेको छ । लेखककी श्रीमती कस्ती छन् ? त्यो पनि पाठकले अनुमान लगाउन सक्दैन । पात्रहरू हरेकले बोल्ने शैली एकै किसिमको (लेखकको) छ । यसो गर्नु हुँदैन । हरेक पात्रको बोल्ने शैली फरक बनाउनुपर्छ । पात्रको परिवेश र उमेर अनुसारको सोच्ने शैली, बोल्ने शैली फरक हुन्छ भनी ख्याल गर्नुपर्छ । ‘दकस’ भन्ने शब्द धेरै दोहोरिएका छन् ।
किताब नै बनाइसकेपछि मान्छेका मात्रै कथा नलेखेर प्रकृतिका अनेक जीव र परिवेशलाई पनि स्थान दिँदा झनै लेखकको लेखन दायरा बढ्ने थियो ।
