मुग्लिङ, गढी, टार र बिसे

चितवन, मकवानपुर, सिन्धुलीमा नामका पछाडि ‘गढी’ जोडिएका, धादिङ, सिन्धुपाल्चोकतिर ‘बिसे’ र टार जोडिएका ठाउँ धेरै

माघ १०, २०८२

रमेशकुमार पौडेल

Mugling, Garhi, Tar and Bise

What you should know

चितवन — काठमाडौं, पोखरा जाने–आउने गाडी रोकिने बजार हो मुग्लिङ । यहाँका प्रायः घरमा खाना खुवाउने होटल र तिनका अगाडि रोकिएका हुन्छन् साना–ठूला गाडी । दिनमा व्यस्त, रातमा पनि व्यस्त । मुग्लिङको नाम सुन्दा धेरैको दिमागमा यस्तै बजारको दृश्य आउँछ ।

लोकनाथ त्रिपाठी ९३ वर्षका भए । उनले देखेको मुग्लिङ अहिलेको भन्दा फरक छ । नारायणगढ–मुग्लिन सडक सकिएलगत्तै पोखराबाट आएको पृथ्वी राजमार्ग सुरु हुन्छ । त्यही राजमार्गको आडैमा छ उनको घर । ‘कुर्सी भएको ठाउँमा आली थियो । अहिले घरै घरले भरिएको यो ठाउँमा पूरै खेतै खेत थियो,’ उनले भने ।

दिनरात खाना र खाजा पाउने बजार भएका कारण मुग्लिङमा खासै चुलो निभ्दैन । यो नयाँ मुग्लिङको विशेषता हो । तर पुरानो कथा अचम्मैको छ । २०१८ देखि मुग्लिङमा बस्दै आएकी ८१ वर्षीया भुजकुमारी त्रिपाठीले एक पटक दसैंमा घरको अगेनाको आगो निभेपछि परेको आपत् अहिलेसम्म बिर्सेकी छैनन् । उनले भनिन्, ‘टीकाको दिन दिनभर वास्ता भएन, साँझ चुलोमा जाँदा आगो निभेछ । त्यो बेला न सलाई न लाइटर । एक कोस पर गाउँ थियो । आगो खोज्दै त्यहाँ जाऊँ भूतप्रेत लाग्ने डर थियो ।’

Mugling, Garhi, Tar and Bise

मुग्लिङ बजारमै घर भएका बलराम त्रिपाठीले भूतप्रेतका यस्ता डर लाग्दा कथा अनेकौं सुनाउँछन् । ‘यहाँ घर हैन गोठ हुन्थे । गोठमा पनि हिउँदमा मान्छे बस्थे । हामी केटाकेटी हुँदा तिमीहरू यहाँ आएर बस्न हुँदैन भनिन्थ्यो । यो धान खेतको बीचमा । चार–पाँच वटा गोठ थिए,’ ७६ वर्षका बलरामले सुनाए । यी तीन जना त्रिपाठी फरक तीन परिवारका हुन् । तर उनीहरूका पुर्खा एकै हुन् जसको नाम मुग्लिङको इतिहाससँग जोडिन्छ । यो क्षेत्रमा सुरुमा आएका सदाशिव त्रिपाठीका छैटौं पुस्ता हुन् बलराम ।

बलरामका पनि नाति जन्मिसके । बलारामले देखे–जानेका कुरा वर्णन गर्दै गए । लमजुङ चिती मूल थलो भएका सदाशिवले तत्कालीन सरकारबाट कुश बिर्ता पाएका थिए । ‘कुश पानी समाएर त्यो बेलाको सरकारले हाम्रा पुर्खालाई हुग्दी खोलादेखि पश्चिम रिग्दी खोलासम्म भैंसी पाल्ने खर्क बनाउन जग्गा बिर्ता दिएका रहेछन्,’ बलरामले भने । हुग्दी खोलायताका सबै टार र पाखाहरूमा आफ्नै पुर्खाले बस्ती बसाएको उनको दाबी छ ।

Mugling, Garhi, Tar and Bise

‘गहत पकाउने दाना खाजाका रूपमा खाने र त्यसको झोल छ्याप्दै पहरो काट्ने गरेका रहेछन् हाम्रा पुर्खाले । गहतको रसले ढुंगा कमजोर हुने गर्दा फोड्न सजिलो भयो । यसरी घाँसको भारी बोकेर मान्छे वारपार गर्न मिल्ने सय मिटर लामो सुरुङ तयार भयो । जहाँबाट आएको खोलाको पानीले धान फल्न थाल्यो,’ बलरामले इतिहास सुनाए । मुग्लिङ फाँटमा पाँच सय मुरी धान फल्ने कथा आफूले सुनेको उनले बताए । तामिनबाट खेती लगाउन र स्याहार्न जो झरे झरे, अरू कोही यहाँ आउँदैनथे ।

आडमा त्रिशूली र मर्स्याङ्दी नदी अनि वरपर ठूला–ठूला पहाड । गोरखातिर पनि पहाड, तनहुँतिर पनि पहाड । जाडोयाममा चार नबज्दै मुग्लिङमा घामलाई पहाडले छेक्छ । चारैतिर अग्ला पहाडले छेकेको, आडमा उर्लेका दुई ठूला नदी, यहाँ कोही आउजाउ गर्दैनथे ।

‘यहाँ आउनु भनेको कहाँ न कहाँ अनकन्टार ठाउँ जाने हो झैं थियो । मुग्लान भनेको यस्तै ठाउँ हो भन्ने चर्चा गर्न थाले । त्यसैले यता झर्नु भनेको मुग्लान जानु हो भन्न थाले । मुग्लान भन्दाभन्दै यो ठाउँ मुग्लिङ बन्यो,’ बलरामले भने । मुग्लिन, मुग्लिङ या मुग्लिङ्ग– यो ठाउँलाई जनाउन यस्ता शब्द प्रयोग हुँदै आएका छन् । तर यसको वास्तविक अर्थ के हो ?

मुग्लिङबाट डेढ घण्टा पैदल हिँडेर पुगिने तामिनका त्रिपाठीले आवाद गरेको यो ठाउँलाई चिनाउन यहाँदेखि निकै परको हिमाली गाउँ मुस्ताङका थकालीहरूको सीपको भूमिका छ । मुग्लिङमा भात व्यवसाय सुरु गरेको मुस्ताङ लेतेपारिको गाउँ टिटीबाट आएका थकालीहरूले हो । त्रिपाठीले यहाँ धान उब्जाउँदै गए । उनीहरूले आफन्त पर्ने सिलवाल, पन्तहरूलाई ल्याए । तर ठाउँ खोज्दै आएका थकालीहरू हुन् । बेलप्रसाद गौचन, सिद्धिप्रसाद शेरचन र मानबहादुर शेरचन पहिलो पटक यहाँ आएका थकाली हुन् ।

मानबहादुर ८४ वर्षका भए । उनी अहिले पनि मुग्लिङमा नै बस्छन् । पहिला बेलप्रसाद र सिद्धिप्रसाद आएको अनि आफू २०२७ मा मुग्लिङ आएको उनले बताए । ‘बेलप्रसाद र सिद्धिप्रसाद नारायणगढ पुगेका रहेछन् । तर मुग्लिङमा होटल चल्छ भनेर नारायणगढका साहुहरूले भनेका रहेछन् । त्यो बेला नारायणगढ र मुग्लिङ जोडिएको थिएन । उनीहरू हेटौंडा गएछन् । बाइरोड हुँदै नौबिसे पुगेछन् । अनि नौबिसेबाट यहाँ आएका रहेछन्,’ मानबहादुरले सुनाए ।

Mugling, Garhi, Tar and Bise

२०२५ मा नौबिसेबाट पृथ्वी राजमार्ग खन्न सुरु भएसँगै मुग्लिङमा चहलपहल बढेको बलराम त्रिपाठीले बताए । पृथ्वी राजमार्ग बन्न सुरु भएसँगै मुग्लिङमा नेपाल सरकार र सडक बनाउन सहयोग गरेको चीन सरकारको क्याम्प खडा भयो । क्याम्पका कर्मचारी, सडक बनाउने मजदुर र ड्राइभरहरूलाई भात खान होटल चाहियो, सामान किन्न पसल हुनुपर्‍यो । त्यही बेला मुस्ताङबाट थकालीहरू आएको त्रिपाठीको भनाइ छ ।

२०२९ मा मुग्लिङमा त्रिशूली नदीमाथि बनेको पुल उद्घाटन भयो । यो पुल बनेसँगै पोखरा–काठमाडौं गाडी चल्ने क्रम बढ्यो । २०३८ मा नारायणगढ मुग्लिङ सडक बनेपछि यहाँ गाडीको चाप बढ्न सुरु भयो । ‘पोखरा–काठमाडौं या नारायणगढ पूर्व–पश्चिम भात खाने, खाजा खाने होटल छँदै थिएनन् । खाना, खाजाका लागि रोकिने भनेको यही मुग्लिङ भयो,’ मुग्लिङमा सञ्चालनमा रहेको पुरानो होटलमध्येको आमा होटलको सञ्चालक विन्दु गौचनले भनिन् । नारायणगढको बाटो नखुल्दै उनको होटल खुलेको थियो ।

४० को दशकपछि अन्य समुदायका व्यक्ति पनि होटल व्यवसाय गर्न मुग्लिङ आए । अन्यत्र पनि खाना, खाजा खाने होटल थपिए । मुग्लिङ त बजार भयो नै, यस्तो बजार अन्यत्र पनि विस्तार भए । ‘मासु–भात १० रुपैयाँ प्लेट हुँदा खाएकाहरू अहिले पनि हाम्रो होटल खोज्दै आउँछन् । नयाँ–नयाँ र बसका यात्रु त खासै आउँदैनन् । तर स्वाद लिएकाहरूले बिर्सेका छैनन्,’ विन्दुले भनिन् ।

Mugling, Garhi, Tar and Bise

समाज र संस्कृतिबारे अध्ययन गर्दै आएका डीआर पोखरेल यसको अर्थ खस भाषाबाट नभएर त्यहाँ वरपर बस्ने कुनै पुरानो जाति, जनजाति छ भने उनीहरूको भाषाबाट खोज्नुपर्ने सुझाव राख्छन् । हाल अवकाश प्राप्त इतिहास विषयका प्राध्यापक कर्णबहादुर बानियाँ अन्तिममा ‘ङ’ अक्षर आउने शब्दहरू भोट बर्मेली भाषासँग सम्बन्धित हुने बताउँछन् ।

मुग्लिङ वरपर भोट बर्मेलीअन्तर्गतका भाषा बोल्ने गुरुङ, मगर र चेपाङ समुदायको पनि बसोबास छ । त्यसैले उनीहरूको भाषामा यसको अर्थ के हुँदो रहेछ, त्यो हेर्नुपर्ने सुझाव पोखरेल र बानियाँको छ । तर यसबारे कसैले केही सोधीखोजी गरेको छैन । सबैले उही मुग्लिन, मुग्लिङ या मुग्लिङ्ग भन्दै आएका छन् । मुग्लिङपछि पनि पृथ्वी राजमार्ग आडमा चुम्लिङ, फिस्लिङजस्ता गाउँ छन् ।

चितवन, मकवानपुर, सिन्धुलीमा नामका पछाडि ‘गढी’ जोडिएका, धादिङ, सिन्धुपाल्चोकतिर ‘बिसे’ र टार जोडिएका ठाउँ धेरै छन् । पहिला–पहिला राजाहरूले जहाँ सेना र अन्य सुरक्षाकर्मी लगेर राखे, त्यसलाई गढ भनिन्थ्यो । त्यसैगरी किल्ला बनाए गढी भनिने र त्यो ठाउँलाई गढीका रूपमा चिन्न थालेको बानियाँले बताए । जस्तै– मकवानपुरगढी, उपरदाङगढी, सिन्धुलीगढी किल्लाकै कारणले प्रख्यात भएका ठाउँ हुन् ।

चितवनको पुरानो सदरमुका नै उपरदाङगढी हो । भरतपुर सदरमकुमाम भएको २०१८ पछि नै हो । उपरदाङगढीको नाम फरक उच्चारण हुँदै यस्तो भएको बानियाँको भनाइ छ । उपरदाङको यहाँ केही अर्थ खुल्दैन । तर लिच्छविकालीन समयमा ‘द्रङ्ग’ भन्ने संरचना हुने गरेको भेटिन्छ । यो भनेको व्यापार केन्द्र भएको तर नगरभन्दा सानो गाउँ वा बस्ती भन्ने बुझिने बानियाँले जनाए । योगी नरहरिनाथको इतिहास प्रकाशमा सन्धिपत्रसंग्रह भाग–१ किताबमा ‘उपद्राङ्ग’ नाम उल्लेख भएको भेटिन्छ ।

Mugling, Garhi, Tar and Bise

सानोखाले व्यापारिक क्षेत्रमा रहेको गढी ‘उपद्राङ्ग’ भन्दाभन्दै सजिलोका लागि उपरदाङगढी भन्न लागिएको बानियाँको अड्कल छ । यस्तो अवस्था अन्यत्रका ठाउँको नाममा पनि भएको हुन सक्छ । नदी या खोलाको आडमा रहेको सानो तर समथर क्षेत्रलाई टार भन्ने गरिन्छ । धादिङमा सल्यानटार, विशालटार र पृथ्वी राजमार्गको आडमा चितवनमा पनि कुरिनटार, चुम्लिङटारजस्ता ठाउँ छन् । त्यसैगरी बाह्रबिसे, नौबिसेजस्ता ठाउँहरू पनि यस क्षेत्रका प्रसिद्ध बस्ती हुन् ।

जनसंख्या या अन्न उत्पादनको परिणामलाई लिएर बिसे शब्द प्रयोग हुने गरेको बानियाँ बताउँछन् । ‘नेपालीमा २० लाई आधार मान्ने पुरानो चलन हो । जस्तै– एक २०, दुई २०, तीन २० भनेर २०, ४०, ६० लाई बुझाउने गरिन्छ । ‘उमेर सोध्दा पनि कति बीस भन्ने चलन त छ नि । त्यसैगरी ठाउँका नामसँग पनि बीस अर्थात् बिसे जोडिएका छन् । त्यो ठाउँमा यति मान्छे बस्छन् या यति मुरी अन्न उत्पादन हुन्छ भन्ने आधारमा ठाउँको नामसँग बिसे लगाउन थालियो होला,’ बानियाँले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully