युद्ध लडेका सेनाहरू थकाइ मार्ने स्थल तिरहुतिया गाँछी अहिले राजनीतिक सभा–समारोहको साक्षी बनेको छ
What you should know
जनकपुर — नेपाली शब्दकोशमा ‘पुर’ को अर्थ नगर, सहर र बजार हुन्छ । त्रेतायुगमा राजा जनकको राजधानीभित्रै पर्थ्यो, जनकपुर । जनक राजाको नामसँग जोडिएर जनकपुरको नाम राखिएको हो । तर, नेपाली शब्दकोशले भनेझैं जनकको पछाडि थपिएको पुरको अर्थ त्यो होइन । राजा जनकको शासनकालमा उनीद्वारा शासित क्षेत्र अर्थात् पुर रहेकाले जनकपुर राखिएको पौराणिक मान्यता छ ।
सातौं शताब्दीमा एक जना चिनियाँ यात्री जनकपुर क्षेत्रमा भ्रमणमा आउँदा यसको नाम चेनसुना रहेको उनले उल्लेख गरेका छन् । विश्लेषक रोशन जनकपुरीका अनुसार, राजा जनक र सीतासँग जोडिएकाले जनकपुर नाम राखिएको हो । ‘जनकपुर पुरानै नाम हो । मैथिली कोकिल कवि विद्यापतिको रचनामा पनि जनकपुरको नाम उल्लेख छ,’ जनकपुरीले भने, ‘राजा–महाराजाको शासकीय क्षेत्रबाटै बस्ती र बजारको विकास भएको हो । जनकपुर पनि त्यही हो ।’
१४१७ सालमा भारत, मध्यप्रदेश लोहागढका सुरकिशोर दास सीताको स्वर्णमूर्ति खोज्दै जनकपुर आइपुगेका थिए, जो साधु थिए । सपनामा सीतामाताले ‘मेरो स्वर्णमूर्ति जहाँ भेटिन्छ, त्यही नै जनकपुर हो’ भनेपछि उनी मूर्तिको खोजीमा निस्केका थिए ।
सीताको स्वर्णमूर्ति भेटिएको ठाउँमा उनले कुटी बनाए । र, त्यहीं बस्न थाले । यसलाई कल्पना भनिए पनि जानकी मन्दिर रहेको अहिलेको स्थानमा कुटीचाहिँ थियो । त्यतिबेला घना जंगलभित्रको सानो बस्ती थियो, जनकपुर । सीताको स्वर्णमूर्ति भेटिएको खबर फिँजिएपछि भारत मध्यप्रदेशको टिकमगढकी रानी वृषभानु कुँवर जनकपुर आइन् ।
निःसन्तान उनले सन्तान प्राप्तिको भाकल गरिन् । सन्तान प्राप्तिपछि रानीले झुपडीमा रहेको सीताको मन्दिरलाई आलिसान बनाइदिइन् । ९ लाख चाँदीका असर्फी खर्चेर निर्मित जानकी मन्दिरलाई ‘नौलखा मन्दिर’ पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास गरिएको जानकी मन्दिरको निर्माण सन् १९११ मा सकियो । जंगलभित्रको सानो बस्ती जनकपुर मुगलशैलीको जानकी मन्दिर निर्माणपछि घनाबस्तीमा परिणत हुन थाल्यो । क्षेत्रफलमा नेपालकै सबैभन्दा ठूलो मन्दिर र पवित्र धर्मस्थल जानकी मन्दिरकै कारण जनकपुरले सहरिया स्वरूप लियो ।
सर्लाहीको हरिपुर र ईश्वरपुरमा पुर जोडिनुको ऐतिहासिक भाषिक दुवै पक्ष जोडिएको जानकारहरू बताउँछन् । हरि अर्थात् भगवानको बस्ती भएकाले हरिपुर नामकरण भयो । हरिपुरस्थित चिताइनमा ऐतिहासिक महादेव मन्दिर छ । यस्तै ईश्वरपुर भन्नाले ईश्वर अर्थात् भगवानलाई जनाउँछ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष बेनीबहादुर कार्की ‘हरिपुर र ईश्वरपुरमा पुर जोडिनुको कारण मिथिला सभ्यता, प्राचीन र धार्मिक केन्द्र भएकाले हो’ भन्छन् ।
वीरशमशेरको गन्ज
१ सय १६ वर्ष पुरानो सहर हो, वीरगन्ज । तत्कालीन श्री ३ वीरशमशेरले वि.सं. १९४५ देखि १९५० को बीचमा वीरगन्ज बजार स्थापना गरेको अनुमान छ । वीरशमशेरले स्थापना गरेको हुनाले यसको नाम वीरगन्ज रहन गएको भनाइ छ । नेपाली शब्दकोशमा गन्जको अर्थ नामको अन्त्यमा प्रत्यय लागेर बस्ती वा बजारको बाचक बन्ने शब्द हो ।
वीरगन्ज स्थापनाअघि पर्सा जिल्लाको मुख्य केन्द्र अलौं थियो । वि.सं. १९०४ साउन महिनामा सुगौलीबाट पर्साको अलौंमा सैनिक क्याम्प राखेको इतिहास छ । वीरगन्ज महानगरपालिको संक्षिप्त परिचयमा वीरगन्ज बजारको स्थापनाअघि यस आसपासका गाउँहरू बगही, अलौं, बरेवा, कलैया, प्रसौनी, इनरुवा, छपकैया अस्तित्वमा आइसकेका थिए । कलैयाबाट प्रसौनी, इनरवा गाउँ हुँदै छपकैया भएर अलौं जाने सानो बाटो थियो ।
जंगलले ढाकेको स्थानमा वीरगन्ज बजार स्थापना गर्न श्री ३ वीरशमशेरले आफ्ना विश्वासपात्रद्वय सिद्धवीर माथेमा र ध्वजवीर माथेमा (दुई दाजुभाइ) लाई क्रमशः माल अड्डा तथा काठ माल अड्डाको हाकिम बनाई वीरगन्जमा खटाएका थिए । त्यसै सिलसिलामा सिद्धवीर माथेमाले निःशुल्क जग्गा तथा काठ वितरण गर्नुका साथै वीरगन्जमा घर बनाउनेहरूलाई नगदको व्यवस्था गरी सहयोग पुर्याएका थिए ।
वीरगन्ज नामको पछाडि राणाकालीन राज्यनीति, व्यापार प्रवर्द्धन र प्रशासनिक निर्णयको इतिहास पनि जोडिएको छ । वीरगन्जको इतिहास र नालीबेलीसहितको पुस्तक ‘सीमान्त सम्झना’ का लेखक गणेश लाठ वीरगन्जको बसोबास र बजार विस्तार राणा प्रधानमन्त्री वीरशमशेरको कार्यकालसँग गाँसिएको बताउँछन् ।
लाठका अनुसार, व्यापारिक गतिविधिलाई गति दिन तत्कालीन राणा शासकले भारतसँग जोडिने सीमावर्ती क्षेत्रमा योजनाबद्ध रूपमा बजार विकास गर्न थालेका थिए । सोही क्रममा वीरशमशेरको नामबाट ‘वीर’ र फारसी–उर्दू मूलको शब्द ‘गन्ज’ जोडिएर ‘वीरगन्ज’ नाम स्थापित भएको मानिन्छ । ‘गन्ज’ शब्द फारसी भाषाबाट आएको हो ।
यसको अर्थ बजार, व्यापारिक केन्द्र वा बस्ती हुन्छ । ‘गन्ज’ अघि नेपालमा गन्जको ठाउँमा ‘गढी’ शब्द प्रयोग गर्ने चलन रहेको लाठ बताउँछन् । पर्सागढी, बारागढी, सिन्धुलीगढी र हालको सिमरा सहरको पछाडि पनि सिमरागढी जोडिने गरेको लाठ बताउँछन् ।
चन्द्रशमशेरको निगाहबाट ‘चन्द्रनिगाहपुर’
पूर्व–पश्चिम राजमार्गमै बसेको रौतहटको चन्द्रनिगाहपुर पछिल्लो समय चपुरबाट चिनिन्छ । चन्द्रपुर नगरपालिका नाम राखिएको चन्द्रनिगाहपुरको नाम भने कसैको निगाहमा राखिएको हो ।
चन्द्रनिगारपुरको नाम रोचक त छँदै छ, ऐतिहासिक कारण पनि यो नामसँग जोडिएको छ । नेपालका १३ औं प्रधानमन्त्री चन्द्रशमशेर राणाले बस्नका लागि निगाह बक्सेकाले चन्द्रनिगाहपुर नाम राखिएको चन्द्रपुर नगरपालिकाको संक्षिप्त परिचयमा उल्लेख गरिएको छ । ‘त्यतिबेला राणाहरू तराईतिर सिकार खेल्न आउँदा यही क्षेत्रमा बस्ने गरेको पाइन्छ,’ चन्द्रपुर नगरपालिकाको परिचयमा भनिएको छ, ‘जंगबहादुर राणा तत्कालीन भिक्षाखोरी हालको अमलेखगन्ज हुँदै सिकार खेल्न निस्कन्थे ।’
चन्द्रशमशेरको नाम जोडिएकाले मानिसहरूले यस ठाउँलाई चन्द्रनिगाहपुर भन्न थालेको चपुरका समाजसेवी डा. शालिग्राम शर्माले बताए । ‘चन्द्रशमशेरबाट निगाह बक्स भएकाले यसको नाम चन्द्रनिगाहपुर रहन गएको हो,’ शर्माले भने, ‘उनले सिकार खेलेर गए पछि यहाँ बस्ती बस्ने क्रम बढ्यो ।’
सप्तरी–महोत्तरी : तपस्या स्थल
सप्तरीको नाम सप्तऋषिको नामबाट राखिएको मान्यता छ । सप्त शब्दको अर्थ सात र ऋषिको ऋषि । प्राचीनकालमा सात जना ऋषिले यस क्षेत्रमा तपस्या गरेका कारण यस भू–भागलाई सप्तऋषि भनियो । समयक्रममा अपभ्रंश भएर सप्तरी भएको बुझाइ छ ।
सप्तरी नामको अर्को तर्क पनि छ, सातवटा प्रमुख नदी बग्ने भएकाले पनि सप्तरी नाम राखिएको हो । सप्तरी क्षेत्रमा प्राचीन तिरहुत र चौबन्दी राज्यको भूभाग थियो । धार्मिक, सांस्कृतिक र भौगोलिक विश्षेताका कारण यस क्षेत्रको छुट्टै पहिचान स्थापित हुँदा सप्तरी नाम प्रचलनमा आएको बुझाइ पनि छ ।
यस्तै, महोत्तरी जिल्लाको नाम धार्मिक तथा ऐतिहासिक विश्वाससँग जोडिएको छ । महोत्तरी शब्द संस्कृत भाषाबाट ल्याइएको हो । संस्कृतमा महोत्तरी शब्दको अर्थ महान् स्थान वा विशेष धार्मिक महत्त्वको क्षेत्रलाई भनिन्छ । प्राचीनकालमा महोत्तरी क्षेत्र तपस्या, यज्ञ तथा धार्मिक गतिविधिका लागि महत्त्वपूर्ण स्थल थियो । त्यसैले यसलाई महोत्तरी भनिएको विश्वास छ ।
महोत्तरीको अर्थ राजा जनकको राज्यसँग पनि जोडिएको छ । मिथिलाको धार्मिक–सांस्कृतिक केन्द्रका रूपमा यो क्षेत्रको विशेष स्थान थियो । ऋषि र महात्माहरूको तपोभूमि रहेको महोत्तरीको नाम संस्कृत, धार्मिक आस्था र मिथिला सभ्यताको सम्बन्धबाट राखिएको पाइन्छ । अर्को तर्क पनि छ, महोदरी नामक ब्राह्मणले करिब पाँच बिघाको पोखरी खनाई उक्त पोखरीको नाम आफ्नो नामबाट राखे । सोही पोखरीको नामबाट जिल्लाको नाम महोत्तरी राखिएको पनि जनविश्वास छ ।
मलंग बाबाबाट मलंगवा, बरद–बास भए बर्दिबास
सर्लाही सदरमुकाम मलंगवाको सीमावर्ती क्षेत्रमा अवस्थित मलंग बाबाको मन्दिर जहाँ हिन्दु र मुस्लिम समुदाय दुवैले आ–आफ्नो परम्पराअनुसार पूजाआजा गर्छन् । हिन्दुहरूले मन्दिरका रूपमा पूजाआजा गर्ने गर्छन् भने मुस्लिम समुदायले मजारका रूपमा त्यहीँ माथा टेक्छन् । त्यही मन्दिरको नामले नै मलंगवा रहन गएको जनविश्वास छ । पौराणिककालमा साधु सन्त, संन्यासीको बसोबास तथा आवागमन धेरै थियो भन्ने मान्यता छ । मलंग शब्दले साधु–संन्यासी जनाउँछ । तिनैको बासस्थान भएकैले मलंगवाको नामकरण भएको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी बताउँछन् ।
आधुनिक सहर र मिश्रित बसोबासले वैभव फैलाउँदै गएको महोत्तरीको बर्दिबास सहरको नाम कसरी राखियो ? स्पष्ट नरहे पनि व्यापार र बाससँग जोडिएकाले बर्दिबास नाम राखिएको केही तर्क छन् ।
स्थानीयका अनुसार, धेरै समयअघि व्यापारीहरू बास बस्ने स्थल र मधेश तथा पहाड जोड्ने नाका भएकाले बर्दिबास नाम राखिएको हो । बर्दी अर्थात् व्यापारी वा बन्दी र बास अर्थात् बस्ने ठाउँ जोडेर बर्दिबास राखिएको विश्वास छ ।
बर्दिबास नगरपालिकाको वेबसाइटमा संक्षिप्त परिचयमा भनिएको छ, ‘त्यस समयमा काठ ओसारपसार गर्न गोरुगाडा प्रयोग हुन्थ्यो । पोखरी वरिपरि मानिस तथा गोरुलाई पनि रात्री बास गराइन्थ्यो । मैथिली भाषामा गोरुलाई ‘बरद’ भन्ने चलन रहेको हुँदा बरद बास बसेकाले ‘बरदबास’ भन्ने चलन रह्यो । पछि अपभ्रंश भई ‘बर्दिबास’ भन्ने चलन चलेको जनविश्वास छ ।’ कतिपयले भारतबाट जागिरका क्रममा घर फर्कने सिपाहीले बर्दी खोलेर बास बसेका कारण यसको नाम बर्दिबास रहन गएको पनि भन्छन् ।
युद्ध र राजनीतिका साक्षी : तिरहुतिया गाँछी
कुनै बेला घना जंगलले घेरिएको तिरहुतिया गाँछी अहिले उजार बनेको छ । तिरहुत राज्यका बेला तिरहुत (थारू) सेनाले विश्राम गर्ने थलो थियो, तिरहुतिया गाँछी । घना जंगल रहेको तिरहुतिया गाँछीमा अहिले मुस्किलले एक दर्जन रुख छ ।
जनकपुरको मुरली चोक, कदम चोक, शुक्रबारी हटिया, राम चोकसम्म करीब २० बिघा क्षेलफलमा रहेको तिरहुतिया गाँछी अहिले करिब ४ बिघा क्षेत्रफलमा खुम्चिएको छ । ‘जानकी मन्दिरजस्तै तिरहुतिया गाँछी पनि मिथिला–मधेशको धरोहर हो,’ जनकपुरका समाजसेवी अमरचन्द्र अनिलले भन्छन्, ‘तर यसको संरक्षण नहुँदा ओझेलमा परेको छ ।’
युद्ध लडेका सेनाहरू थकाइ मार्ने स्थल तिरहुतिया गाँछी अहिले राजनीतिक सभा–समारोहको साक्षी बनेको छ ।
