कोटको अर्थ हो– ‘डाँडा’ । पश्चिम नेपालको बाइसे राज्यकालमा यी डाँडाहरू प्रशासनिक केन्द्र र लडाइँका किल्ला थिए । जाजरकोट, कालीकोट, मुसीकोट, सिमकोट, गोतामकोट, आठबिसकोट, जहारीकोटलगायत कर्णालीका झन्डै दुई दर्जन कोटहरूले ऐतिहासिक महत्त्व बोकेका छन् ।
What you should know
सुर्खेत — १५ औं शताब्दीमा तत्कालीन जुम्लाका राजा मेदिनी बर्माले आफ्ना माइला भाइ पीताम्बरलाई रुकुम राज्य (जुम्ली खलंगा) को जिम्मा दिए । चौखाबाङी राजाको दरबारबाट एक दिन बँदेल हरायो । राजाकी ‘मुसी’ नामकी सुसारे बँदेल खोज्ने क्रममा एउटा डाँडासम्म पुग्छिन् ।
त्यहाँबाट चारैतिर देखिने भएकाले त्यो डाँडा चौखाबाङभन्दा बस्नयोग्य छ भन्दै राजालाई बिन्ती चढाउँछिन् । उनकै आग्रहमा राजाले दरबार बनाई त्यहीँबाट राज्य सञ्चालन गर्न थाल्छन् । त्यो ठाउँलाई दरबारकी सुसारे ‘मुसी’ कै नामबाट मुसीकोट बनाइयो ।
त्यही नामबाट रुकुम पश्चिमको सदरमुकामको नामकरण गरिएको मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसी बताउँछन् । उनका अनुसार तत्कालीन राजाले राज्य गरेको ठाउँलाई पर्यटकीय मुसीकोट–४ लाई मन्दिर, पार्कलगायत संरचना निर्माण गरी पर्यटकीय स्थल बनाइएको छ । जहाँबाट जिल्लाका अधिकांश गाउँहरू देख्न सकिने उनको भनाइ छ ।
स्थानीय खाम भाषामा मुसीकोटको अर्थ म्होसिव (लुकेको थुम्को) हो । मध्यकालमा मुसीकोट आसपास बाइसे राज्यहरू रुकुमकोट, बाँफीकोट, गोतामकोट र जहारीकोट राज्यहरू थिए । २०३० मा रुकुमको सदरमुकाम रुकुमकोटबाट मुसीकोट सारिएको थियो । राष्ट्रिय जनगणना–२०७८ अनुसार ३४ हजार २ सय ७० जनसंख्या रहेको मुसीकोटलाई १४ वडामा विभाजन गरिएको छ । मुसीकोटमा सबै जातजातिको बसोबास छ ।
पश्चिम रुकुममै पर्ने अर्को राज्य हो– गोतामकोट । बाइसे राज्यअन्तर्गत पर्ने गोताम राज्यका संस्थापक राजा रुकुमे राजा दारे जैतमका काइँला राजकुमार सेतु बम हुन् । विसं १६०० मा अंशस्वरूप उनले यो राज्य पाएका थिए । यो अहिले आठबिसकोट नगरपालिका–५ र ६ मा पर्छ ।
‘यो राज्यको सिमाना जुम्ला राज्य, आठबिस राज्य र बाँफी राज्यसँग जोडिएको थियो,’ वडा नं. ६ का अध्यक्ष धनेश्वर शर्माले भने, ‘विसं १८४३ मा राजा मोतीमर्दन शाहीका शासनकालमा यो राज्य नेपाल अधिराज्यमा एकीकरण भयो ।’ राष्ट्रिय जनगणना–२०७८ अनुसार झन्डै १ हजार ३ सय घरधुरी रहेको गोतामकोटमा ७ हजार ४० जनसंख्या छ । गोतामकोटलाई ‘गौतम’ हरूको उद्गमस्थलसमेत मानिने वडाध्यक्ष शर्माले बताए ।
इतिहासकारहरूका अनुसार कुनै बेला कर्णाली भेगलाई केन्द्रमा राखेर खसहरूले शक्तिशाली राज्यको स्थापना गरेका थिए । पछि यो टुक्रेर २२ राज्यमा विभक्त भयो । त्यसमध्येको एक राज्य जाजरकोटलाई केन्द्रमा राखेर साके संवत् १३०० तिर राजा जगाती सिंहले ‘विशाल राज्य’ स्थापना गरे । स्थानीय अगुवा वासुदेव शर्माका अनुसार त्यसबेला जाजरकोट राज्य दैलेख, जुम्ला, कालीकोट हुँदै गंगा नदीसम्म फैलिएको थियो ।
‘यही शक्तिका कारण पृथ्वीनारायण शाहले आफ्नो एकीकरणमा जाजरकोटमा हमला नगर्ने सहमति गरेका थिए । पृथ्वीनारायण शाहसँग भएको सम्झौतामा जाजरकोटले प्राप्त गरेको खड्ग अहिले पनि दसैंको फूलपातीको दिन पूजा गर्ने चलन छ,’ उनले भने, ‘बहादुर शाहका पालामा पृथ्वीनारायण शाहसँगको सम्झौताअनुसार नै जाजरकोटसँग सहयोग लिएर नेपाल एकीकरणमा पश्चिमका केही भूमि नेपालमा गाभिएको थियो, गोर्खाली राजाहरूको शक्ति बढ्दै गएपछि मुस्ताङी, सल्यानी, बझाङी र जाजरकोटी राजाहरूले आफ्ना एक/एक ‘श्री’ प्रदान गरेका थिए । यिनै चार राजाका अधिपति भएका कारण शाहवंशीय राजालाई श्री ५ को उपाधि प्राप्त भएको इतिहास छ ।’
त्यसबेला चन्द्रशमशेरकी जाजरकोटे कान्छी महारानी बालकुमारीले अंग्रेजलाई अनुरोध गरेर बनाइदिएको खानेपानी आयोजना र भेरी नदीको पुल अझै पनि सञ्चालनमा छ ।
विसं २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ मत ल्याएपछि संसद्ले राजा रजौटा उन्मूलन गर्ने विधेयक ल्यायो । त्यही बेला जाजरकोटी राजा प्रकाशविक्रम शाहसहित देशका अन्य तीन राजालाई भत्ता दिएर ती भूमि नेपालमा आधिकारिक रूपमा मिसाइएको अर्का स्थानीय अगुवा खम्बजंग शाह बताउँछन् ।
उनका अनुसार संसद्ले राजाको अधिकार खोसे पनि पञ्चायतकालको मध्यसम्म पनि प्रकाशविक्रम शाहले खलंगा दरबारमा बसेर स्थानीय राजाकै रूपमा शासन गर्थे । ‘तर आन्तरिक कारणले बिस्तारै ठकुरी परिवारमा बेमेल आयो,’ उनले भने, ‘त्यसपछि प्रकाशविक्रमले सरकारलाई एक लाख रुपैयाँमा दरबार बेचेर काठमाडौंमा बस्न थाले, त्यसयता जाजरकोट पूर्ण रूपमा राज्यविहीन भयो ।’
‘झारकोट’ शब्दको अपभ्रंश भई जाजरकोट नाम दिइएको जनश्रुति रहेको अर्का अगुवा जनक केसी बताउँछन् । २०८० मा जाजरकोट केन्द्र भएर गएको भूकम्पले त्यस क्षेत्रका धेरै दरबारहरूमा क्षति पुग्यो । समयमा पुनर्निर्माण नहुँदा क्षतिग्रस्त दरबारहरू खण्डहर बनेका छन् । पश्चिम नेपालका बाइसे राज्यअन्तर्गतको एउटा शक्तिशाली राज्य सञ्चालन भएका दरबारहरू त्रिपालको भरमा रहेको उनको गुनासो छ ।
‘पहिले यो ठाउँमा चारैतिर बाक्लो झारजंगल भएको र बीचमा कोटजस्तो डाँडा भएकाले यसलाई झारकोट भन्दाभन्दै जाजरकोट भएको हो,’ उनले भने, ‘यहाँ कुनै बेला शक्तिशाली राज्य थियो, तर २०८० को भूकम्पपछि आधा दर्जन दरबारलगायतका संरचना खण्डहर बनेका छन्, यिनको पुनर्निर्माण गरी पुरातात्त्विक संरचनाको संरक्षण गर्न जरुरी छ ।’
१५ औं शताब्दीतिर (बाइसे–चौबीसे राज्यकाल) मा तत्कालीन भुरे–टाकुरे राजाहरूले विभिन्न आक्रमणबाट बच्न आफ्ना दरबारहरू अग्ला टाकुरा (कोट र गढी) मा बनाउन थालेका थिए । कर्णालीको इतिहासबारे विभिन्न अनुसन्धान गरेका रमानन्द आचार्यका अनुसार कोटको अर्थ हो– ‘डाँडा’ ।
पश्चिम नेपालको बाइसे राज्यकालमा यी डाँडाहरू प्रशासनिक केन्द्र र लडाइँका किल्ला थिए । कर्णालीका झन्डै दुई दर्जन कोटहरूले ऐतिहासिक महत्त्व बोकेको उनले बताए । कर्णालीकै अर्को कोट हो– कालीकोट । २०३२ सालमा जुम्ला जिल्लाको तिब्रीकोट गाविस विभाजित भई कालीकोट बन्यो । कालीकोटलाई नेपालको कान्छो जिल्लाका रूपमा चिनिन्छ ।
सुरुमा साविक मान्म गाविस–३ मान्म गाउँमा जिल्ला सदरमुकाम कायम गरिएको थियो भने २०४० सालदेखि सोही गाविसको खाँडाचक्र डाँडामा सदरमुकाम स्थापना गरिएको स्थानीय अगुवा चित्रसिंह गाउँलेले बताए । उनका अनुसार शुभकालिका गाउँपालिकाको मुग्राहास्थित कालिका भगवतीको नामबाट कालीकोट नामकरण गरिएको उनको भनाइ छ ।
‘यो ठाउँ भुरेटाकुरे राजाहरूको कोट दरबार रहने किसिमको उच्च स्थानमा रहेको हुनाले सोही आधारमा कालीकोट रहन गएको हो,’ उनले भने, ‘यसले जुम्लाबाट २०३२ देखि छुट्टै जिल्लाको अस्तित्व पाएको थियो ।’ ३३ गाविस रहेको कालीकोटका साप्पाटा, जुकोट र बाई गाविस २०३८ मा बाजुरा जिल्लामा गाभिएको थियो ।
करिब ३ हजार मिटर उचाइमा रहेको ‘सिमकोट’ हुम्लाको सदरमुकाम पनि हो । राष्ट्रिय जनगणना–२०७८ अनुसार ६ हजार ६ सय ३२ घरधुरी रहेको सिमकोट गाउँपालिकालाई ८ वडामा विभाजित गरिएको छ भने झन्डै साढे १५ हजार जनसंख्या छ । हाल सिमकोट मानसरोवार–कैलाश जाने प्रवेशद्वारका रूपमा चिनिन्छ । ‘सिम र कोट (डाँडा) मिलेर सिमकोट बनेको हो,’ स्थानीय अगुवा विजय लामा भन्छन्, ‘यसले मानसरोवर–कैलाश जाने प्रवेशद्वारको परिचय बनाएको छ, जहाँबाट बर्सेनि झन्डै १० हजार पर्यटक कैलाश दर्शनका लागि जान्छन् ।’
